८ बैशाख २०८१, शनिबार
गुणस्तरीय टेलिफोन सेवा विस्तार नमुनाको पहल


राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवाका लागि प्रदेश सांसद कृष्णा केसी (नमुना)ले पहल थालेकी छन् । दुबै गाउँपालिकाका सबै वडा तथा राजमार्गहरुमा समेत गुणस्तरीय टेलिफोन सेवाका लागि उनले पहल थालेका हुन् ।

सोही बिषयमा नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेलसँग भेट गरेर सांसद नमुनाले छलफल समेत गरिन् । महेन्द्र र हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीमा टेलिफोनको पहुँच नपुगेको स्थानमा पहुँच पुर्याउने विषयमा उनले छलफल गरेकी थिइन् ।

‘प्रधानमन्त्री ज्यूको सपथ ग्रहण कार्यक्रममा सहभागि जनाउने उद्देश्यले शितल निवास जाने भनेर हिडेकी थिए,’ उनले भनिन्, ‘बीचैबाट त्यहाँ जान छोडेर मेरा निर्वाचन क्षेत्रका जनताका सुनासा लिएर छलफल गर्न टेलिकमका प्रवन्ध निर्देशक पौडेललाई भेट्न गए ।’

प्रवन्ध निर्देशक पौडेलसँग कोहलपुरको चपरगौडीदेखि दाङको सिमाना शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका टेलिफोनको पहुँच पुग्न नसकेका बस्तीहरुमा टावरहरु राख्ने सहमति भएको सांसद नमुनाले जानकारी दिइन् ।

‘सबै क्षेत्रमा टेलिफोनको पहुँच पुर्याउनका लागि यसै साताबाट सर्बे समेत सुरु गर्ने प्रवन्ध निर्देशक ज्यूसँग सहमती भएको छ,’ काठमाडौंमा रहेकी उनले टेलिफोनमा भनिन्, ‘अहिले भएका टावरहरुमा समेत क्षमता विस्तारको कुरा भएको छ ।’

निर्वाचनमा मतदाताको घरदैलोमा पुग्दा मतदाताले फोन टावर नहुने, टावर भएपनि कुरा हुन नसक्ने गुनासो आएपछी आफुले टावर थप गर्नको लागि पहल थालेको सांसद नमुनाले बताइन् । करिब चार वर्ष अगाडि दाङको शिवखोलादेखि कोहलपुरको चप्परगौडीसम्म सांसद नमुनाकै पहलमा भएको सर्बेले सात वटा नयाँ टावर थप गर्ने र ६ वटा टावरलाई स्तरउन्नती गर्नुपर्ने देखिएको थियो ।

केही स्थानमा टावर बनेपनि अधिकांश स्थानमा टावर बन्न नसकेको सांसद नमुनाले बताइन् । ‘टावर निर्माणका लागि सर्बे भएर टेण्डर आह्वान भएपनि बाँके निकुञ्ज र वनका कारण काम अगाडी बढ्न सकेको थिएन,’ उनले भनिन्, ‘अब जनतालाई सेवा दिने कामका लागि हुने विकास निर्माणमा निकुञ्ज र वनले अबरोध गर्नुहुँदैन ।’

Nabintech