६ बैशाख २०८१, बिहीबार
कोहलपुरमा नगर प्रहरीको एक्शन : सिभिल बैंकलाई १६ हजार जरिवाना


कोहलपुर् कोहलपुर नगर प्रहरीले नगरपालिका क्षेत्रमा अनधिकृतरुपमा राखिएका प्रचार सामाग्री हटाउने अभियानलाई आक्रामक बनाएको छ । नगरपालिकासँग स्वीकृत विना बजार क्षेत्रलाई नै कुरुप बनाउने गरि राखिएका त्यस्ता प्रचार सामाग्री विरुद्ध नगर प्रहरी हर्कतमा आएको हो । नगर प्रहरीले आफ्नो जिम्मेवारी सम्हालेपछि हालसम्म करिव पाँच सय फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड हटाइसकेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । विज्ञापन प्रयोजनका लागि अनधिकृतरुपमा राखिएका त्यस्ता प्रचार सामाग्री हटाएर सम्बन्धित निकायलाई कारवाहीको दायरामा समेत ल्याउन थालिएको छ ।

अनधिकृतरुपमा आफ्नो प्रचार सामाग्री राखेको पाइएपछि सिभिल बैंकलाई कारवाहीको दायरामा ल्याइएको पनि प्रहरी प्रमुख थापाले बताए । ’नगरपालिकासँग स्वीकृत नलिएरै सिभिल बैंकले विद्युतका पोलमा ३२ वटा होर्डिङ बोर्ड राखेको रहिछ थापालेभन्नुभयो–‘१६ हजार जरिवाना गरेर नगर प्रहरीको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड फिर्ता गरिदिएका छौं ।’ नगर प्रहरीको नियन्त्रणमा रहेका फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड जरिवाना तिराएर सम्वन्धित निकायलाई बुझाउने गरिएको थापाको भनाइ छ ।

नगरपालिकाको स्वीकृति विना प्रचार सामाग्री राखिए विज्ञापन नियमन ऐन २०७६ अनुसार कारवाही गरिने पनि थापाले चेतावनी दिए । कोहलपुर बजारदेखि पार्वतीपुर, रोहिणी खोला र मदनचोक क्षेत्रभित्रका अधिकांश प्रचार सामाग्री हटाइएको पनि थापाले बताए ।

त्यस्तै नगर प्रहरीले फुटपाथ पनि खाली गराउने अभियानलाईसँगै अगाडि बढाएको छ । कोहलपुर चौराहदेखि साझा चोकसम्मको फुटपाथ खाली गराईको छ । फुटपाथमा राखिएका अधिकांश पसल र ठेलाहरु हटाइएको छ ।

‘सार्वजनिक स्थान र फुटपाथमा राखिएका पसल तथा ठेलाहरु हटाउने अभियान जारी छ थापाले भन्नुभयो–‘अहिलेसम्म कोहलपुर चौराह, कोहलपुर नगर विकासको कार्यालय अगाडि, कृषि हाटबजार अगाडि फुटपाथ अतिक्रमण गरेर बसेका पसल र ठेला व्यवसायी हटाइसकिएको छ ।’ यस्तै कोहलपुर चौराहदेखि पाँच सय मिटर वरपरको क्षेत्रमा सवारी साधन रोक्न निषेध गरिएको छ ।

सवारी साधन जथाभावी रोक्ने, यात्रुहरु चढाउने र ओराल्ने गर्दा दुर्घटनाको जोखिम बढेपछि नगर प्रहरीले चौराह क्षेत्रको पाँच सय मिटर वरपर सवारी साधन रोक्न निषेध गरेको हो । त्यसको कार्यान्वयनका लागि नगर प्रहरीनै डिउटीमा खटिने गरेको पनि उनको भनाइ छ ।

कोहलपुर नगरपालिकालाई व्यवस्थित र सुन्दर सहरका रुपमा विकास गर्न अहोरात्र खटिएका छौं उहाँले भन्नुभयो–‘चौराह, न्यूरोडचोक, कृषि बजार चोक, साझा चोकमा तालिका बनाएरै नगर प्रहरी खटिएको छ ।’

Nabintech