१६ चैत्र २०८०, शुक्रबार
चर्को ब्याजदर विरुद्ध नेपालगञ्जका उद्योगी ब्यावसायी आन्दोलनमा


नेपालगन्ज / नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर विरुद्ध नेपालगन्जका उद्योगी ब्यावसायीहरुले आन्दोलनको घोषणा गरेका छन् । कोरोनाका कारण ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै बिहीबार उनीहरुले पत्रकार सम्मेलन मार्फत चरणबद्ध रुपमा तय गरिएको आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसार पसार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने संघले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले यही असोज १ गतेदेखि लागु हुने गरि चर्को ब्याजदर बढाएको भन्दै चरणबद्ध आन्दोलनको शुरुवात गरिने संघका प्रवक्ता टंक धामीले जानकारी दिए ।

प्रवक्ता धामीका अनुसार चर्को ब्याजदर र २०–२५ प्रतिशत लगानी गर्ने नेपाल राष्ट्र बैंकको नीतिका विरुद्ध ७ असोज ९शुक्रबार० १० बजे राष्ट्र बैंक नेपालगन्ज अगाडी धर्ना दिने कार्यक्रम तय गरिएको छ । राष्ट्र बैंकमा धर्ना सँगै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको महासचिव चिरञ्जिवी ओलीले बताए ।

त्यसैगरी शनिबार बिहान ८ बजे जमुनाहा नाकामा स्वदेशी उत्पादनलाई महत्व दिनकालागि स्वदेशमै किनमेल गर्न उपभोक्तालाई सचेत बनाउने खालको पर्चा वितरण र अवैध सामान नियन्त्रणका लागि नेपालगन्ज भन्सार कार्यालय अगाडी दवावमुलक कार्यक्रम गर्ने तालिका रहेको महासचिव ओलिले जनाए ।

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले उद्योगी, व्यावसायीहरु मर्कामा परेको उनीहरुको गुनासो छ । कोभिड महामारी र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्योगी, व्यवसायी मर्माहत भएको ब्यवसायीले बताएका छन् ।उक्त पत्रकार सम्मेलनमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बढ्दो लागतका कारण साना तथा मझौला उद्यमहरु बन्द गर्नुपर्ने अवस्था आएको बताए ।उनले भने, ‘एकातिर चर्को ब्याजदरको मार खेपिरहेका छौं, अर्कोतर्फ खुल्ला सिमानाका कारण ब्यापार, ब्यवसाय धरासायी हुँदै गइरहेको छ ।’अवैध सामान ओसार पसार नियन्त्रण र बैैैंकको चर्को ब्याजदर विरुद्ध देशभरीका उद्योगी ब्यावसायीहरु एकै साथ भोलीदेखि आन्दोलनमा उत्रीने अध्यक्ष मन्सुरीले बताए । उनका अनुसार चाडबाडको समयमा समेत नेपालगन्ज बजार सुनसान रहेका कारण अहिले ८० प्रतिशतले ब्यापार घटेको छ ।

संघका प्रवक्ता टंक धामीले चर्को व्याजदरले झनै व्यवसायीलाई धरासयीमा पुगाएको बताए । सस्तो सामान किन्ने प्रलोभनमा उपभोक्ता ठगिरहेको बताउँदै उनले यस्तो बजारीकरणको प्रवृतिलाई रोकथामका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सारका कर्मचारीले कडाई गर्नुपर्ने उनले बताए ।

अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको वातावरण बनाउन सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको भन्दै संघले बैंकको चर्को ब्याजदर नियन्त्रण र खुल्ला सीमानाका कारण उत्पन्न समस्या समाधानका लागि सरोकारवाला निकायलाई गम्भीर ध्यानार्कषण गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले चरणबद्ध दवावमुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नेपालगञ्ज उद्योग वाणीज्य संघले अवैध सामान नियन्त्रण र स्वदेशमै किनमेलको वातावरण बनाउन सरोकारवाला निकायसँग माग गरेको छ । बैंकले लगानी र ब्याजदर बढाएर उद्योगी, ब्यवसायी मर्कामा परेको बेला नेपालगन्ज भन्सारले अवैध तस्करी रोक्न नसक्दा नेपालगन्जको ब्यापार झनै धरासायी भएको संघका महासचिव चिरञ्जिवि ओलीको भनाई थियो ।

Nabintech