१२ बैशाख २०८१, बुधबार
एमालेकै शीर्ष नेता चुनाव लड्न अनिच्छुक


नेकपा एमालेको ‘हाई कमाण्ड’ मानिएको केन्द्रीय सचिवालयमा रहेका १९ जना शीर्ष नेतामध्ये केही नेताले मंसिरमा हुने निर्वाचनमा चुनावी प्रतिस्पर्धा गर्न अनिच्छा प्रकट गरेका छन् । खर्चिलो चुनाव, पार्टीभित्र मौलाएको घात–अन्तरघात र गुटगत प्रतिस्पर्धाका कारण चुनाव जित्न सकस हुने देखिएपछि उनीहरुले अनिच्छा देखाएका हुन् । यसरी चुनावी प्रतिस्पर्धा गर्न अनिच्छा जनाउने शीर्ष नेताहरुमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’ तथा उपमहासचिव विष्णु रिमाल छन् ।

ज्ञवाली गत २०७४ को निर्वाचनमा पनि चुनाव लड्नबाट पछि हटेका थिए । त्यसबेला पार्टीले चुनाव लड्न सुझाव दिएपनि निर्वाचन महँगो हुनेभन्दै पछि हटेका ज्ञवालीले यो पटक पनि आफूलाई चुनाव लड्ने इच्छा नरहेको बताएका छन् ।

‘मलाई चुनाव लड्ने कुनै इच्छा छैन । चुनाव जितेर पदमा पुग्ने भन्दा पनि पार्टी र संगठन राम्रो बनाउनुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ’, ज्ञवालीले रातोपाटीसँग भने, ‘त्यसैले मैले अहिले नै उठ्छु उठ्दिनँ भन्न त मिल्दैन तर मलाई आकर्षण छैन ।’ विगतमा ज्ञवाली दाङ(३ बाट निर्वाचन लड्ने गरेका थिए ।

त्यस्तै अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अघिल्लो निर्वाचनमा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएपनि यो पटक प्रदेश र संघ कतैपनि निर्वाचन नलड्ने मनस्थितिमा छिन् । उनले पनि खर्चिलो निर्वाचन प्रणालीबाट त्रसित भएको भन्दै चुनाव लड्न इच्छा नभएको निकटहरुसँग बताउने गरेकी छन् ।

उनी निकट नेताहरुका अनुसार प्रदेश सभामा नदोहोरिने र संघमा जित्ने निश्चित नभएकाले अनिच्छा देखाएकी हुन् । ‘जित्नलाई निकै पैसा खर्च गर्नुपर्ने हुन्छ । अहिलेको निर्वाचन खर्चिलो छ । कहाँबाट पैसा ल्याउने रु’ आफू निकटका नेताहरुलाई शाक्यले भन्ने गरेकी छन् ।

२०७४ सालको निर्वाचनमा उनी काठमाडौं ८ को प्रदेशसभा ‘ख’बाट निर्वाचित भएकी थिइन् । त्यसबेला शाक्यले ५ हजार १६९ मत ल्याउँदै काँग्रेसका देवरत्न डंगोललाई पराजित गरेकी थिइन् ।
नेकपा विभाजनपछि माओवादीबाट एमाले प्रवेश गरेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि प्रत्यक्ष निर्वाचन नलड्ने सोचमा पुगेको उनी निकटका नेताहरु बताउँछन् । नेता बादल यसअघि माओवादी कोटामा राष्ट्रिय सभा सदस्य भएपनि उनको कार्यकाल सकिएको छ । गृहजिल्ला चितवन रहेका थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र ९३०एउटै पर्छ ।

चितवन ३ बाट २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित प्रचण्डले यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सो क्षेत्रमा यो पटक प्रचण्डले काँग्रेस, नेकपा समाजवादीसहितको साथ पाउने निश्चित छ । यस्तोमा बादल प्रचण्डसँग निर्वाचन लड्न नसकिने र त्यो बाहेक अन्त उनका लागि निर्वाचन क्षेत्र समेत नभएकाले समानुपातिकतिरै बस्ने निकटकाहरुलाई बताउने गरेका छन् । यद्यपी बादलको मतदाता नामावलीमा नाम चितवन १ मा भएकाले त्यहाँ चुनाव लड्न कतिपयले सुझाव दिएपनि उनले त्यहाँसमेत अनिच्छा देखाउने गरेका छन् ।

ज्ञवाली, शाक्य र थापापछिका प्रत्यक्ष निर्वाचन लड्न अनिच्छा प्रकट गर्नेमध्येका एमालेका अर्का नेता हुन् विष्णु रिमाल । उपमहासचिव रहेका रिमालको स्थायी घर नुवाकोट हो । नुवाकोटको चुनावी मैदानमा उनी खासै भिजेका भने छैनन् । त्यसकारण पनि उनले चुनाव लड्न अनिच्छा प्रकट गरेको एमाले वृत्तमा चर्चा छ । रिमाल स्वयंले भने यसबारे मुख खोलेका छैनन् ।

‘उहाँ अहिलेसम्म चुनाव लड्नुभएको छैन । यस पटक पनि इच्छा देखाएको बुझिँदैन । बरु राष्ट्रिय सभातिर जाने उहाँको सोच बुझिन्छ’, एमालेका एक केन्द्रीय सदस्यले भने, ‘अहिलेसम्म चुनाव नलडेपनि पार्टीको उपमहासचिव हुनुभएको छ त्यसैमा सन्तुष्ट हुनुहुन्छ ।’ रिमाल ओलीका खास विस्वासपात्रमध्येका एक मानिन्छन् ।

रातोपाटी बाट साभार

Nabintech