१३ बैशाख २०८१, बिहीबार
निकुञ्ज कार्यालयबाटै खाग र बाघका २५ दाह्रा गायब


बर्दिया राष्ट्रिय निुकञ्ज कार्यालयबाट गैंडाको खाग र बाघको दाह्रा गायब पारिएको छ । घटना असोज १३ मा भए पनि भित्रभित्रै गुपचुप राखिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जको वार्डेनमा सरुवा भएर बर्दिया पुगेका अधिकृत अशोक भण्डारीले जिन्सी शाखामा रहेका सामानको अभिलेख गर्ने क्रममा गैंडाको एउटा खाग र बाघका २५ वटा दाह्रा हराएको पाइएको हो । मृत अवस्थामा फेला परेका वन्यजन्तुको छाला तथा आखेटोपहारलाई सुरक्षित गरेर राख्ने गरिन्छ । उक्त निकुञ्ज कार्यालयमा गैंडाका ३ वटा खाग थिए । कर्मचारीकै संलग्नतामा वन्यजन्तुको आखेटोपहार गायब पारिएको स्रोतले जनाएको छ ।

घटनालगत्तै वार्डेन भण्डारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई जानकारी गराएका थिए । लगत्तै विभागले २४ घण्टाभित्र जवाफ पठाउन भन्दै असोज १४ मा निकुञ्ज कार्यालयलाई स्पष्टीकरण सोधेको थियो । विभागका महानिर्देशक महेश्वर ढकालले उक्त घटनाप्रति आफू गम्भीर रहेको बताउँदै दोषीलाई कानुनी कारबाहीमा ल्याउने बताएका छन् । उनले भने, ‘जुन दिन हामीले घटनाबारे जानकारी पायौं, त्यसै दिन निकुञ्ज कार्यालयलाई के भएको हो, २४ घण्टाभित्र स्पष्टीकरण दिन भन्यौं ।’

निकुञ्ज कार्यालयले पठाएको स्पष्टीकरण चित्त नबुझेपछि विभागले असोज १४ मै वन्यजन्तु अपराध नियन्त्रण शाखाका प्रमुख मनोज शाहको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको थियो । उक्त समितिमा विभागका कानुन अधिकृत, नेपाल प्रहरी र सीआईबीका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि सदस्य र विभागकै अर्का अधिकृत रूपक महर्जन सदस्यसचिव छन् ।

समितिले कात्तिक २२ मा महानिर्देशक ढकाललाई प्रतिवेदन बुझाउँदै थप छानबिन गर्नुपर्ने औंल्याएको छ । उक्त प्रतिवेदनमा कार्यालयमातहत रहेको आखेटोपहार गायब पारिएको घटनामा कर्मचारीकै संलग्नता रहेको औंल्याउँदै थप छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रारम्भिक प्रतिवेदनले कर्मचारी संलग्न रहेको देखाए पनि शंकाको दायरामा परेका सबैमाथि निगरानी राखिएको विभागले जनाएको छ । शाहको समितिले कमजोरी औंल्याएर सम्बन्धितलाई कारबाही दायरामा ल्याउन सिफारिससमेत गरेको छ । छानबिन समितिले दिएको सुझावका आधारमा संलग्न व्यक्तिलाई चाँडोभन्दा चाँडो कानुनी कारबाहीमा ल्याउन निर्देशन दिइएको ढकालले बताए । उनले घटनामा संलग्न सन्दिग्ध मानिसहरूको पहिचान भएको बताउँदै तिनीहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइने पनि जानकारी दिए ।

विभागका महानिर्देशक ढकालले भने, ‘एउटा कर्मचारीलाई सम्बन्धित विभागको जिम्मेवारी दिएपछि उसैको रेखदेख लिने जिम्मेवारी भएको छ, उनले यो विषय जिम्मेवारी लिने सम्बन्धित कर्मचारीले नै लिनुपर्ने हुन्छ ।’ उनले घटना अत्यन्त गम्भीर भएकाले कुनै पनि मूल्यमा सम्झौता नगरी छानबिन गरेर कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको बताए । विभागले सीआईबीसँग पनि समन्वय गरेर कुनै हालतमा घटना बाहिर ल्याउने बताए ।

विभागका सूचना अधिकारी एवं इकोलोजिस्ट गणेश पन्तले हरेक कार्यालयमा निरीक्षणपछि सम्पूर्ण सामानको अभिलेख हुने भएकाले यसको जिम्मेवारी सम्बन्धित कार्यालयले नै लिनुपर्ने बताए । उनले घटनाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालयको भएको बताए । अनुसन्धान अधिकृतले छानबिन प्रतिवेदन बनाएर मुद्दा नचलेसम्म अन्य विवरण भन्न नमिल्ने बताए । यसैबीच बर्दिया निकुञ्जले पनि छुट्टै छानबिन समिति बनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृतको संयोजकत्वमा छानबिन समिति गठन गरिएको वार्डेन भण्डारीले बताए ।

घटना हुँदा बर्दिया राष्ट्रिय निकुञ्जको बार्डेन विष्णुप्रसाद श्रेष्ठ थिए । घटना आफूतर्फ सोझिएपछि श्रेष्ठले सरुवा हुँदा कार्यालयलाई सबै प्रतिवेदन बुझाएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म सरुवा भएर जानुअघि सहायक वार्डेनको नेतृत्वको निरीक्षण टोलीले बुझाएको सम्पूर्ण प्रतिवेदन बुझाएरै म हिँडेको हुँ । म हुँदा सबै सामान ठिक ठाउँमा थिएँ ।’

यसरी सार्वजनिक भयो घटना

बर्दिया निकुञ्जमा वार्डेनको जिम्मेवारी सम्हालेलगत्तै भण्डारीले त्यहाँ कार्यरत दुई जना सुब्बामध्ये एक जनालाई स्टोरको जिम्मेवारी दिए । त्यसअघि सिनियर गेम स्काउटले स्टोर शाखा हेर्दै आएका थिए । स्टोरमा सुब्बाको दरबन्दी भए पनि अन्यले काम गरेपछि भण्डारीले उक्त निर्णय गरेको बताए । उनले भने, ‘प्रशासनमा दुई जना सुब्बा हुने भएपछि मैले दरबन्दीअनुसार एक जनालाई स्टोर शाखामा जान भनेको थिएँ, सोहीअनुसार एक जना जानुभयो ।’

स्टोरको जिम्मेवारी पाएका सुब्बाले सामानहरू बुझबुझारथ गर्ने क्रममा गैंडाको खाग एउटा र बाघको २५ वटा दाह्रा नभेटिएको खुलेको थियो । उक्त घटनापछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मातहतका २० वटा निकुञ्ज तथा संरक्षण क्षेत्र कार्यालयहरूलाई पत्राचार गर्दै आखेटोपहारको विवरण र सुरक्षा कडा पार्न भनेको छ । विभागले सबै कार्यालयलाई पत्र पठाएर बर्दियाको जस्तो घटना नदोहोर्‍याउन सचेत गराएको छ ।

Nabintech