४ बैशाख २०८१, मंगलवार
नेपालगन्जमा  फुटपाथ खाली गराउन सुरु


नेपालगन्ज /नेपालगन्ज उपमहानगरपालिकाले पनि फुटपाथ खाली गराउन सुरु गरेको छ ।
नगर प्रमुख प्रशान्त विष्टले फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साइकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किंग गर्ने कामलाई निरुत्साहित गर्न नियमित रुपमा अभियान सञ्चालन गरिने बताए । ट्राफिक प्रहरी प्रहरी प्रमुख हिमालय शाह र नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी नेतृत्वको टोलीले शनिबार वीपी चोकदेखि तरकारी मण्डीसम्मको फुटपाथ खाली गराएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका अगाडिको क्षेत्र, वीपी चोक, इदगाहरोड, त्रिभुवनचोक, त्रिभुवनचोक उत्तरतर्फको सदरलाइन, त्रिभुवन चोकको पूर्वलाइनहुँदै तरकारी मण्डीसम्मको सडकपेटी खाली गराइएको थियो । त्यस क्रममा बाटोमा जथाभावी पार्किंग गरिएका केही मोटरसाइकल र रिक्सा समेत नियन्त्रणमा लिइएको थियो । सडकपेटी अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने रणनीतिका साथ उपमहानगरपालिका अगाडि बढेको नगर प्रमुख विष्टको भनाइ छ । यस विषयमा व्यवसायी एवम् व्यापारीहरुसँग छलफल गरेर थप कार्ययोजना बनाउन आइतबार बिहान ११ बजे नेपालगञ्ज उद्योग बाणिज्य संघसँग बैठक बस्न लागेको उपमहानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह सडक अतिक्रममका संरचना हटाएर चर्चामा छन् । कोहलपुर नगरपालिकाले पनि सडक अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिसकेको छ ।

Nabintech