७ बैशाख २०८१, शुक्रबार
नरैनापुरमा ‘हाम्रो बिद्यालय म बनाउँछु’ अभियान


नरैनापुर गाउँपालिकामा ‘हाम्रो बिद्यालय म बनाउँछु’ भन्ने अभियान सुरू गरिएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा गाउँपालिकाले १२ जना करार शिक्षक नियुक्त गर्दै उक्त अभियान सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष अध्यक्ष इश्तियाक अहमद शाहले अभियान सुरु गरिएको जानकारी दिएका हुन् ।शैक्षिक अवस्था सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै उनले सामुदायिक बिद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको बताए ।

शिक्षण पेशालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगती हुने उनले दाबी गरे । अध्यक्ष शाहले नरैनापुर गाँउपालिकामा रहेका बिद्यालयको लागि आवश्यक भौतिक पूर्वाधार तयार गर्ने योजना बनाएको बताए । शिक्षकलाई निष्पक्ष भएर गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ भूमिका निर्वाह गर्न निर्देशन दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले शिक्षा सेवाको क्षेत्र भएकोले सेवा सुविधा पाइँन भनी पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताए । नरैनापुरको शिक्षाको गुणस्तर सुधार हुदै गएको बताउँदै उनले इच्छा शक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने पनि जिकिर गरे ।

वडाअध्यक्ष मसूद अहमद शाहले लोक सेवाको मापदण्डमा रहेर करार सेवाका लागि गाउँपालिकाले खोलेको विज्ञापनमा ६८ जनाबाट १२ जनाले नाम निकालेको बताउँदै नरैनापुरको शिक्षालाई अझ उचाईमा पुर्याउनका लागि भूमिका निर्वाह गर्न नवनियुक्त शिक्षकलाई आग्रह गरेका थिए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले गुणस्तरिय शिक्षाका लागि आफ्नो पूरै टिम खटेर लागिपरेको बताए । विद्यार्थीलाई हरतरहले शिक्षण सिकाई सहजीकरण गरिरहेको बताउँदै नवनियुक्त शिक्षकलाई समेत शिक्षण पेशमा गम्भीर भएर लाग्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको नियुक्ती पत्र हस्तन्त्रण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खराल, वडाअध्यक्ष शाह, शिक्षा शाखा प्रमुख चौधरी, शिक्षा समितिका सदस्य तथा गाउँपालिका अध्यक्षका स्वकिय सचिव ब्रिजेन्द्र यादव, शिक्षक अफसर अलि, सज्जाद खान, कमल केसी, नवनियुक्त शिक्षकहरु लगायतको सहभागिता रहेको थियो ।

Nabintech