१६ चैत्र २०८०, शुक्रबार
नेपाल बैंकका गुलरिया शाखा प्रबन्धक सम्पर्कविहीन, रकम अपचलन गरेको आरोप


बर्दिया — नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक धवेन्द्र न्यौपाने एक सातादेखि सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी सूर्य सुवेदीका अनुसार बैंक प्रबन्धक न्यौपाने मोटो रकम लिई सम्पर्कविहीन भएको उजुरी साउन १४ गते परेको थियो ।

सो बैंकका नेपालगन्जस्थित सिटी अफिसका अधिकृत रुपेशकुमार श्रीवास्तवले न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । डीएसपी सुवेदीले विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेको उजुरी परेकाले उनको खोजी भइरहेको जानकारी दिए ।

न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालीकोट तिलगुफा नगरपालिका ५ का ३२ वर्षिय न्यौपाने हाल बाँके जानकी गाउँपालिका ३, कोरिएनपुर बस्दै आएका छन् । बैंक प्रबन्धक न्यौपाने सम्पर्कविहीन भएपछि श्रीमतीले पनि खोजतलाशका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी छिन् ।

बैंकका रकम हिनामिना भएको जानकारी पाएपछि ग्राहकहरु आफूले जम्मा गरेको रकम खोजीका लागि धाउन थालेका छन् । बैंकको रकम हिनामिना बारे जानकारी लिन खोज्दा नेपालगन्ज सिटी अफिसका प्रबन्धक श्रीवास्तवले न्यौपाने सम्पर्कविहीन भएको बताए पनि थप जानकारी दिन चाहेनन् ।

Nabintech