१३ बैशाख २०८१, बिहीबार
कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन जस्तोसुकै त्याग गर्ने नेपाल–गौतमको निष्कर्ष


नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय एकता अभियानले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि जानका निम्ति जस्तोसुकै त्याग गर्ने निष्कर्ष निकालेका छन् ।

तीनकुनेस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता अभियानका संयोजक वामदेव गौतमलगायतका नेताको छलफलले त्यस्तो निष्कर्ष निकालेको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भने, हामीले गम्भीर छलफल गर्यौँ । यो वा त्यो पक्षबाट अनेक विषयवस्तुहरू प्रस्तुत भए । र, एउटा निष्कर्षमा पुग्यौँ कि अब नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि जानको निम्ति हामीले जस्तोसुकै त्याग गर्नुपर्छ भने पनि त्याग गर्ने भावनाका साथ गरमजोसीका साथ हात मिलाउँदै बिदा भएका छौँ ।’

उनले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने गरी नेकपा माओवादी केन्द्र केपी ओलीसितको गठबन्धनमा सामेल हुँदा त्यसमा एकीकृत समाजवादी छुट्न नहुने बताए । एमाले र माओवादीको गठबन्धनमा एकीकृत समाजवादी सामेल हुन नसके ऐतिहासिक भूल हुने उनको भनाइ छ ।

‘अहिले सानै देखिए पनि एकीकृत समाजवादी प्रचण्डलाई यो भूमिकासम्म पुर्याउने प्रमुख पार्टी हो,’ उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री बन्ने गरी केपी ओलीसँगको गठबन्धन हुँदा एकीकृत समाजवादी किन छुट्यो ? एकीकृत समाजवादी सामेल हुनैपर्छ । सामेल हुन नसके ऐतिहासिक भुल हुनेछ ।’

Nabintech