८ बैशाख २०८१, शनिबार
नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतमा खराल


नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मणिराम खरालले सम्हालेका छन् । उनले मंगलबारदेखि औपचारिक रुपमा पद सम्हालेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो ।

यसअघि नरैनापुर गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गर्दै आएका भरत बस्नेतले सोही गाउँपालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हालेका छन् । पद बहाली भएसँगै खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताए ।

‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र गाउँसभाको अभिभावकत्व रहन्छ, म प्रशासनको अभिभावकत्व गर्छु, कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मुल्यांकन गर्छु,’ उनले भने । कोरोना महामारीका बेला उनले गाउँपालिकामा ७ महिना प्रमुख प्रशासकीय अधिकृत भएर जिम्मेवारी निर्वाह गरेका थिए ।

खरेलले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै फेरी पनि सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा दोस्रो पटक आएको भन्दै गाँउपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले स्वागत गरे । उनले नरैनापुरको समग्र विकासका लागि काम गर्न निर्देशनात्मक सुझाव दिए ।

सो क्रममा लेखा अधिकृत बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसूद अहमद शाह, जिन्सी शाखा प्रमुख एवं वडा नम्बर ५ का सचिव भरत महतो, विपद शाखा प्रमुख लक्ष्मीकान्त मिश्र, लेखापाल प्रकाश अधिकारी तथा अन्य कर्मचारीले खराललाई स्वागत गरेका थिए ।

Nabintech