१६ चैत्र २०८०, शुक्रबार
बढैयातालमा सामाजिक सूचना व्यवस्था प्रणाली लागू


बढैयाताल गाउँपालिकाले दिने सेवासुविधा र विभिन्न घटनालाई डिजिटलरुपमा व्यवस्थित गर्न सामाजिक सूचना व्यवस्था प्रणाली लागू गरिएको छ । कामको खोजीमा विदेश तथा भारतमा गएका व्यक्ति, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको अभिलेख सफ्टवेयरमा राखिने छ । हालसम्म उक्त पालिकाबाट विदेश गएका पुरुष तथा महिलाहरुको अभिलेख छैन ।

त्यस्तै, मानव बेचबिखनमा परेका र उद्धार गरिएका व्यक्तिहरुको अभिलेख पालिकामा छैन । वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको खोजीका लागि परेका उजुरीका अनुसार उक्त पालिका मानव बेचबिखनको जोखिममा बर्दिया जिल्लाभरीमा तेस्रो स्थानमा पर्छ । नेपाल सरकारको समन्वय तथा माइती नेपालको ुहाम्रो सम्मान परियोजनाुको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक सूचना व्यवस्था प्रणाली लागू गरिएको हो ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सामाजिक सूचना व्यवस्था प्रणाली लागू गरिएपछि मानव बेचबिखनका घटना, उद्धार गरिएका व्यक्ति, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको अभिलेख राख्न सहज हुनुका साथै पालिकाका सेवाहरुबारे जानकारी दिन सहज हुने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले प्रविधिसँगै सरकारी कार्यालयहरु डिजिटल बन्दै गएको बताए । ‘अब दराजमा फाइल खोज्ने दिन गए,’ उनले भने । गाउँपालिका प्रमुख हिमालय त्रिपाठी र उपप्रमुख लक्ष्मी अधिकारीले सामाजिक सूचना व्यवस्था प्रणाली लागू भएपछि पालिकाका सबै अभिलेखहरु राख्न सहज हुने धारणा राखे ।

Nabintech