१४ बैशाख २०८१, शुक्रबार
महंगियो एम्बुलेन्स भाडा


बाँकेमा ९ बर्षपछि एम्बुलेन्सको भाडादर वृद्धि भएको छ । विगतमा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढेपनि एम्बुलेन्सको भाडादर भने वृद्धि भएको थिएन ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेलले बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षमा साउन १३ गते भएको बैठकले एम्बुलेन्सको भाडा दर वृद्धि गरेको जानकारी दिएकी छन् । बाँकेमा २०७० सालदेखि एम्बुलेन्सको भाडा पुनरावलोकन भएको थिएन ।

स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठले नयाँ भाडादर भाद्र १ गतेदेखि मात्रै लागु हुने जानकारी दिएका छन् । उनले जिल्ला भित्र र जिल्ला बाहिर एम्बुलेन्सको प्रयोगमा नयाँ भाडा दर कायम गरिएको जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार, एम्बुलेन्सको प्रतिकिमी भाडा दर ३५.७ रुपैयाँ कायम गरिएको छ । यसअघि उक्त दर २८.५६ रुपिया थियो । स्थानीय ७ किलोमिटर सम्मका लागि यसअघि ५ सय रुपैयाँ रहेकोमा हाल पनि ५ सय नै भाडादर कायम गरिएको छ ।

सुर्खेत, लमही, दाङ्ग सम्मको ६ हजार भाडा दर कायम गरिएको छ । घोराही दाङ्गसम्मको ७ हजार ५ सय, तुलसीपुर दाङ्गसम्मको ६ हजार, बुटवलको १३ हजार, चिवतनको १८ हजार, काठमाडौंको २६ हजार, धनगढीको ७ हजार ५ सय भाडादर कायम गरिएको छ ।

बाँकेबाट भारतीय सहरमा समेत उपचारका लागि बिरामीलाई एम्बुलेन्समा लग्ने गरिएको छ । त्यसका लागि लखनउसम्मको १० हजार, लखनउ पिजिआइसम्मको १० हजार ५ सय, दिल्लीको ३४ हजार, बर्दिया गुलरियाको ३ हजार र बर्दिया राजापुरको ४ हजार भाडादर कायम गरिएको छ ।

Nabintech