१५ बैशाख २०८१, शनिबार
माओवादीका तरमाराहरू, जो अवसर लिएर आफ्नो बाटो लागे


माओवादीले सशस्त्र विद्रोह छोडेर खुला राजनीतिमा आएको डेढ दशक पूरा भयो । तर, संसदीय राजनीतिमा गति लिँदै गर्दा माओवादीले आफ्नो जनाधार बिर्सिंदै गयो । अवसरवाद जालोमा फसेको माओवादीमा अधिकांश अनुहार अवसरको खोजीमा भित्रिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट भएर छोटो समयमा नै ठूलो अवसर पाउने धेरै भाग्यमानी छन् माओवादीमा । जसले छोटो समयमा नै ठूलो अवसर पाए तर तिनैले माओवादीलाई अप्ठेरो पर्दा भने साथ छाडेर बाटो लागे ।

पञ्चायतका अञ्चलाधीशदेखि सेनाका पूर्वजर्नेलसम्म, माओवादीलाई नै सामाजिक फाँसीवादी भन्ने लालबुझक्कडदेखि एनजीओ खेती गर्ने तरमाराहरूले पनि माओवादीमा आएर राजदूतदेखि सांसदसम्मका पद पड्काए । माओवादीभित्र मौलाएका ती यस्ता तरमारा वर्ग हुन्, जो तर खान्छन्, बाटो लाग्छन् । त्यो अवसरमा उसको कुनै लगानी हुँदैन । त्यही भएको छ माओवादीमा पनि । तर फर्केर पनि नहेरी कोही अरु नै पार्टीमा लागेका छन् भने कोही स्वतन्त्र बसेका छन् ।

यद्यपि, जनयुद्धबाट आएकाले मात्र लाभको पदमा पुग्नुपर्छ भन्ने होइन । तर, पार्टीका सदस्य छनोटमा भने ध्यान दिनुपर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईं बताउँछन् । उनले भने, ‘जनयुद्ध लडेका रामबहादुर थापा बादलहरू पनि माओवादी केन्द्रलाई धारे हात लगाएर बसेका छन् । तर, पात्र छनोटमा कमजोरी भएको हो । राजनीतिक रूपमा टेस्ट नै नभएका पात्रका बारेमा अझै बुझ्नुपर्छ । अब त्यसबाट शिक्षा लिनुपर्छ ।’

लक्की शेर्पा

२०७३ साल वैशाखमा माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत सिफारिस भइन् लक्की शेर्पा । माओवादीमा शेर्पाजत्तिको अरु महिला नभएर होइन । धेरै महिला थिए शेर्पाको जति क्षमता भएका तर प्रचण्डले उनलाई नै राजदूत बनाए ।

उनी पहिलो संविधानसभापछि रामचन्द्र झासँगै एमाले छाडेर माओवादीमा प्रवेश गरिन् । उनलाई प्रचण्डले सामानुपातिक सूचीमा राखे तर दोस्रो संविधानसभामा माओवादीको सिट कम आयो । लक्की अनलक्की भइन् । सभासद् बन्न पाइनन् ।

लक्कीको लकले साथ नदिए पनि प्रचण्डको प्रतापले उनको लक्की भाग्य चम्कियो अस्ट्रेलियाको राजदूत भएर ।

लक्कीलाई राजदूत बनाउँदा माओवादीका पुराना नेतारकार्यकर्ताहरूले असन्तुष्टि जनाए । लक्ष्मी पुनले उनलाई राजदूत बनाएपछि सार्वजनिक रूपमा नै असन्तुष्टि पोखिन् । तर, माओवादी सुप्रिमोको अगाडि कसैको केही लागेन । लक्कीको लकले साथ दियो, राजदूत भएर अस्ट्रेलिया हुइँकिइन् ।

राजदूत लक्कीका लागि त्यही अस्ट्रेलिया नै दुर्भाग्य भएर आयो । शेर्पाका पूर्वसवारीचालक एवं भान्छे वाङ्छु शेर्पाले उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानवबेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाए ।

आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको र अरु केही मानिसहरूलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै आफूलाई रकम उठाउन परिचालन गरेको आरोप राजदूतका सवारीचालकले लगाएपछि उनलाई रादूतबाट फिर्ता बोलाइएको थियो ।

