६ चैत्र २०८०, मंगलवार
बैंकको चर्को ब्याजदर विरुद्ध तीन वटा प्रदेशका ब्यवसायीको संयुक्त आन्दोलन

बैंक तथा वित्तिय संस्थाको आतंकविरुद्ध आन्दोलनको विकल्प नभएको निस्कर्ष



कोहलपुर/ बैंक तथा वित्तिय संस्थाले बढाएको चर्को ब्याजदरले उद्योग, ब्यवसाय धरासायी बनेको भन्दै पश्चिम नेपालका तीन वटा प्रदेशका उद्योगी, ब्यवसायी आन्दोलित भएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समितिले संयुक्त रुपमा आन्दोलन कार्यक्रम तय गरेका हुन् ।

कोहलपुरमा शनिबार पत्रकार सम्मेलनमार्फत महासंघको प्रदेश, जिल्ला र नगरका अध्यक्ष तथा पदाधिकारीले ब्याजदर बढाउने नाममा बैंक तथा वित्तिय संस्थाले सिर्जना गरेको आतंकविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको निस्कर्ष निकालेका छन् ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बैंक तथा वित्तिय संस्थाले बढाएको ब्याजदर विरुद्ध उच्च मनोबलका साथ आन्दोलनमा होमिनुपर्ने बताए । राष्ट्र बैंकले सुरुदेखी नै नियमन नगरेका कारण बैंक तथा वित्तिय संस्थामा मनोमानी चलेका उनको बुझाई छ । बैंकको आतंकले आफु स्वयं पीडित भएका उनले बताए ।

‘मेरो सम्पत्तीलाई पनि बैंकले लिलामी प्रक्रिया अगाडी बढाएको छ, कहाँ गएर कस्लाई भन्ने हाम्रो पीडा रु’ उनले भने ‘यो सबै ऋणीहरुको आन्दोलन हो, बैंकबाट ऋण लिएका सबै पीडित छन्, अब निर्णायक आन्दोलन गरौ ।’

महासंघका केन्द्रिय सदस्य चक्र अधिकारीले बैंक तथा वित्तिय संस्था विरुद्ध आन्दोलन गर्नका लागि केन्द्रको मुख नताकेर जिल्ला र प्रदेश स्तरबाट दवाव सिर्जना गर्नुपर्ने बताए । आन्दोलनको नेतृत्व ब्यवसायीले गरेपनि बैंकबाट ऋण ल्याएका आम ऋणीहरुको पनि भएको बताए ।

पहिलो चरणको आन्दोलनबाट कुनै सुनुवाई नभएकाले दोस्रो चरणको आन्दोलन अझ कडा रुपले गर्नुपर्ने उनको सुझाव छ । ‘अब बैंकहरुमा पुगेर ताला लगाउनुपर्छ, यसका लागि म नेतृत्व गर्न तयार छु, मलाई तपाईहरुले साथ मात्रै दिनुस्,’ अधिकारीले भने ‘महासंघ केन्द्रको मुख ताक्यो भने हुदैन, सातै प्रदेशमा आन्दोलन गरौँ ।’

महासंघका केन्द्रिय अध्यक्षलाई आफुले पटक(पटक भन्दै आएको र पछिल्लो समयमा केन्द्रिय अध्यक्षले फोन उठाउन छाडेको सुनाए । ‘यो आन्दोलनका लागि म जस्तो सुकै परिस्थितीको सामना गर्नेछु, म महासंघको केन्द्रिय सदस्य पदबाट पनि राजिनामा दिन तयार छु, बरु आन्दोलन भोलीदेखि सुरु गरौं,’ उनले भने । यसपटकको आन्दोलन सफल हुने केन्द्रिय सदस्य अधिकारीको विश्वास छ ।

महासंघका अर्का केन्द्रिय सदस्य जमशेर मियाले उद्योगी, ब्यवसायीले भोग्नु परेको चर्को ब्याज सम्बन्धी समस्याबारे केन्द्रिय नेतृत्वलाई पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको बताए । ‘हामीले महासंघमा कुरा उठाएका छौं, तर हाम्रो कुराको कुनै सुनुवाई भएको छैन,’ मियाले भने । उद्योगी, ब्यवसायीका समस्या भइरहेपनि राज्यले सम्बोधन नगरेको उनले दुखेसो पोखे ।

महासंघका पुर्वकेन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मका उद्योगी, ब्यवसायी एकजुट नहुँदा सम्म आन्दोलनले सार्थकता नपाउने बताए । उद्योगी, ब्यवसायीले थालेको आन्दोलनमा राजनीतिक दवाव पनि परेको भन्दै आन्दोलन गर्नुको विकल्प नभएकोमा जोड दिए ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, महासंघ सुदुरपश्चिम प्रदेशका पदाधिकारी, विभिन्न १८ वटा जिल्ला र नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी उपस्थित भएका थिए ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार यही मंसिर २७ गतेका दिन ७ वटै प्रदेशका अध्यक्ष र काठमाडौंमा उपलब्ध केन्द्रिय सदस्यहरुको बैठक बसेर निर्णय लिइने भएको छ । यस्तै पुस १ गतेका दिन मंसिर २७ गते तय भएका विरोध कार्यक्रम अगाडी बढाउन सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई आब्हान गर्ने, महासंघमा धर्ना दिने र अगाडी बढ्ने निर्णय गरिएको छ ।

Nabintech