१६ चैत्र २०८०, शुक्रबार
पार्टीलाई एकताबद्ध गरेर लैजाने उत्तराधिकारी तयार होउन् : प्रचण्ड


काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पार्टीलाई एकताबद्ध बनाएर लैजाने उत्तराधिकारी खोजेको बताएका छन् । नयाँ नेताहरूले पार्टी नेतृत्व गर्न र एकताबद्ध भएर लैजानुपर्ने दाहालको भनाइ थियो ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बुधबार काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्सु घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा राम्रो उत्तराधिकारीहरू तयार होउन् भन्ने आफ्नो सपना रहेको बताएका हुन् ।

मैले जनयुद्धको तयारीको पनि नेतृत्व गरे । जनयुद्धको पनि नेतृत्व गरे । संविधानसभाको पनि नेतृत्व गरें । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरे । मेरो लागि धेरै चिज भएकै छ । अब मेरो सपना के हो त, राम्रो उत्तराधिकारीहरू तयार हुन्, उनले भने, तिनले पूरै पार्टीलाई एकताबद्ध गरेर लैजाउन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडि बढुन् ।

प्रचण्डले पार्टीमा एकमात्र उत्तराधिकारी हुन नहुने धारणा राखे । उनले विद्यार्थीहरूलाई आग्रह गरे, हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन् । यही मेरो सपना छ । तपाईँ विद्यार्थी साथीहरूले एकताबद्ध भएर यो सपना पूरा गर्नको लागि सहयोग गर्नुस् । यही अपिल र आग्रह छ ।’

कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि जनाएका थिए । विद्यार्थी संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले कारबाही नगरेको भन्दै उनले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताएका थिए ।

शर्मालाई जवाफ दिने क्रममा प्रचण्डले भने, जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाका कुरा । म तपाईहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भुमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि ।

प्रचण्डले सडक, सदन र सरकारका तीन वटा मोर्चाबाट संघर्ष गरेर मात्रै आन्दोलनका उपलब्धीको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताए । उनले सडकको हिरो युवा र विद्यार्थीहरू भएको उल्लेख गर्दै उनीहरू सडकमा नआउँदासम्म देशले गति नलिने बताए ।

 

Nabintech