शेर्पा माओवादी पस्नुभन्दा पहिला एमालेको संगठित सदस्य थिइनन् । ०६४ सालमा एमालेबाट समानुपातिक सभासद् बनेकी थिइन् । एमालेमा सभासद् खाएर माओवादी पसेकी लक्की राजदूतको पद पाएर पुनस् ९ वैशाख ०७८ मा एमालेमै फर्किइन् ।

जुन विचार माओवादीको थियो, त्यो विचार, सिद्धान्त छोडेकाले आफूले त्यो पार्टी छोडेको शेर्पाले बताइन् । उनले भनिन्, ‘माओवादीले माया गरिराखेको थियो । तर, वर्गीय हिसाबले माओवादीमा समस्या आयो । हिजो जुन वर्ग लडेको थियो, त्यही वर्गलाई छोड्दै गयो । नेतृत्वमा बाहिर एक कुरा भन्ने, भित्री अर्कै काम गर्ने प्रवृत्ति देखियो । यस्तो भइसकेपछि त्यो पार्टीमा राजनीतिक भविष्य देखिनँ, अनि छोडेकी हुँ ।’

अवसर पाएर पनि माओवादी छोड्ने शेर्पा एक जना मात्र होइनन्, यो लिस्ट लामै छ ।

योगेन्द्र ढकाल (अजय शर्मा)

योगेन्द्र ढकाल ९अजय शर्मा० जनादेशको सहप्रकाशन संश्लेषणको प्रधानसम्पादक भएर आए । उनी केही महिनाअघि मात्रै अमेरिकाबाट नेपाल ‘ल्यान्ड’ भएका रहेछन् । ०६३ सालमा जनादेशको सहप्रकाशन थियो संश्लेषण । त्यसको प्रधान सम्पादक भएर माओवादी छिरेका थिए ढकाल । गोरा, चिल्ला, अन्तरमुखी स्वभावका शर्मा जनयुद्धबाट आएकासँग कमै घुलमिल हुन रुचाउँथे त्यो समयमा । उनी भरखर अमेरिका बसेर नेपाल फर्केका थिए । उनको वास्तविक नाम योगेन्द्र ढकाल भए पनि राजनीतिक रूपमा अजय शर्माका नामले परिचित छन् । शर्मा प्रधान सम्पादक भएर आएपछि युद्धका समयका पत्रकार खिलबहादुर भण्डारी र बलराम थापा सम्पादक मण्डलमा झरे ।

तिनै अजय शर्मा ०६४ भदौ ८ गते अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भए । उनी नाताले मसालका महामन्त्री मोहनविक्रम सिंहका बहिनीज्वाइँ हुन् ।

अमेरिकाबाट नेपाल आएको, जनयुद्धमा कुनै योगदान नभएको मान्छे एक वर्षभित्रै राजदूतमा सिफारिस भएपछि माओवादीमा हलचल नै भएको थियो । राजदूत गरिमामय, रणनीतिक महत्त्व र आर्थिक लाभको पद मानिन्छ ।

शर्मा माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा लागे । त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन् । केही वर्ष पछि पुनः मसालमा फर्किएर बुद्धिजीवी संगठनका महासचिव भए ।

यिनै पार्टी फेर्दै अवसर लिँदै हिँड्ने योगेन्द्र ढकाल २८ माघ ०७८ मा श्रीमती अजिता जिसीसँगै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी अहिले माओवादी र प्रचण्डका घोर विरोधी भएका छन् । जुन माओवादीमा केही समय लागेर प्रधान सम्पादक र राजदूत भए, अहिले त्यही पार्टीको विरोध गर्नु उनको दिनचर्या भएको छ ।

विजयकान्त कर्ण

विजयकान्त कर्ण डेनमार्कका लागि राजदूत भएका थिए । उनी पनि माओवादी कोटामा राजदूत भएका हुन् । उनको पनि माओवादी विद्रोहमा कुनै सम्बन्ध छैन ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डको कोटाबाट कर्णलाई राजदूत बनाए । डेनमार्कमा लामो समय राजदूत भएर फर्केका कर्ण माओवादीभन्दा बढ्ता मधेसकेन्द्रित दलको निकटतामा पुगेको बताइन्छ ।

