१६ चैत्र २०८०, शुक्रबार
नरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया सम्पन्न

 भ्रष्टाचार नियन्त्रणमा सहकार्य आवश्यक अध्यक्ष शाह



बाँके / बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ । पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो ।

उहाँले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै अध्यक्ष शाहले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको जिकिर गर्नु भयो । अध्यक्ष शाहले नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा नियम विपरीतका काम गर्नेलाई कारवाही गर्न जरुरी रहेको बताउदै अध्यक्ष शाहले नरैनापुरलाई लक्षित गरी परेको ९ वटा उजुरीले आफूले सकारात्मक रुपमा लिएको बताउनु भयो ।

उहाँले उजुरी पर्दैमा डराई हाल्नु पर्ने अवस्था नरहेकोले कानुन बमोजिम काम गरी रहन निर्देशन समेत दिनु भएको थियो । गाँउपालिका उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भएको थियो । उहाँले पालिकाबाट आफूहरुले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले भ्रष्टाचारलाई कम गर्न र सुशासन प्रवद्र्धन गर्न सरोकारवालाले सक्रियता देखाउनु पर्नेमा जोड दिनु भएको थियो ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले टेण्डर मार्फत कर्मचारी राख्ने परिपाटीको अन्त्य गर्न पालिकालाई सुझाव दिदै उहाँले अख्तीयारले नरैनापुर पहिलो पटक गरेको अन्तरक्रियाको प्रशंसा गर्नु भएको थियो । वडा अध्यक्षहरुका तर्फ बोल्दै वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले राज्यको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य भएको बताउँदै भ्रष्टाचारको समूल अन्त्य गर्दै सुशासन कायम गराउने कुरालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका प्रमुख विजय राज पौडेलले चालु आर्थिक बर्ष २०७९–८० मा नरैनापुरमा ९ वटा उजुरी परेकोमा ३ फछ्र्यौट भएको बताउनु भयो । प्रमुख पौडेलले गलत नियतले कार्य गरी सार्वजनिक सम्पति हानी नोक्सानी गर्नेलाई कारबाहीगर्ने बताउनु भयो ।

असल नियतले काम गरेको खण्डमा समान्य गलतीहरुलाई क्षमय हुने उहाँको धारणा रहेको थियो । संविधान र ऐनले तोकिएको जिम्मेवारी पुरा गर्न अख्तियार लागी परेको बताउनु भयो । उहाँले जति कमाए पनि मर्ने वेलामा लिएर जाने होइन उदाहरण दिदै भ्रष्टाचार गर्नेलाई निरुत्साहित गर्ने आ आफनो तर्फबाट पहल गर्न उहाँले आग्रह गर्नु भएको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकका बारेमा जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूका बारेमा समेत पौडेलले जानकारी गराउनु भएको थियो ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए । कार्यक्रममा अख्तीयारका प्रमुख विजय राज पौडेल, नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेबी श्रीवस्तव, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक बिर बहादुर सुनार, वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, लेखा अधिकृत भरत बस्नेत, गाँउपालिका अन्तरगत विभिन्न शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Nabintech