८ बैशाख २०८१, शनिबार
प्रत्यक्षमा ८ सिट, समानुपातिकमा ९ लाख मत ल्याउने रेशमको हिसाब


स्थानीय निर्वाचनमा कैलालीका स्थानीय तहमा अप्रत्याशित नतिजा निकालेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) आसन्न आमनिर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने ध्येयमा छ । पार्टीका प्रमुख नेता रेशम चौधरी आगामी मङ्सिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी राष्ट्रियस्तरको दल बन्नेमा विश्वस्त देखिन्छन् ।

०७२ भदौमा भएको टीकापुर घटनामा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका चौधरीले आसन्न निर्वाचनमा नाउपाले प्रत्यक्षमा ८ सिट जित्ने हिसाब सुनाए । प्रतिनिधिसभातर्फ कैलाली–१, २, ३, कञ्चनपुर– १, २, बर्दिया– १, २ र दाङ– १ मा नाउपाले चुनाव जित्ने रेशमको दाबी छ । बिहीबार अपराह्न डिल्लीबजार कारागारमा पुगेको रातोपाटी टोलीलाई उनले आफ्नो तथ्यगत हिसाब–किताब देखाएर समानुपातिकमा नाउपाको करिब ९ लाख मत आउने दाबी गरे ।

यद्यपि ०७४ को आम निर्वाचन र ०७९ को स्थानीय चुनावको गणितले भने नाउपा कैलाली–१ मा मात्र अगाडि छ । चौधरीले आधार इलाका ठानेका जिल्लामा कैलाली, कञ्चनपुर, बर्दिया, दाङ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, महोत्तरी, सुनसरी, मोरङ लगायत छन् । उक्त जिल्लाबाट समानुपातिकमा नाउपाले अप्रत्याशित मत बटुल्ने रेशम बताउँछन् ।

पछिल्लो समय एक संस्थाले गरेको सर्वेक्षणमा पनि नाउपालाई राष्ट्रिय पार्टी बन्न ७५ हजार मतका लागि मेहनत गर्नुपर्ने उल्लेख छ । उक्त संस्थाले नाउपाले २ लाख ७५ हजार मत पाउने प्रक्षेपण गरेको छ । तर, रेशम भने नाउपाको माहोल तीव्ररुपमा विस्तार भएको भन्दै करिब ९ लाख समानुपातिक मत आउने दाबी गर्छन् ।

७ सिटमा गणित बिनाको हिसाब

०७४ को आम निर्वाचनपछि कैलाली–१ नाउपाको कब्जामा छ । ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा०का उम्मेदवार रेशम चौधरी अत्यधिक मतान्तरले सो क्षेत्रबाट निर्वाचित भएका थिए । भूमिगत रुपमा चुनाव लडेका रेशमले वाम गठबन्धन र कांग्रेसको किल्लामा धावा बोलेका थिए । प्रतिस्पर्धीको भन्दा दोब्बर मतान्तरले उनी विजयी भए ।

चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा वाम गठबन्धनबाट एमाले उम्मेदवार मदन कुमारी शाहीले १३ हजार ४०६ मात्र पाएकी थिइन् । यस्तै कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने ११ हजार २०३ मतमा सीमित भएकी थिइन् । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कैलाली–१ मा पर्ने सबै पालिका नाउपाले जित हात पारेको छ । यहाँ नाउपाका वडा अध्यक्षका उम्मेदवारले १७ हजार १९३ मत प्राप्त गरेका थिए । यस्तै कांग्रेसले ११ हजार ६७८, एमालेले १० हजार ३२२, माओवादीले ६ हजार ९३० मत पाएका छन् । यस्तै राप्रपाले ३ हजार ५६१, जसपाले २३ सय २ र एसले २ हजार २३२ मत ल्याएको छ । यहाँ सत्ता गठबन्धनसँग २३ हजार १४२ मत छ ।

नाउपाभन्दा गठबन्धन ५ हजार ९४९ मतले अगाडि छ । यहाँबाट नाउपा अध्यक्ष रंजिता श्रेष्ठ चुनाव लड्ने तयारीमा छिन् । रंजिताका लागि कैलाली– १ को विकल्प नभएको रेशमले रातोपाटीलाई बताए ।