०४३ सालदेखिको सक्रिय राजनीति छोडेको र आफू माओवादीलाई समर्थन गर्ने गरी राजदूत नभएको कर्ण बताउँछन् । उनले भने, ‘माओवादीको सिफारिसमा राजदूत तत्कालीन गिरजाप्रसाद कोइरालाले नियुक्त गर्नुभएको हो । तर, म माओवादीको सदस्य कहिल्यै भइनँ । हुन पनि हुँदिनँ । आलोचना र समर्थन कामका आधारमा गर्छु । माओवादीको नीति नै थियो कि नागरिक अगुवाहरूलाई सांसद बनाउने, राजदूत बनाउने, त्यही नीतिअन्तर्गत म पनि राजदूत भएको हुँ । माओवादीले राम्रो काम गरे समर्थन गर्छु, नराम्रो गरे आलोचना ।’

डेनमार्कका लागि राजदूतको कार्यकाल सकेर फर्केका कर्ण आजभोलि माओवादीमाथि प्रहार गर्नेहरूको अग्रपंक्तिमा पर्छन् । खासगरी ०६३ पछि अन्तरिम व्यवस्थापिका बनाउने क्रममा मानिसहरू आकर्षित गर्ने नाममा माओवादीले सांसदलगायतका राजनीतिक पदमा बाहिरकै मानिसलाई नियुक्त गर्न थाल्यो । जसको फाइदा कर्णले पनि लिए ।

महेश मास्के

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चीनका लागि महेशकुमार मास्के राजदूत नियुक्त भएका थिए । उनी माओवादीको कोटामा राजदूत नियुक्त भएर चीनमा ४ वर्ष कार्यकाल सकेर नेपाल फर्केका हुन् ।

उनको पृष्ठभूमि कम्युनिस्ट हो । त्यही भएर पनि माओवादीले उनलाई राजदूत बनाएको हो । उसो त उनको राजनीतिक संलग्नता एकता केन्द्रसँग थियो । नारायणकाजी श्रेष्ठनिकट मानिने मास्केलाई राजदूत बनाउँदा धेरै विवाद त भएन । तर, उनी कार्यकाल सकेर फर्केपछि माओवादीको पक्षमा बोलेको सुनिँदैन । उनी लेख्ने पढ्नेमा पर्छन् । तर, सार्वजनिक मञ्चहरूमा कहीँ कतै देखिँदैनन् । माओवादी विद्रोहमा योगदान नदिए पनि उनले माओवादी सरकारमा आएपछि अवसर पाएका थिए ।

श्याम श्रेष्ठ

श्याम श्रेष्ठ दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीको तर्फबाट मनोनीत सभासद् बनेका हुन् । उनी पनि एकता केन्द्र र माओवादी एकता भएपछि नारायणकाजी श्रेष्ठनिकट मानिन्थे । पार्टी एकता भएको केही वर्षपछि भएको संविधानसभाको दोस्रो कार्यकालमा उनलाई माओवादी कोटामा सभासद् चयन गरेको थियो ।

श्रेष्ठ विज्ञको रूपमा सांसद भएर अवसर लिनेमा पर्छन् । उनको कम्युनिस्ट आन्दोलनमा भूमिका भए पनि माओवादी विद्रोहमा भने खासै थिएन । माओवादी कोटामा उनलाई सभासद् हुने अवसर दिइयो । त्यो समयमा राजनीतिक दलहरूले बाँड्न नहुने कोटा बाँडेको र त्यही बाँडिएको कोटामा आफू पनि माओवादीको भागमा परेको कोटामा सभासद् भएको श्रेष्ठ बताउँछन् ।

उनले भने, ‘मलाई माओवादीले सभासद् हुने प्रस्ताव राख्दा नै मैले ह्वीप नमान्ने, संसदीय दलको कार्यालयमा नआउने र लेबी पनि नतिर्ने सर्त राखेर सभासद् भएको हुँ । मैले माओवादीले गल्ती गर्दा उनका विरुद्ध संसद्‌मा बोलेको थिएँ । म हिजो पनि स्वतन्त्र नागरिकको हिसाबले सांसद भएको हुँ । आज पनि स्वतन्त्र नागरिक छु ।’

