१६ चैत्र २०८०, शुक्रबार
यो वर्ष मन्त्रीहरूले बढेको तलब नलिने


काठमाडौँ / मन्त्रिपरिषद्का सदस्यहरूले चालु आर्थिक वर्षमा बढेको १५ प्रतिशत तलब नलिने निर्णय गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले कम्तीमा चालु आर्थिक वर्षभरि वृद्धि भएर आएको तलबभत्ता मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

‘प्रतिकात्मक रुपमा यसै वर्षदेखि राष्ट्रसेवकहरूको तलबमा भएको वृद्धि कम्तीमा यस आर्थिक वर्षसम्मका मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरिएको छ‚’ बैठकपछि पत्रकारहरूलाई मन्त्रिपरिषद्का निर्णय सुनाउँदै मन्त्री पौडेलले भने ।

त्यस्तै सरकारले नागरिकलाई प्रदान गरिँदै आएका आधारभूत सेवा प्रवाहलाई सुगम‚ सरल‚ कम खर्चिलो र झन्झटमुक्त बनाउने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने निर्णय गरेको छ । बैठकले आधारभूत सेवा‚ विशेषतः राष्ट्रिय परिचयपत्र‚ विद्युतीय राहदानी‚ सवारी चालक अनुमतिपत्रलगायत सेवा प्रवाहलाई सुगम‚ सरल‚ कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरेको हो ।

यसैगरी बैठकले विकास परियोजनाको सार्वजनिक खरिद‚ निर्माण तथा सञ्चालनमा देखिएका ढिलाइ‚ जिम्मेवारी पन्छाउने प्रवृत्ति‚ निर्माणकार्यको गुणस्तरहीनता हटाउने कार्यमा परियोजना प्रमुखलाई नै जिम्मेवार बनाउने र त्यसकै आधारमा वृत्तिविकास सुनिश्चित हुने गरी सार्वजनिक कानुनमा तत्काल सुधार गर्ने‚ विकाससम्बन्धी कामलाई तीव्रता दिन सोसम्बन्धी छुट्टै कानुन संसद्‌को आउँदो अधिवेशनबाट पारित गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

Nabintech