०७४ मा कैलाली–२ बाट वाम गठबन्धका झपट रावल निर्वाचित भएका थिए । उनले २५ हजार १७५ मत ल्याउँदा कांग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत पाएका थिए । यस्तै, तत्कालीन राजपाका उम्मेदवार रामप्रसाद चौधरीले ५ हजार ९६७ मत पाएका थिए ।

यहाँ स्थानीय निर्वाचनमा १७ हजार ८३४ मत ल्याएर एमाले पहिलो शक्ति बनेको छ । यस्तै कांग्रेसको १३ हजार ८२०, माओवादी ८ हजार ७२४ मत छ भने नाउपाले ५ हजार २४३ मत ल्याएर तेस्रो स्थानमा रहँदा राप्रपाको २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीको २ हजार ३०६ मत छ ।

 

यहाँ पाँच दलीय गठबन्धनको मत २४ हजार ८५० छ । तर नाउपाले कैलाली–२ मा पनि चुनाव जित्ने निश्चित जस्तै रहेको रेशमको भनाइ छ । एमाले कैलालीका निवर्तमान अध्यक्ष रतन थापा र कांग्रेस नेता राठौर नाउपामा प्रवेश गर्ने तयारीपछि चुनाव जित्नेमा रेमश विश्वस्त देखिन्छन् । गत स्थानीय निर्वाचनमा अन्तरघात गरेको आरोपमा एमालेले जिल्ला अध्यक्ष थापालाई कारबाही गरेको थियो भने कांग्रेसबाट टिकट नपाउने निश्चित भएपछि राठौर पनि नाउपातिर ढल्किएका छन् । नाउपाको पार्टी सदस्यता लिइसकेका थापा यही भदौ ८ वा ११ गते औपचारिक रुपमा सो पार्टीमा प्रवेश गर्ने बुझिएको छ । यसअघि पनि कांग्रेसबाट अरुण चौधरी, प्रदीप चौधरी लगायतका नेताहरू नाउपामा प्रवेश गरेका थिए ।

कैलाली–२ बाट अरुण उम्मेदवार बन्ने तयारीमा छन् । तर राठौर नाउपा प्रवेश गरेको अवस्थामा अरुण चौधरीले प्रतिनिधिसभामा टिकट पाउने सम्भावना न्युन छ । त्यस्तो अवस्था प्रतिनिधिसभामा राठौरलाई टिकट दिएर नाउपाले प्रदेशमा रतन थापा र अरुण चौधरीलाई उम्मेदवार बनाउने सम्भावना छ ।

कांग्रेस र एमालेका प्रभावशाली नेता नाउपामा छिर्ने भएपछि कैलाली–२ त्रिपक्षीय भिडन्त हुने परिस्थिति बन्दै गएको छ । ०७४ मा कैलाली–३ वाम गठबन्धनबाट माओवादीका उम्मेदवार गौरिशंकर चौधरी निर्वाचित भएका थिए । उनले २४ हजार ८७८ मत ल्याउँदा कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । यहाँ तत्कालीन राजपाकी मिना चौधरीले ४ हजार ४४ मत ल्याएकी थिइन् ।

गत स्थानीय निर्वाचनमा यहाँ १९ हजार ९९२ मत ल्याएर कांग्रेस पहिलो दल बनेको छ । यस्तै, माओवादीको ११ हजार ७१६, एमालेको ११ हजार २५७ राप्रपाको ६ हजार ६९९ मत छ । नाउपाले ५ हजार २४७, जसपाले २ हजार ८५९, एकीकृत समाजवादीले १ हजार ९७८ मत पाएका छन् ।

कैलाली– ३ मा गठबन्धनसँग ३६ हजार ५५४ मत छ तर ५ हजारमात्र मत भएको नाउपाले थारु समुदायको बाहुल्यता भएको सो क्षेत्रमा चुनाव जित्ने दाबी गरेको छ ।

नाउपाले कञ्चनपुरमा पनि चुनाव जित्ने लक्ष्य राखेको छ । थारुहरुको बाहुल्यता भएको कञ्चनपुर–१ मा चुनाव जित्ने हिसाब रेशमको छ । ०७४ मा यहाँ वाम गठबन्धनबाट माओवादीकी विना मगर निर्वाचित भएकी थिइन् । उनले ३८ हजार ४६७ मत पाउँदा कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत पाएका थिए ।

