१३ बैशाख २०८१, बिहीबार
‘गठबन्धन केन्द्रिय समिति बैठकले गरेको हो, कार्यकर्ताले निर्णय मान्नुपर्छ’ : नेता गिरी


नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीले पार्टीको केन्द्रिय समिति बैठकले गठबन्धन गर्ने निर्णय गरिसकेकाले कार्यकर्ताले पार्टीको निर्णय मान्नुपर्ने बताएका छन् । संबिधान रक्षाका लागि पनि गठबन्धन गर्न आवश्यक रहेकोमा जोड दिदै उनले सोही अनुसार आगामी निर्वाचनका लागि पाँच दलिय गठबन्धन बनेको प्रष्ट्याए ।

१०९ औं विपी जयन्ती तथा ‘जनताको साथमा कांग्रेस अभियान’ समापन कार्यक्रमलाई शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै केन्द्रिय सदस्य गिरीले गठबन्धन गरेर चुनावमा जादै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले विगतका कुरालाई बिर्सिनुपर्ने बताए ।

कांग्रेस कार्यकर्ताले पार्टीको निर्णयलाई मान्ने विश्वास गर्दै उनले थपे, ‘कुनै बेला मेरो घरमा पनि बम पड्काएका हुन्, तर पनि मैले विगतका सबै कुरालाई बिर्सेको छु, राजनीति भनेकै यही हो, बिगतलाई बिर्सिनुपर्छ ।’ तर गठबन्धनमा रहेका दलले हैसियत भन्दाबढी सिट खोजिरहेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले गठबन्धन गर्दा पार्टीको अवस्थालाई पनि विशेष ख्याल गर्न जरुरी रहेको बताए ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले गठबन्धन गर्दा पार्टीको हैसियत अनुसार गर्न केन्द्रिय नेतृत्वलाई आग्रह गरे ।

उक्त कार्यक्रमलाई संबिधान सभा सदस्य बादशाह कुर्मी, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, महासमिति सदस्य तथा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, महासमिति सदस्य चिन्तामणि धिताल, क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी लगायतले सम्बोधन गरेका थिए ।

Nabintech