१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिए


अन्नतः कोहलपुर नगर क्षेत्रका व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै बुधवार कोहलपुरमा उद्योगी, व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

मंगलबार संघको कार्यालयमा बसेको वैठकको निर्णय अनुसार बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले ढिलो चाडो सबै उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिती सिर्जना भएको हुँदा उद्योग वाणिज्य संघ कोहलपुरको अगुवाईमा व्यवसायीले विरोध प्रदर्शन गरेका
हुन् । कोहलपुर न्यूरोड चोकमा जम्मा भएका यस क्षेत्रका व्यवसायीहरुले ‘बैंक आतंक बन्द गर’, ब्याजदर स्थिर गर, ब्याजदर चको भो गरि खान गाह्रो भो लगाएतका नारा सहितको प्ले कार्ड बोकेर व्यवसायीहरु नगरका बिभिन्न भाग परिक्रमा गर्दै पुनः न्युरोड चोकमा पुगेर विरोध सभा गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम् कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चक्र अधिकारीले केन्द्रमा रहेका महासंघका केही केन्द्रिय पदाधिकारीहरु नै व्यवसायीहरुको खुन पसिना चुसेर वैंक वित्तीय संस्थाहरुलाई पृष्ठपोषण गर्न तल्लिन रहेको भन्दै महासंघको केन्द्रिय नेतृत्वको आलोचना गरे ।

बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले सबै उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिती सिर्जना भएको भन्दै आन्दोलनको विकल्प नरहेको बताउँदै अहिले कुनै
पनि राजनीतिक दल व्यवसायीहरुको पक्षमा नदेखिएकाले व्यवसायीहरु नो भोटको अभियान चाल्न पछि नपर्ने चेतावनी दिएका छन् ।

हरेक राजनीतिक परिवर्तन तथा राजनीतिक गतिविधी सञ्चालन गर्न व्यवसायीहरुलाई नोट र भोटमा मात्र प्रयोग गर्ने तर व्यवसायीहरु मारमा पर्दै गर्दा कुनै मतलव नगर्ने प्रजातन्त्र र गणतन्त्रबाट व्यवसायीहरु आजित भइरहेको उनको भनाई छ । व्यवसायीहको पक्षमा र हक हितका लागि अनसन बस्न तयार रहेको उनले बताएका
छन् । यस्तै उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्र प्रसाद शर्माले बैंक वित्तिय संस्थाहरुले मनपरी रुपमा ब्याजदर बृद्वि गर्ने परिस्थिती सरकारले सिर्जना गरेकाले सरकार यस विषयमा संवेदनशील बन्नुपर्नेमा जोड दिए । महासंघ लुम्बिनी प्रदेश सदस्य शर्माले सिमित १० देखि १२ जनाको चंगुलमा पुगेको देशको अर्थतन्त्र धरासायी भएको भन्दै कडा आलोचना गरेका छन् । ‘राष्ट्र बैंकले आर्थिक तरलताको विषयलाई प्रमुख मुद्वा बनाउँदा इतिहासमै धेरै मुनाफा अहिले बैंक वित्तीय संस्थाहरुले गरिरहेका छन्, यस विषयमा सम्बन्धित संयन्त्र मौन छ, अब कडा आन्दोलनको विकल्प नभएकाले हामी सडकमा उत्रन बाध्य भएका हौं ’ उनले भने ।नेपाल राष्ट्र बैंकको मौद्रिक नीति एवम् चालु चालु पूजी कर्जा निर्देशिका २०७९ व्यवसायीहरुलाई धरासयी बनाउँदै बैंक वित्तिय संस्थाहरुको हितमा मात्र भएकाले अविलम्ब परिमार्जन नभएसम्म चरणबद्व आन्दोलनको तयारी भइसकेको उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले विरोध सभालाई सम्बोधन गर्दै ब्यबसायीहरुलाई उठिवास लगाउने गरि गरिएको चर्को ब्याजदर अबिलम्ब फिर्ता नभएसम्म आन्दोलित भइरहने प्रतिबद्वता जनाएका छन् । आन्दोलनको कार्यक्रम अन्र्तगत भोली विहिवार नेपाल राष्ट्र बैंकमा धर्ना र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण सहितको पत्र बुझाउने कार्यक्रम रहेकाले विहिवारको विरोध कार्यक्रममा सहभागि हुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आग्रह अध्यक्ष पौडेलले गरेका छन् ।

Nabintech