१५ चैत्र २०८०, बिहीबार
मन्त्री राई द्धारा नेपालगन्ज–गुलरिया चार लेन सडक शिलान्यास


भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले एक पछि अर्को योजनाको शिलान्यास गरेका छन् । तीन साता अघि नेपालगन्ज–राँझा सडक खण्ड असफाल्क प्रविधिबाट कालोपत्रे गर्न र नेपालगन्ज तथा कोहलपुरमा आकासे पुल निर्माणको शिलान्यास गरेका उनले बुधवार हुलाकी सडक अन्तरगत नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको शिलान्यास गरेका छन् ।
कुल ३५ किलोमिटर सडक अन्तरगत २२ किलोमिटर चार लेन र १० किलोमिटर दुई लेन सडक निर्माण गर्न मन्त्री राईले शिलान्यास गरेका हुन् । उनले सहर तथा बस्ती भएको २२ किलोमिटर सडक चार लेन र १० किलोमिटर सडक दुई लेन निर्माण गर्न टेण्डर आह्वान भइसकेको बताए । २६ असोजसम्म टेण्डर हाल्ने अन्तिम मिति भएको बताउँदै उनले यहि महिनाको अन्तिम साता भित्र ठेक्काको टुंगो लाग्ने स्पष्ट पारे । उनले भने, ‘कात्तिकदेखि निर्माणको काम सुरु भई तीन बर्षमा सकिने छ ।’
उनले हुलाकी सडक अन्तरगत नेपालगन्ज–सिधनियाघाट सडक पनि चार लेन निर्माण गर्न लागिएको बताए । उक्त सडकमा पनि बस्ती भएको ठाउँमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको निर्माण हुने मन्त्री राईको भनाई छ ।
सडक स्तरोन्नती शिलान्यास कार्यक्रममा बर्दिया क्षेत्र नं। १ बाट विजयी प्रतिनिधि सभा सदस्य संजय गौतमले सडक स्तरोन्नती भए नेपालगन्ज–गुलरिया आउजाउ गर्न सहज हुने बताए । उनले सडक जीर्ण भएका कारण नेपालगन्ज आउन सास्ती खेप्नु परेको बताउँदै नेपालगन्जसँग गुलरियालाई जोड्न सडकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जनसंख्या र सवारी साधनको चाँप बढेसँगै नेपालगन्ज–गुलरिया सडक साँघुरो भएकोले स्तरोन्नतीका लागि बजेट विनियोजन गरिएको बताए । उनले तीन बर्षभित्र सक्ने गरि टेण्डर आह्वान गरिएको जानकारी दिए ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नेपालका अधिकांश जिल्ला सडक संजालसँग जोडिएको बताउँदै ९७५ किलोमिटर लामो हुलाकी सडक निर्माण पूरा भएसँगै स्तरोन्नतीको काम अगाडी बढाएको बताए । उनले नेपालमा एक हजार २४ किलोमिटर महेन्द्र राजमार्ग, १३ सय किलोमिटर मदन भण्डारी राजमार्ग, १७ सय किलोमिटर मध्य पहाडी राजमार्ग रहेको बताए ।
त्यसैगरी, हुलाकी राजमार्ग अन्तरगत ३१ वटा सहायक राजमार्ग र नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग, पृथ्वी राजमार्ग पनि नेपालमा रहेको उनको भनाई थियो ।

Nabintech