६ बैशाख २०८१, बिहीबार
गगनको दाबी अप्राकृतिक : सह महामन्त्री राठौर


कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा छलफल नगरि प्रधानमन्त्रीको दाबी गर्नु अप्राकृतिक हुने बताएका छन्।

प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ बाट विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी र सत्तागठबन्धन दल वीच छलफल नै नगरि प्रधानमन्त्रीको दाबी गर्दै हिड्नु असान्दर्भिक हुने बताए।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उनले भने, ‘महामन्त्रीद्वय जस्तै पनि पनि यूवा हुँ। अझ उहाँहरुभन्दा म सिनियर पनि हुँ। निर्वाचनको मत परिणाम नआउँदै प्रधानमन्त्रीको दावी गर्दै हिड्नु सुहाउँदैन । यो सरासर गलत छ।’

उनले यूवालाई नै प्रधानमन्त्री बनाउने भए पनि पार्टीमा छलफल र बहस चलाउनु पर्ने धारणा राखे। पार्टीमा छलफल नगरि प्रधानमन्त्रीको दाबी गर्ने कार्य अनुशासन भित्र नपर्ने उनको भनाइ छ।

‘महामन्त्रीद्वय थापा र शर्मा जीलाई कांग्रेसले पार्टी बनाउने जिम्मेवारी सुम्पेको छ। पहिले उहाँहरुले पार्टीलाई राम्रो बनाएर देखाउनु पर्यो। अनिमात्र हामीले उहाँहरुलाई विश्वास गर्ने ठाउँ रहन्छ,’ उनले भने, ‘सिनियरलाई पाखा लगाएर जुनियरले दावी गर्न सुहाउँदैन। प्रधानमन्त्रीका लागि म पनि सक्षम छु, तर अहिले नै दाबी गर्ने पक्षमा म छैन। उहाँहरुले दाबी गरे पनि पछि हट्ने कुरा आउँदैन।’

सहमहामन्त्री राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको औँल्याए। उनले सत्ता प्राप्तिका लागि कांग्रेसले गठबन्धन नगरेको दाबी गरे।

‘सत्तामा जाने प्रमुख विषय अहिले होइन, अहिले संविधानको रक्षा गर्दै प्राप्त उपलब्धीलाई संस्थागत गर्ने बेला हो। संविधानको रक्षा र प्राप्त उपलब्धीको रक्षाका लागि गठबन्धन आवश्यक छ,’ राठौरले भने।

उनले सिक्टा सिँचाई आयोजना र भेरी डाइभर्सन आयोजना पूरा गर्न पहल गर्ने बताए। एमालेका कारण सिक्टा सिँचाई र भेरी डाइभर्सनको आयोजना पूरा हुन नसकेको उनको दाबी छ।

नवनिर्वाचित सांसद राठौरले आफू पद, पावर र पैँसाका लागि राजनीति नगरेको स्पष्ट पारे। ‘काठ्माडौँमा घर, घडेरी र गाडी किन्नका लागि राजनीति गरेका होइन। राष्ट्र र राष्ट्रियताका लागि राजनीतिमा होमिएको हुँ,’ उनले भने।

Nabintech