अहिले उनी आफूलाई वामपन्थी विश्लेषक भन्न रुचाउँछन् । उनी पनि माओवादीको आलोचकको रूपमा बढी देखिन्छन् । उनकी बहिनी शशि श्रेष्ठ अहिले माओवादीकी नेता हुन् । उनी भूमि व्यवस्था तथा शहकारीमन्त्री छन् । उनका बहिनीज्वाइँ लीलामणि पोखरेल माओवादीका सचिव हुन् ।

रवीन्द्रप्रताप शाह

रवीन्द्रप्रताप शाहको स्थायी घर धादिङ हो । पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई माओवादीले सभासद् बनाएको थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि उनलाई पनि समानुपातिक कोटामा सभासद् बनाएको थियो माओवादीले ।

त्यो समयमा पार्टी अध्यक्ष प्रचण्डसँगै डा। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सहमतिमा पूर्वआईजीपी शाह एमाओवादीको समानुपातिक सभासद् बनाइएका थिए ।

‘जनयुद्ध दमन गर्ने’मध्येका एक भन्दै शाहलाई सभासद् बनाएकोमा पार्टीका नेता कार्यकर्ताबाटै चर्को विरोध भएको थियो । समानुपातिक सूचीमा नै नाम भएका हेमन्तप्रकाश वली नपरेपछि झन् चर्को विरोध भएको थियो । वली अहिले विप्लवबाट पार्टी विभाजन गरेर बहुमत नेकपाको नेता बनेका छन् । वली शहीद परिवार, जनयुद्धमा जेल परेका र त्याग गरेका क्षमतासमेत भएकालाई सभासद् नबनाउँदा चर्को विरोध भएको थियो ।

उनले आफू माओवादी कोटामा सभासद् भएको तर अहिले मिडियामा केही पनि नबोल्ने बताए ।

पूर्वआईजी शाहले समेत आफ्नो इच्छाले नभई माओवादी नेताहरूले कन्भिन्स गरेर आफूलाई सभासद् बनाएको अभिव्यक्ति दिएका थिए । माओवादीमा नै शाहको विरोध भएपछि सभासद् पद छोड्ने बताएका थिए । तर, उनले पूरा कार्यकाल सभासद् भए । अहिले उनी सामाजिक सञ्जालमा माओवादीविरुद्ध स्टाटस लेख्दै बस्छन् ।

शाह पनि माओवादी विद्रोहलाई दमन गरेर सबैभन्दा ठूलो अवसर हात पार्नेमा पर्छन् । उनले माओवादी विद्रोह दबाउन जति भूमिका खेले, त्योभन्दा बढी अवसर पनि माओवादीबाट नै पाएका हुन् । तर, अहिले उनी माओवादीमा संगठित हुन त परैको कुरा, समर्थक पनि छैनन् ।

इन्द्रजित राई

माओवादीबाट अवसर पाउनेमा इन्द्रजित राई पनि पर्छन् । ०६४ सालभन्दा पहिला विभिन्न विश्वविद्यालयमा अध्यापन गराउँदै आएका राईलाई माओवादीले ०६४ सालमा समानुपातिक सभासद् बनायो । पहिलो संविधानसभामा नै उनी सभासद् हुने भाग्यमानी हुन् । उनी सभासद् हुनुभन्दा पहिला काठमाडौं विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयमा प्रोफेसर थिए ।

माओवादीले सभासद् बनाएपछि उनी यही पार्टीमा थिए । नेकपाकालमा रामबहादुर थापा गृहमन्त्री भए पनि उनका सुरक्षा सल्लाहकार भए ।

‘मलाई माओवादी मन परेर माओवादी भएको होइन । रामबहादुर थापा मन परेर माओवादी भएको हुँ । अहिले थापा एमालेमा हुनुहुन्छ । त्यसैले म पनि एमालेमा गएको हुँ,’ राईले प्रस्टीकरण दिए ।

गृहमन्त्रीका सल्लाहकार हुँदा नै युवालाई शरणार्थी परिचयपत्र दिलाएर अमेरिका पठाउने धन्दामा राई र उनका छोरा नीरज राई पनि संलग्न भएको आरोप लाग्यो । अमेरिका जाने प्रलोभनमा गिरोहमार्फत राई र उनका छोरा नीरजले ५५ जनाबाट एकमुस्ट ५ करोड ५० लाख रुपैयाँ बुझेको आरोप लाग्यो ।

