१३ बैशाख २०८१, बिहीबार
कांग्रेस निकट थारुले बनाए संघर्ष समिति ,नेतृत्वले थारु समुदायलाई उपेक्षा गरेको गुनासो


नेपाली कांग्रेसमा आवद्ध थारु अगुवाले संघर्ष समिति बनाएका छन् । आफ्ना हक, अधिकारका पक्ष लड्न संघर्ष समिति बनाएका हुन् । संघर्ष समितिको जिल्ला संयोजकको जिम्मा कांग्रेस नेता महेन्द्र थारुलाई दिइएको छ । यस्तै बैजनाथ गाउँपालिकाको संयोजकमा पवनकुमार चौधरी, कोहलपुरको संयोजक रामबहादुर थारु र सह संयोजक दिलकुमारी थारुलाई तोकिएको छ ।

राप्ती सोनारी गाउँपालिकाको संयोजक भने आइतबार गठन गरिने भएको छ । कोहलपुरमा शनिबार आयोजित एक भेलाले संघर्ष समिति गठन गरेको हो । सो क्रममा कांग्रेसका निर्वतमान जिल्ला उपसभापति एवम् महासमिति सदस्य फुलाराम थारु, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, जिल्ला समन्वय समितिका पुर्व सदस्य गुट्टु थारु, थारु अगुवा सुरेश चौधरी, वडाअध्यक्ष श्रीकृष्ण थारु र दीपेन्द्र चौधरी लगायत करिव ८० जनाको सहभागिता रहेको थियो ।

उक्त भेलामा कांग्रेसका क्षेत्रीय प्रतिनिधी तथा क्रियाशिल सदस्यहरु पनि उपस्थित भएका थिए । भेलामा बोल्ने अधिकांसले पछिल्लो समयमा पार्टी नेतृत्वले थारु समुदायलाई उपेक्षा गरेको गुनासो गरेका थिए ।

Nabintech