लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा मन्त्रालयहरु स्थानान्तरणका लागि तयारी तीब्र पारिएको छ । ०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोकिएको भए पनि दुई वर्ष वितिसक्दा समेत मन्त्रालयहरु स्थानान्तरण हुन सकेको थिएन ।
देउखुरीमा प्रदेशसभाको भवन, मन्त्रालयहरु बस्ने भवनको अभाव देखाउँदै प्रदेश सरकारकारले मन्त्रालयहरु स्थानान्तरण गर्न दुई वर्षसम्म ढिलाई गर्दै आएको थियो । प्रदेशसभाको नयाँ भवन बनेसँगै स्थायी राजधानी बुटवलबाट मन्त्रालहरु देउखुरीमा सार्न तयारी तीब्र पारिएको छ ।
हाल भवनहरु रंगरोगन गर्न थालिएको छ । मन्त्रालयहरु बसाल्नका लागि देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालयलाई गढवामा स्थानान्तरण गरिएको छ र शिक्षालयको भवनलाई रंगरोगन गर्न थालिएको छ ।
मंसिर महिनाभित्र प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्रीपरिषद्का कार्यालयहरु बुटवलबाट देउखुरीमा स्थानान्तरण गरि सक्ने र नवनिर्वाचित सांसदहरुलाई दाङको प्रदेश सभा भवनमा सपथ ग्रहण समेत गराउँने गरी प्रदेश सरकारले तयारी थालेको हो ।
प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताए । त्यसपछि क्रमश अन्य मन्त्रालयहरु पनि स्थान्तरण गरिने उनले जानकारी दिनु भयो ।