थापा एमालेमा नै बसेपछि राई पनि एमालेमा नै बसेका छन् । मलाई माओवादीले सांसद बनायो, बाबुराम भट्टराईलाई प्रधानमन्त्री नै बनाउँदा पनि किन बसेनन् रु मानिसको राजनीतिक दल छान्न पाउने अधिकार हुने राई बताउँछन् । राई पनि विद्रोहमा सहयोग नगरे नै सभासद् र सल्लाहकार हुन पाउने भाग्यमानीमा नै पर्छन् ।

कुमार फुदुङ

माओवादी शान्तिप्रक्रियामा आएपछि पहिलोपटक ८० जना अन्तरिम विधायक मनोनीत गरेको थियो । त्यसमा पूर्वजर्नेल कुमार फुदुङ पनि थिए । सेनाबाट भरखरै रिटायर्ड भएको जर्नेल नै माओवादीको अन्तरिम विधायकमा मनोनीत हुने सबैका लागि आश्चर्यको कुरा थियो ।

माओवादीको विद्रोह रोकिएको छोटो समयमा नै उनी माओवादीनिकट भएको बताइन्छ । उनी सेनाको मेजर जनरलबाट अवकाश भएका हुन् ।

२०६४ सालमा कुमार फदुङ माओवादी पार्टीबाट संविधानसभाको चुनाव पनि लडे तर हारे । अहिले यी पात्र पनि गुमनामजस्तै छन् । जेहोस्, उनी पनि माओवादी शान्ति प्रक्रियामा आएपछि तर मार्नेमा नै पर्छन् । तर, अहिले माओवादीको पक्षमा बोलेको कहीँ कतै सुन्न पाइँदैन ।

माया शर्मा

माया शर्माले ०६८ मा माओवादी कोटाबाट राजदूत हुन सौभाग्य पाइन् । उनको पनि माओवादी विद्रोहमा कुनै साइनो थिएन । तर, बाबुराम भट्टराईले उनलाई राजदूत बनाए । विवादित अभिव्यक्तिका कारण उनले कतारमा पूर्ण कार्यकाल काम गर्न पाइनन् ।

कृषि विकास बैंककी कर्मचारी शर्मालाई माओवादीले कुन विज्ञताका आधारमा राजदूत बनाएको भनेर अहिलेसम्म थाहा छैन ।

शर्मा राजदूत पदमा नै भएको समयमा ‘कतार खुला जेल हो’ भनेर बोलेपछि विवादमा तानिइन् । माओवादीका नेताहरूले शर्मालाई फिर्ता बोलाउन नेतृत्वलाई दबाब दिन थाले ।

माओवादीका अध्यक्ष प्रचण्डले राजदूत शर्मालाई फिर्ता आउन आग्रह गरेका थिए । शर्माले आफू माओवादी कार्यकर्ता नभएकाले प्रचण्डको ठाडो आदेशमा नफर्कने भन्दै त्यहीँ बसिन् ।

विवादित अभिव्यक्तिपछि १० असोज ०७० सालमा सरकारले उनलाई फिर्ता बोलायो ।

नेपाल र कतारको सम्बन्धमै खलल पार्ने गरी राजदूत शर्माको अभिव्यक्ति आएपछि कतारी सरकारले नै फिर्ता बोलाउन नेपालमाथि दबाब बढाएको थियो । त्यसपछि सरकार शर्मालाई फिर्ता बोलाउन बाध्य भएको थियो । ०७० मा नेपाल फर्केपछि शर्मा कहाँ के गर्दैछिन् भन्ने माओवादीलाई नै अत्तोपत्तो छैन ।

सुबसेन वली

सुबसेन वली पनि माओवादीमा पहिलो संविधानसभामा सभासद् हुन पाउने भाग्यमानी पञ्च हुन् । उनी महेन्द्रको पालाका अञ्चलाधीश थिए । जीवनभरि पञ्चायतको पक्षमा लागेका वलीलाई माओवादीले भने सजिलै सांसद बनाएको थियो ।

राजसंस्था ढाल्न सशस्त्र विद्रोह गरेका माओवादीले नै कट्टर पञ्चलाई सभासद्‌को पद उपहार दिएका थिए । तर, सभासद् भएपछि वली कहीँ कतै राजनीतिक मञ्चमा देखिँदैनन् । न त माओवादीको पक्षमा कहीँ कतै बोलेकै सुनिन्छ ।

सभार : शिलापत्र

Nabintech