स्थानीय निर्वाचनमा यहाँ एमालेले १८ हजार ७७३, कांग्रेसले १८ हजार ७३२, माओवादीले १५ हजार २८९, एकीकृत समाजवादीले ३ हजार ५२१ र राप्रपाले २ हजार ६९२ मत पाएका थिए । यहाँ गठबन्धनसँग ३७ हजार ५३८ मत छ ।

कञ्चनपुर–१ मा कांग्रेस र एमालेका केही प्रभावशाली नेताहरुको सहयोगमा नाउपाले चुनाव जित्नेमा रेशम विश्वस्त छन् । गठबन्धनभित्रको असन्तुष्टि र एमालेको थारु मतमा खेलेर चुनाव जित्ने नाउपाको दाउ छ ।

 

यता कञ्चनपुर–२ मा पनि नाउपाले चुनाव जित्ने रणनीति बनाएको छ । ०७४ मा सो क्षेत्रमा वाम गठबन्धनबाट एमालेका नरबहादुर धामी निर्वाचित भएका थिए । उनले ३३ हजार २२० मत पाउँदा कांग्रेसका एनपी साउदले २४ हजार ८९३ मत पाएका थिए ।

यहाँ स्थानीय निर्वाचनमा २२ हजार ३७९ मत प्राप्त गरी कांग्रेस पहिलो भएको छ । यस्तै एमालेको १८ हजार ८२८, माओवादीको १२ हजार ५७२, नेकपा एकीकृत समाजवादीको ४ हजार १६१ र राप्रपाको ३ हजार ९५३ मत छ ।

कञ्चनपुर–२ का स्थानीय तहमा नाउपाले उम्मेदवार उठाएको थिएन । थारुहरुको निर्णायक मत रहेको कञ्चनपुर–२ मा पछिल्लो समय माहोल बन्दै गएको नाउपाका नेताहरुको दाबी छ ।

नाउपा आगामी निर्वाचनमा बर्दियामा पनि ‘इन्ट्री’ मार्ने तयारीमा छ । नाउपाका मुख्य नेता रेशम जेलबाटै बर्दिया–२ मा उम्मेदवार बन्ने चर्चा छ । यद्यपि जन्मकैद सजाय भोगिरहेका रेशमले चुनाव लड्न पाउने–नपाउने टुङ्गो छैन ।

०७४ मा बर्दिया–२ मा वाम गठबन्धनबाट माओवादीका सन्त कुमार थारु निर्वाचित भएका थिए । उनले ५० हजार ५५५ मत पाएका थिए भने कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत ल्याएका थिए । यो क्षेत्र अन्तर्गतको पालिकामा गत स्थानीय निर्वाचनमा भने ३८ हजार ३५२ मत प्राप्त गरी कांग्रेस पहिलो बनेको छ । यस्तै माओवादीले ३० हजार ७९८, एमालेले २३ हजार ३२०, राप्रपाले १५ सय २, एकीकृत समाजवादीले ७२८ र जसपाले २३४ मत पाएको छ । यहाँ गठबन्धनको भारी मत छ ।

यता बर्दिया–१ मा पनि चुनाव जित्ने रेशमको दाबी छ । यहाँ ०७४ को निर्वाचनमा कांग्रेसका सञ्जय गौतमले वाम गठबन्धनका उम्मेदवार बामदेव गौतमलाई पराजित गरेका थिए । सञ्जयले ४४ हजार ८२९ मत ल्याउँदा बामदेवले ४४ हजार ७६ मत पाएका थिए ।

स्थानीय निर्वाचनमा यो क्षेत्र अन्तर्गतको पालिकामा एमालेको ३६ हजार ८१२, कांग्रेसको ३४ हजार ६२२, माओवादी २४ हजार ३४१, राप्रपाको ३ हजार १९०, जसपा २ हजार २३७, एकीकृत समाजवादीको १ हजार ६५२, लोसपाको १५६ मत आएको थियो ।

