१३ बैशाख २०८१, बिहीबार
नेपालगन्जमा मापदण्डपिवरीत मासु पसल


नेपालगन्जमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान र मापदण्डपिवरीत मासु बेचिरहेको फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र, नेपालगन्ज उपमहानगरपालिका एवं उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि तथा पत्रकारहरुसहितको टोलीले गरेको अनुगमनमा बजारमा अखाद्य वस्तु भेटिनुका साथै अवैद्यरुपले व्यापार समेत गरिरहेको फेला परेको हो । त्यस्ता वस्तु बेच्ने तथा कानुनविपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्याउन निर्देशन पनि दिइएको छ ।

अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ । मार्टहरुमै म्याद नाघेका र अनुमति नलिएका वस्तुहरु बेचिरहेको फेला परेको छ भने म्याद नाघेका वस्तुहरु राख्न ‘एक्पायर जोन’को व्यवस्था नगरिएको पाइएको छ । नेपालगन्जस्थित राही मार्टमा आठ सय ८० रुपैयाँ बराबरको उपभोग्य मिति समाप्त भएका चाउचाउ बरामद गरिएको छ । यसैगरी मासु पसलहरु मापदण्डअनुसार सन्चालन नगरिएको र मासु ढुवानीको मापदण्डविपरीत प्याकिङ गर्ने गरिएको फेला परेको छ ।

बजार अनुगमन टोलीले नेपालगन्ज वडा नम्बर २ धम्बोझी नजिकैको ब्राइट किराना पसल पसलबाट चार हजार ६ सय १२ रुपैयाँ बराबरका म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ भने उपभोक्ता संरक्षण ऐनअनुसार तत्काल ५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

यसैगरी राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फीड सप्लायर्स मा रक्सीको कार्टुनमा मासु प्याक गरेर हुम्ला पठाउन तयार पारिएको अवस्थामा फेला परेको छ । ८ दिनअघि किनिएको उक्त मासु नेपालगन्जमा नबिकेपछि पसल सन्चालिकाले हुम्ला पठाउन लागेको र पसल नवीकरण पनि नगरेको खुल्न आएपछि उक्त पसल प्रक्रिया पूरा नगरुन्जेलसम्म बन्द गराइएको छ । सिद्धबाबाकै छेउमा रहेको न्यू भेरी मिट एण्ड दाना सप्लायर्सले पनि नवीकरण नगरेको पाइएपछि उक्त पसललाई पनि प्रक्रिया पूरा नगरुन्जेलसम्मका लागि बन्द गराइएको छ ।

Nabintech