८ बैशाख २०८१, शनिबार
बलियो तालमेल हुन्छ : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने उनले उल्लेख गरे ।

शनिबार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौं ।’ स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर गठबन्धन थप मजबुद बनाइने प्रचण्डले बताए ।

लुम्बिनी प्रदेशका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले आगामी भदौ २० गतेसम्म माओवादी केन्द्रले स्थानीय पालिका, जिल्ला, प्रदेश र संघका उम्मेद्वारहरुको सिफारिस केन्द्रमा पठाउन आग्रह गरेका थिए । प्रचण्डले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको बताए ।

डा।बाबुराम भट्टराई, वामदेव गौतम लगायतका नेताहरुले माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न तयार हुनुले राम्रो संकेत गरेको प्रचण्डको भनाई थियो । एकीकृत समाजवादीसँग केही दिनमै चुनाव संयोजन समिति बनाएर अघि बढ्ने तयारी भएको पनि प्रचण्डले बताएको कार्यक्रममा सहभागी निर्मल जीसीले बताए ।

प्रचण्डको भनाई उदृत गर्दै माओवादी नेता हकिकुल्ला खांले आगामी प्रदेश र संघको निर्वाचनपछि माओवादी पार्टी थप मजबुद हुने र अन्य पार्टीसँग एकताको काम पनि शुरु हुने बताए । स्थानीय तहको निर्वाचनमा देखिएका कमी कमजोरीबाट शिक्षा लिएर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई प्रचण्डले आग्रह गरे ।

अध्यक्ष प्रचण्डले हाललाई एमालेसँग चुनावी एकता हुन नसक्ने उल्लेख गरे । पार्टी कार्यकर्ताबीच विवाद भए सोही तहमा मिलाउन र निर्देशन विपरित काम गरे पार्टीले कारवाही गर्न सक्ने चेतावनी पनि प्रचण्डले दिए । नेता निर्मल जीसीकाअनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतले बोलेका थिए । उनीहरुले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ताको उत्साहजनक उपस्थिति थियो ।

Nabintech