२६ बैशाख २०८१, बुधबार
भेरीमा ब्लड बैंकको सुविधासम्पन्न भवन बन्ने, डुडुवामा थप २ पुल शिलान्यास


नेपालगञ्ज / नेपालगञ्जस्थित ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज भवनको शिलान्यास गरे । यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ ।

अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ । विनियोजित बजेट मध्ये ५ लाख रूपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिनेछ । २ करोड ९५ लाख रूपैयाँ भवन निर्माणमा खर्चिने भएको छ।

मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णय अनुसार नेपालगञ्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ ।

यसैबीच मन्त्री राईले आजै डुडुवा गाउँपालिका वडा नम्बर ३ रमपुर्वामा तथा वडा नम्बर ४ र ५ को सिमानामा पर्ने मोहनदास बाबा कुट्टीमा दुई छुट्टाछुट्टै पुलको शिलान्यास पनि गरेका छन् । यो पुल बनेमा त्यस क्षेत्रका बासिन्दालाई डुडुवा खोला वारपार गर्न सहज हुनेछ ।

Nabintech