७ बैशाख २०८१, शुक्रबार
रोपाइँ हुन नसकेपछि बाँकेको नरैनापुर सुख्खा क्षेत्र घोषणा


बाँकेको नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ ।

प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य थिए । तर यसपालि पानी नपरेकाले उनीहरूले धान रोपाइँ गर्न पाएका छैनन भने बैकल्पिक उपायमार्फत लगाएको धानवाली समेत नष्ट भइसकेको छ ।

बढदो गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरेपछि कृषियोग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार मच्चिएको छ । यो वर्ष पानीको अभावमा समस्या भएपछि बिहीबार बैठक बसेर पालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए ।

सिंचाइका लागि डिप बोरिग लगायत अन्य वैकल्पिक व्यवस्था, सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराइ विद्युत महसुल निःशुल्क गर्ने बारेमा पनि बैठकमा छलफल भएको नरैनापुर ४ का वडा अध्यक्ष मनोज शर्माले बताए ।

किसानका लागि बिशेष राहतको प्याकेज ल्याउन प्रदेश र संघीय सरकारसँग गाउँपालिकाले आग्रह पनि गरेको छ ।

Nabintech