६ बैशाख २०८१, बिहीबार
अर्थमन्त्री शर्मा द्धारा नरैनापुर गाउँपालिकामा सुख्खा क्षेत्रको स्थलगत अनुगमन


लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकामा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थलगत अनुगमन गरेका छन् । शुक्रबार नरैनापुर गाउँपालिकाको ६ वटै वडामा भारतीय सिमा नाका  बघौडा सम्मको स्थलगत अनुगमन गरेका हुन ।

प्रयाप्त पानी नपर्दा उक्त क्षेत्रमा जम्मा ३५ प्रतिशत मात्रै खेती भएको छ । स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले पानी अभावका कारण अधिकाँश खेती योग्य जमिन बाँझो रहेकोमा दुख व्यक्त गर्दै राज्यले राहत उपल्ब्ध गराउने प्रतिवद्धता जनाए । मन्त्री शर्माले भने निकै ठुलो समस्या रहेछ यसबारे मन्त्री परिषदको बैठकमा जानकारी गराउने र राहतको लागी पहल हुन्छ ।

सहज सिचाईका लागी आवश्यक बजेटको व्यवस्था गर्दै र धान बाली बाहेक अन्य बाली उत्पादन योग्य बाली खेती गर्ने बारे पनि राज्यले विशेष योजना ल्याउने अर्थ मन्त्री शर्माको कठन थियो । सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउँदै गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साहले यसपटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको अर्थमन्त्रीलाई जानकारी गराउँदै किसानलाई राहत दिन माग गरे ।


सो क्षेत्रमा सिंचाइको लागि व्यापक डिप बोरींग लगायत अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाइको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न उनले मन्त्री शर्मालाई आग्रह गरे ।
मन्त्री शर्मा संगै लुम्वीनी प्रदेश सभा सदस्य कृष्णा के.सी. नमुना, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर के।सी, बाँकेका प्रहरी प्रमुख श्यम कृष्ण अधिकारी लगायतको टोलीले नेपाल भारतको सिमा सम्म स्थलगत अवलोकन गरेको थियो ।

यस अघिगाउँ कार्यपालिकाको सोही बैठकले सुख्खा क्षेत्र घोषणा गरि ८० प्रतिशत करमा छुट दिने निर्णय गरेको छ ।
जिल्लाकै सबैभन्दा दुर्गम र पिछिडिएको मानिने नरैनापुरका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य जारी रहेको र केही वर्षभित्रै पालिकामा सिक्टाको पानी पुग्ने आशा गरिएको छ ।

Nabintech