१३ बैशाख २०८१, बिहीबार
लुम्बिनी प्रदेशले संघीयताको लडाइँ जितेको छः मुख्यमन्त्री के.सी.


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यान्वयनसँगै लुम्बिनीले संघीयताको लडाइँ जितेको बताउनुभएको छ ।

प्रदेशको नाम र राजधानी तोक्न नसक्ने, तोकेका ठाउँमा व्यवस्थापन गर्न नसक्ने जस्ता समस्या संघीयता कार्यान्वयनकै समस्या भएको औल्याउँदै उहाँले आफूहरुले केही जतिला र केही जोखिम मोलेरै भए पनि यो लडाइँ जितेको बताउनुभयो ।

प्रदेश राजधानी उद्घाटनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आफूले छोटो समय प्रदेश चलाउन पाए पनि ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को जग बसाल्न पाएको बताउनुभयो ।

‘मैले थोरै समयमा भए पनि गर्नुपर्ने काम बिषयगतरुपमा नतिजा आउने गरी सुरु गरेको छु’– उहाँले भन्नुभयो– ‘शिक्षातर्फ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र प्रदेश विश्वविद्यालय, स्वास्थ्यतिर बुटवल अस्पताललाई बिशेषज्ञ अस्पतालसहित सरकारी अस्पतालमा ओपिडी निःशुल्क र प्राणघातक रोगका विरामीलाई दुई लाख सहयोगलगायतका कार्यक्रम सुरु गरेको छु । पूर्वाधारतर्फ पनि हाम्रो थालनी भएको छ, राजधानी व्यवस्थापनमा समस्या आउने हो कि भन्ने लागेको थियो तर अन्तिम समयमा भए पनि केही जटिलता र केही जोखिम मोलेरै भए पनि कार्यान्वायन गर्न पाउँदा गर्व महसुस गरेको छु ।’

उहाँले ७२ वटा कानुन बनाएको उल्लेख गर्दै १२ कानुन प्रदेशसभामा विचाराधीन रहेको पनि जानकारी दिनुभयो ।

Nabintech