१८ आश्विन २०७९, मंगलवार
ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्री शर्माको भनाइ, ‘यही साता निर्णय हुन्छ’


काठमाडौँ /बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर वृद्धि गरेसँगै कर्जाको ब्याजदर पनि अकासिएको छ । एकातिर बैंक तथा वित्तीय संस्थामा लगानी गर्न पैसा छैन भने अर्कोतिर ब्याजदर अकासिएको छ । यसले गर्दा लगानी निरुत्साहित हुने भएकाले अर्थतन्त्रमा समस्या आउने मन्त्री शर्माले बताएका छन् ।

बैंकहरूमा पैसा राख्दा १५ प्रतिशतसम्म ब्याज पाइने भएपछि नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । उद्योगमा लगानी गर्दा ८/१० प्रतिशत ब्याज आउने तर बैंकमा राख्दा १५ प्रतिशत र जग्गामा लगाउँदा दुई गुणा बढी ब्याज प्राप्त हुने भएपछि उत्पादनमूलक क्षेत्रमा लगानी निरुत्साहित भइरहेको उनको भनाइ छ ।

बिहिबार ‘नाडा ईभी एक्स्पो २०२२’ को उदघाटनका क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएक हुन् । बैंक तथा वित्तीय संस्थाले यही असोज एक गतेदेखि निक्षेपको ब्याज बढाएका छन् । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको १२।१३ प्रतिशत पुर्‍याएका छन् । त्यस्तै, केही बैंकले रेमिट्यान्समार्फतको निक्षेपमा १५‍।१३ प्रतिशत ब्याज दिने घोषणा पनि गरेका छन् । बैंकले बढाएको यही ब्याजदरलाई इंकित गर्दै अर्थमन्त्री शर्माले त्यसमा सरकारले हस्तक्षेप गर्ने बताएक हुन् । ‘जुन देशमा बैंकमा पैसा राखेर १३ प्रतिशत, १४ प्रतिशत, १५ प्रतिशतसम्म आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन,’ उनले भने, ‘यहीँनिर समस्या छ । यो समस्यालाई हल गर्नुछ ।’

ब्याजदरका विषयमा आफूले सम्बन्धित निकायका प्रतिनिधिहरूसँग छलफल गरिरहेको मन्त्री शर्माको भनाइ छ । उनले व्यवसायी, बैंक र अर्थ मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर आउने हप्ता गम्भिर छलफल गरेर निष्कर्ष निकाल्ने बताएका छन् । ‘त्यसका लागि मैले निर्देशन गरिसकेको छु,’ उनले भने, ‘यसको केही न केही हल निकाल्नैपर्छ ।’ यस्तै, उत्पादनमूलक क्षेत्रलाई आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडेर कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याउने पनि उनले बताए ।

Nabintech