१३ बैशाख २०८१, बिहीबार
मार्क्सवादीको आँखामा वैज्ञानिक समाजवाद


विश्वको कम्युनिष्ट आन्दोलनका महान गुरु कार्लमार्क्स भन्नुहुन्छ( ‘समाजवाद स्थायी क्रान्तिको उद्घोषण हो, सामान्यतया सर्वहारा वर्गको अधिनायकत्वले वर्ग विभेदको उन्मुलन गर्न, त्यो वर्ग विभेद उत्पन्न गर्ने सम्पूर्ण उत्पादन सम्बन्धको सम्पूर्ण सामाजिक सम्बन्धलाई उन्मुलन गर्न, त्यो सामाजिक सम्बन्धबाट उत्पन्न भएका विचारहरूलाई क्रान्तिकारीकरण गर्न आवश्यक सङ्गक्रमण विन्दुका रुपमा काम गर्दछ।’

वैज्ञानिक समाजवाद वास्तवमा स्थायी क्रान्ति र निरन्तर क्रान्ति नै हो। यसले साम्यवादमा पुग्न वर्ग विभेदको उन्मुलन गर्दछ। यसले गरिब र धनीबीचको वर्ग विभेद मात्र होइन, बरु यस अन्तर्गतका सानो जाति र ठूलो जाति, महिला र पुरुष, उत्पीडित क्षेत्र, काला र गोरा, शारीरिक श्रम र मानसिक श्रमबीचका विभेदहरू उन्मुलन गर्दछ। तसर्थ हामीले वैज्ञानिक समाजवादमा जोड दिएका छौं।

साँचो अर्थमा भन्ने हो भने पुँजीवादबाट साम्यवादमा पुग्ने सङ्क्रमणकालीन सामाजिक राज्य व्यवस्थालाई वैज्ञानिक समाजवाद भनिन्छ। जसरी पुँजीवादबाट जनवाद हुँदै समाजवादमा जाने प्रक्रिया जटिल र लामो हुन्छ। त्यसरी नै समाजवादबाट साम्यवादमा जानु पनि एक कठिन प्रक्रिया हो। पुरानो विचारधारा, संस्कृति, रीतिरिवाज, आनीबानी र विरासत पल्टाउने सर्वहाराको कार्यभार निकै कठिन र लामो हुन्छ। त्यस्तै, पृथ्वीका सबै देशहरूमा नभए पनि अधिकांश देशहरूमा समाजवाद नआइकन साम्यवाद स्थापना हुन सक्दैन। आज हाम्रो जमानामा विज्ञान प्रविधिको विकास, उत्पादनको तीव्रता, वित्तीय तथा सञ्चारको विश्वव्यापीकरणले साम्यवादलाई धेरै नजिक ल्याई दिएको छ।

पुँजीवादबाट समाजवाद र समाजवादबाट साम्यवादमा शान्तिपूर्ण ढंगले विचरण गर्न सम्भव हुँदैन भनेर हामीहरू सोच मग्न पनि छौं। तर शोषक र शोषित वर्गहरू बिचको वर्ग संघर्ष हाम्रो मनोगत इच्छाबाट बाहिर छ। अर्थात वर्गसंघर्ष अपरिहार्य छ। यसले अनिवार्यरुपमा सर्वहारा अधिनायकत्वको दिशामा लैजान्छ। सर्वहारा अधिनायकत्वले अन्ततः आफ्नै अन्त गर्न र वर्गविहीन साम्यवादको स्थापना गर्न सङ्क्रमणकालीन भूमिका निर्वाह गर्दछ। यसलाई मार्क्सले छोटो हुन्छ होला भन्ने सोच्नु भएको थियो। तर लेनिनले यो सङ्क्रमणकालीन सामाजिक राज्य व्यवस्था लामो हुने बताउनु भएको छ। हामीलाई यो कुरा असम्भव जस्तो पनि लाग्न सक्दछ तर यो एउटा वैज्ञानिक प्रक्रिया हो।

वैज्ञानिक समाजवादबाट साम्यवादमा पुगिने हुँदा वैज्ञानिक साम्यवादको सिद्धान्तबारे पनि जानी राखौं कमरेडहरू स् वैज्ञानिक साम्यवाद भन्नाले नयाँ साम्यवादी समाजको उद्भव र विकासका नियमहरू बारे पूर्णाङ्क ज्ञान प्राप्त गराउने विज्ञान भन्ने बुझिन्छ। यो व्यापकतम अर्थमा मजदुर वर्गको संघर्षमा रहेको समाजको आमूल परिवर्तनका लक्ष्यको अभिव्यक्त हो, पुँजीवादको अनिवार्य पतन र साम्यवादको विजयबारे सिंगो मार्क्सवादी लेनिनवादी सिद्धान्तको अर्थात दार्शनिक, आर्थिक र सामाजिक राजनीतिक सिद्धान्तहरूको प्रमाणीकरण हो। सिद्धान्तको एउटा सैद्धान्तिक पक्षमा केन्द्रित रहेर भन्ने हो भने मार्क्सवादको एउटा संघटक अंग हो। प्रगति प्रकाशन, मस्कोद्वारा प्रकाशित ‘वैज्ञानिक साम्यवादको शब्दकोश’अनुसार ‘मार्क्सवाद लेनिनवादका तीन वटा संघटक अंगहरु मध्येको एउटा हो, जसले मजदुर वर्गको ऐतिहासिक गन्तव्य र त्यसलाई हासिल गर्ने साधन र उपायहरूको सबभन्दा सिधा र मिल्दो सामाजिक राजनीतिक नियमहरू, ढाँचाहरू, बाटाहरू, रूपहरू, तथा विधिहरूको विज्ञान हो। यो सर्वहाराको वर्ग संघर्ष र समाजवादी क्रान्ति, समाजवाद र साम्यवादको निर्माण सम्बन्धी सामाजिक(राजनीतिक नियमहरू तथा सम्पूर्ण विश्व क्रान्तिकारी प्रक्रिया विषयक विज्ञान हो।

मार्क्सवाद लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्ग दर्शक सिद्धान्त हो। यसमा रहेको द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन( सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबीच एकरूपताको दृष्टिकोण जस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। तर, मार्क्सवाद कुनै जडसुत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त हो। त्यसैले यसको प्रयोग सिर्जनात्मक रूपले हुन्छ र हुनुपर्दछ। वर्तमान विश्वमा मार्क्सवादको जगमा टेकेर हामीले एकाइसौं शताब्दी अनुकूलको वैज्ञानिक समाजवादको निर्माण गर्नु विश्वभरिका क्रान्तिकारी कम्युनिष्टहरुको दायित्व हो।

Nabintech