७ बैशाख २०८१, शुक्रबार
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको गृहकार्य  :चुनावमा एउटै घोषणापत्र


काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको गृहकार्य सुरु भएको छ । ललितपुरको हात्तिवनस्थित प्रचण्डको नातेदारको घरमा सोमबार भएको छलफलमा दुवै तर्फका नेताहरू एकताको औपचारिक प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् ।

छलफलमा सहभागी एक नेताका अनुसार, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेताहरु तयार भएका छन् । त्यसका लागि दुई वटा काम तत्काल अगाडि बढाउने निर्णय भएको छ ।

‘भोलि वा पर्सि नै एकता संयोजन समिति गठन हुन्छ र एकताको अवधारणापत्र तयार हुन्छ’, ती नेता भन्छन् । एकता संयोजन समितिमा दुवै दलबाट पाँचरपाँच जना रहनेछन् । त्यो समितिको नेतृत्व दुवै दलका अध्यक्षले गर्नेछन् ।

१ भदौमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल नै एकता संयोजन समितिमा बस्नुपर्ने सुझाव दिएका थिए । त्यसैअनुसार, माओवादी केन्द्रबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा संयोजन समिति बनाइनुपर्ने तर्क उनीहरुको थियो ।

चुनाव अगाडि एकता नगर्नेमा दुवै दल प्रष्ट भएकैले अलग–अलग घोषणापत्र मस्यौदा समिति गठन गरेका थिए । तर पार्टी एउटै बनाउने हो भने साझा घोषणापत्र लिएर चुनावमा जान उपयुक्त हुने नेताहरुले तर्क गरेका छन् ।
एकीकृत समाजवादीका उपमहासचिव डा।गंगालाल तुलाधर, पार्टी एकताका निम्ति तयार पारिने अवधारणापत्रमै एकतासम्बन्धी कार्ययोजना प्रष्ट पारिने बताउँछन् । ‘तत्काल अवधारणापत्र बन्छ, त्यसपछि अलग–अलग घोषणापत्र लैजाने कि संयुक्त बनाउने भन्नेबारे छलफल हुन्छ’, तुलाधर भन्छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि अलग–अलग दलको अस्तित्वमा रहेपनि राजनीतिक कोर्समा भने माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै कित्तामा उभिदै आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय चुनावमा तालमेल गरेका थिए ।

आगामी चुनावमा पनि कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनकै आधारमा भाग लिने निर्णय माओवादी केन्द्र र एकीकृत समाजवादीले गरिसकेका छन् । गएको २५ साउनमा एकीकृत समाजवादीले गठबन्धनको एक शक्ति बनेर चुनावमा भाग लिन घोषणापत्र मस्यौदा समिति गठन गरिसकेको छ । उपमहासचिवहरू प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर र डा।विजय पौडेल रहेको घोषणापत्र मस्यौदा समिति गठन भएको छ ।

माओवादी केन्द्रले पनि शनिबार (४ भदौमा) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । चुनाव अगाडि एकता नगर्नेमा दुवै दल प्रष्ट भएकैले अलग–अलग घोषणापत्र मस्यौदा समिति गठन गरेका थिए । तर पार्टी एउटै बनाउने हो भने साझा घोषणापत्र लिएर चुनावमा जान उपयुक्त हुने नेताहरुले तर्क गरेका छन् । त्यो भनेको ०७४ मा एमाले र माओवादी केन्द्रले अपनाएकै विधि हो, चुनावमा एउटै घोषणापत्र र साझा उम्मेदवारी दिने, लगत्तै पार्टी एकता गर्ने ।

‘पहिले पनि एमाले र माओवादी केन्द्रले साझा घोषणापत्र र पछि एकता गरेको हो, आज पनि एउटै घोषणापत्रमा जाने र पछि एकता गर्ने भन्नेबारे छलफल भयो’, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ भन्छन् । तर एउटै घोषणापत्र लिएर चुनावमा जानेबारे अन्तिम निर्णय हुन भने बाँकी छ । त्यसबारे निर्णय एकता संयोजन समितिले गर्ने भएको छ ।

साझा घोषणापत्र लिएर जानेबारे माओवादी केन्द्रमा समस्या छैन, तर एकीकृत समाजवादीभित्र भने एकमत छैन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम तालमेल र एकताको वकालत गर्दै आएका छन् । गएको ३० वैशाखको स्थानीय चुनावपछि खनालले कांग्रेस नेतृत्वको गठबन्धन उपयुक्त नहुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । पार्टी एकता गर्दा माओवादी केन्द्रसँग मात्रै नभएर नेकपा एमालेसहितको हुनुपर्ने उनको अडान छ ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार, अध्यक्ष नेपाल चाहिँ माओवादी केन्द्रसँग चुनाव अगाडि नै एकता गर्न तयार छन् । ‘उहाँ (माधव नेपाल) लाई यो पार्टी तत्काल ठूलो बनोस् र एमालेलाई रोक्न सकियोस् भन्ने मनोविज्ञान होला । सधैं ठूलो राजनीतिक शक्तिको नेतृत्व गरेकाले पनि त्यस्तो हुनसक्छ’, ती पदाधिकारी भन्छन् । तर पार्टीलाई एकताबद्ध राख्नुपर्ने दबाव भएकाले चुनावसम्म पर्खन अध्यक्ष नेपाल तयार देखिएको उनी बताउँछन् ।

तर पार्टी एकता संयोजन समिति बन्दा सिट बाँडफाँटमा लाभ हुने दलहरुले बुझेका छन् । किनकी सत्तारुढ गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको मापदण्डमा २०७९ को स्थानीय चुनावका २०७४ लाई पनि आधार मानिएको छ । र, अहिले दुबै दल एक ठाउँमा उभिनासाथ प्रतिनिधिसभाको अंकगणितमा कांग्रेसभन्दा ठूलो बन्ने छ ।

माओवादी केन्द्रसँग ४९ र एकीकृत समाजवादीसँग २३ सांसद छन् । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले माओवादी केन्द्रकै चिह्नबाट चुनाव लड्ने निर्णय गरिसकेका छन् । भट्टराईसँग दुई र गौतमसँग एक सांसद छन् । त्यो सबै जोड्दा ७५ हुन्छ । जबकी कांग्रेससँग ६० सांसद मात्र छन् ।

तर त्यस्तो अवस्थामा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा कुनै असर नपर्ने नेताहरु बताउँछन् । ‘गठबन्धनभित्रै एकताको प्रयास गर्दा के को अप्ठ्यारो पर्नु, बाहिर भए पो समस्या पर्ला कि भन्नु’, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ भन्छन् ।

एकीकृत समाजवादीका उपमहासचिव तुलाधर, बृहत र बलियो कम्युनिष्ट पार्टी निर्माणको लक्ष्य भएकाले तत्कालको लाभहानीतिर नलाग्ने बताउँछन् । ‘हाम्रो उद्देश्य बलियो र एउटै कम्युनिष्ट पार्टी निर्माण हो । कालान्तरमा त्यो लक्ष्य पूरा गर्ने गरी कार्यक्रम तय गर्नुपर्छ’ उनी भन्छन्, ‘तत्काल एकता गर्ने होइन । तर कालान्तरमा एउटै हुने हो ।’ नेकपा दुर्घटनामा परेपनि फेरि अँधुरो सपना पूरा गर्ने गरी एकता संयोजन समितिले काम गर्ने उनी बताउँछन् ।

Nabintech