६ बैशाख २०८१, बिहीबार
जनपरिचालनको जिम्मा प्रचण्डलाई दिने माओवादीको निर्णय


काठमाडौँ / नेकपा ९माओवादी केन्द्र०ले पार्टीभित्रको जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले हाल पार्टीभित्र कुनैपनि कमिटी नरहेकाले जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण पार्टीको केन्द्रीय समिति बैठक केही दिनपछि मात्रै बोलाउने र तत्कालका लागि जनपरिचालनका कामका लागि निर्देशन दिने जिम्मा प्रचण्डलाई दिने निर्णय भएको माओवादी नेता कृष्णबहादुर महराले जानकारी दिए ।

त्यस्तै, बैठकले एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न गठबन्धनले बनाएको कार्यदलको सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको उनले जानकारी दिए ।

बैठकले सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्ने विषयमा पनि छलफल र परामर्श भएको नेता महराले जानकारी दिए । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानुनविदसँग सल्लाह लिएर मात्रै चुनावका बारेमा आवश्यक निर्णयमा पुगिने उनले बताए ।

सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका विषयमा सहमति हुन सकेको छैन । यसअघि शुक्रबार बसेको सत्ता गठबन्धन अन्तर्गतको संयन्त्रले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

Nabintech