बर्दियामा जनमत पार्टीको ३ हजार ४८२ र नाउपाको २ हजार १०२ मत मात्र छ । ५ हजार ५८४ मतको आधारमा बर्दियाका दुवै क्षेत्रमा नाउपाले चुनाव जित्ने रेशमको दाबी अस्वाभाविक देखिन्छ । तर उनी दाङ–१ मा पनि चुनाव जित्ने दाबी गर्छन् । ०७४ मा सो क्षेत्रमा वाम गठबन्धनबाट एमालेका मेटमणि चौधरी विजयी भएका थिए । उनले ३७ हजार ९०८ मत पाउँदा कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन् । त्यो बेला यहाँ राष्ट्रिय जनमोर्चाले ३ हजार ७८४ मत पाएको थियो । स्थानीय निर्वाचनमा दाङ–१ मा कांग्रेस २९ हजार ७५७ मत ल्याएर पहिलो बनेको छ ।

यस्तै एमाले २७ हजार २५, माओवादीले १९ हजार २७६, राप्रपाले २ हजार ३५०, एकीकृत समाजवादीले २ हजार ३४१ र जसपाले ८०७ मत ल्याएको छ । यहाँ नाउपाले स्थानीय निर्वाचनमा उम्मेदवार उठाएको थिएन । यहाँ सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरीले टिकट पाउँदा आफू जित्न सक्ने नाउपाको बुझाइ छ । उसले कांग्रेस र थारु समूदायभित्र खेलेर चुनाव जित्ने रणनीति बनाएको छ ।

नाउपाले दाङ–१ मा कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीका बुबालाई उम्मेदवार बनाउने तयारी गरेको छ । गठबन्धनबाट कांग्रेसका योगेन्द्रले टिकट नपाउँदा उनका बुबालाई नाउपाले टिकट दिँदा चुनाव जित्न सकिने रेशमको विश्लेषण छ ।

पछिल्लो समय कांग्रेससँग असन्तुष्ट पार्वती डिसी चौधरीसँग पनि नाउपाले सम्पर्क बढाएको छ । उनलाई समानुपातिकमा राखेर पार्टीमा भित्र्याउने नाउपाको रणनीति छ । यद्यपि पार्वतीसँग यस विषयमा ठोस कुराकानी भइनसकेको नाउपा स्रोत बनाउँछ ।

रेशमले रातोपाटीसँग भने, ‘अहिले हामीले अधिकारको मुद्दा उठाएर चुनाव जित्ने हो । हामी सिधा सिधै प्रत्यक्षतर्फ ८ सिट जित्छौं ।’

तीन दलीय गठबन्धनको तयारी

सांगठनिक शक्ति बढाउन लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच चुनावी तालमेलको तयारी छ । रेशमका अनुसार महन्थ ठाकुर नेतृत्वको लोसपा, सीके राउत नेतृत्वको जनमत पार्टी नाउपासँग तालमेल गरेर जान सहमत छन् ।

तीन पार्टीले एक–अर्काको जनाधार भएको क्षेत्रमा उम्मेदवारी नदिने सहमति भएको उनको भनाइ छ । लोसपा आफू ६० प्रतिशत राखेर जनमत र नाउपालाई २०–२० प्रतिशत दिन तयार छ । तर जनमत र नाउपाले लोसपाको प्रस्ताव स्वीकार नगरेको बुझिएको छ ।

नाउपाले भने लोसपा र आफूले ४०–४० प्रतिशत भाग पाउनुपर्ने अडान लिएको छ । यता जनमतले तीन पार्टीलाई बराबर हैसियतमा भागबण्डा मिलाउन भनेपछि देशव्यापी तालमेलको सहमति भने जुटिसकेको छैन । रेशमका अनुसार कैलाली र कञ्चनपुरमा तालमेलका लागि एमाले पनि सम्पर्कमा आएको थियो ।

रेशमले कैलाली र कञ्चनपुर गरी एमालेलाई तीन सिटमात्र छोड्न सकिने प्रस्ताव राखेका थिए । एमालेले कैलाली १ र ३ तथा कञ्चनपुर १ मा नाउपालाई दिन तयार रहेको बताएको थियो । तर कुरा नमिलेपछि थप छलफल अगाडि नबढेको बुझिएको छ ।

Nabintech