७ आश्विन २०८१, सोमबार
मेडिकल कलेज कोहलपुरमा डायलाइसिस सेवा बन्द


सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द गरिएको छ । अत्यावश्यक सेवा बन्द हुँदा बिरामीको विजोग नै भएको छ ।

अस्पतालको डायलाइसिस सेवा गत शुक्रबार बाट बन्द गरिएपछि उपचारका लागि आएका बिरामी मर्कामा परेका हुन् । अस्पतालमा हरेक दिन बिहान ७ बजेदेखी बेलुका ८ बजेसम्म डायलाइसिस सेवा सञ्चालन हुदै आएको थियो । उक्त अस्पतालमा डायलाइसिस गराउन दैनिक १८ देखी २० जना मृगौलाका बिरामी आउँछन् । डायलाइसिस गर्ने जिम्मा पाएको ‘बिरंग हेल्थ केयर प्रालि’ ले सेवा बन्द गरेको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सञ्जय पन्तले बताए ।

उनले भने, ‘डायलाइसिस गराए वापत सरकारले एक वर्षभन्दा बढीको रकम अहिलेसम्म भुक्तानी गरेको छैन, सरकारसँग पैसा नपाएपछि बिरंगले नै सेवा रोकेको हो ।’ सरकारले आर्थिक वर्ष २०७८्७९ को मात्र एक करोड ६५ लाख ६४ हजार रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अस्पतालका लेखा अधिकृत श्याम धितालले बताए ।
अस्पतालमा दैनिक १८ देखी २० जना बिरामीले डायलाइसिस गराउँछन् । बिरामीले एक पटक डायलाइसिस गराए वापत सरकारले २५ सय रुपैयाँका दरले अस्पताललाई रकम भुक्तानी गर्नुपर्छ । ‘अस्पतालले बिरंगलाई डायलाइसिस सेवाको जिम्मा दिएको छ, सरकारबाट प्राप्त हुने रकम बिरंगले मेडिकल कलेजबाट पाउँछ,’ पन्तले भने ।
नियमित रुपमा सञ्चालन हुदै आएको अत्यावश्यक सेवा बन्द भएपछि शिक्षण अस्पताल कोहलपुरमा बिरामी अलपत्र परेका छन् । डायलाइसिस वार्ड नै खाली भएपछि सेवा लिन अस्पतालमा पुगेका बिरामी मृत्युसँग लडिरहेका छन् ।

Nabintech