१२ बैशाख २०८१, बुधबार
‘हर्क साम्पाङलाई ’ लाई प्रचण्डको बधाई


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई खादा र अविर लगाएर बधाइ दिनुभएको छ ।
साम्पाङ काठमाडौं भ्रमणको सिलसिलामा रहेको बेला प्रचण्डले आफ्नै कार्यालयमा बधाई दिनुभएको हो । गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका जनप्रतिनिधिलाई प्रचण्डले ‘गणतन्त्रको फूलबारीमा फूलेका फूल’को संज्ञा दिंदै आउनुभएको छ ।

मेयर जितेपछि खानेपानी, सरसफाई, बृक्षारोपणलगायतका काममा सहभागी हुँदै आएको साम्पाङ केही दिन काठमाडौं भ्रमणमा रहनुभएको छ । केही दिनअघि माओवादी केन्द्रले नेता सुदन किराँतीको नेतृत्वमा एक टोली पठाएर साम्पाङको श्रम अभियानमा एक्येबद्धता जनाएको थियो । सो क्रममा उहाँले अध्यक्ष प्रचण्डलाई श्रम अभियानमा आउन निम्तो दिनुभएको थियो ।

काठमाडौंको भेटमा प्रचण्डले निम्तो आफूले स्वीकार गरेको भए पनि समय अभावका कारण आउन नपाएकाले आफूले नै बोलाएर बधाइ दिएको बताउनुभयो । साम्पाङका हरेक गतिबिधि आफूले हेरिरहेको र वास्तविक जनप्रतिनिधिको मोडल प्रस्तुत गरेको भन्दै प्रचण्डले बधाई दिनुभयो ।

‘हामीले खोजेको साँच्चिकै जनप्रतिनिधि तपाइँजस्तै जनतामा रहेर जनताको अगुवाइ गरेर जनताको काम गर्ने हो’– प्रचण्डले साम्पाङलाई भन्नुभयो– ‘हाम्रै पार्टीका र अन्य पार्टीका जनप्रतिनिधिले समेत तपाइँबाट सिक्नेछन्, तपाइँलाई फेरि पनि बधाई छ ।’

Nabintech