१२ बैशाख २०८१, बुधबार
सहोदर दाई भाउजुको योजनामा भाई बुहारीको हत्या


बाँकेको कोहलपुर १४ पार्वतीपुरमा आज विहान मृत भेटिएका दम्पतीको सहोदर दाई भाउजुको योजनामा हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको मृतक कृष्णका दाई–भाउजुले मान्छे लगाएर हत्या गरेको खुलेको हो ।

कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको इलाका प्रहरी कार्यालय कोहलपुरले आज अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उनीहरुको हत्या गर्न भारतबाट ५०र५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र उनीहरुले नै मध्यराती दाई बिजयको उपस्थितीमा हत्या गरेको प्रहरीले दाबी गरेको छ । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको र हत्याको समयमा बिजय स्वयँ उपस्थित रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । कृष्ण दप्पत्तीको शव फेला पर्दा मृतकका दाजु र भाउजु सोही घरको छतमा सुतेको बताईएको थियो ।

आज बिहान कृष्णको दायाँ नाडीको नशा काटिएको र अञ्जलीको घाँटीमा डोरीले बेरेर मृत्यु भएको अवस्थामा शब फेला परेको थियो । भाई बुहारी अन्जलीले बाबुसँग मिलेर आफुलाई हेला गर्ने गरेकाले हत्याको योजना बनाएको बिजयले प्रहरी समक्ष बयान दिएको डीएसपी न्यौपानेले बताए । घटना लगत्तै प्रहरीले मृतकका सहोदर दाई विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो ।

Nabintech