२८ श्रावण २०७९, शनिबार
नेपाली युवामा स्पार्टाकशको खोजी


समकालीन नेपाली समाजको मौलिक चरित्रका बारेमा विवेचना गर्नुपर्दा यहाँको शासन प्रणाली, यसको विकासक्रम, समय–समयका विद्रोह र संघर्षहरुलाई पनि सम्झिनुपर्ने हुन्छ । यसको प्रारम्भ कम्तीमा राजा पृथ्वीनारायण शाहबाट गर्नुपर्ने हुन्छ । त्यसयताका दर्जनौं संघर्ष र विद्रोह केलाउनु पर्ने हुन्छ । यस सन्दर्भमा विद्रोहका आयामहरुमध्ये एकाध दृष्टान्त उल्लेख गर्नु उपयुक्त हुनेछ ।

सायद विद्रोहका प्रकारहरु हुन्छन्– हाकाहाँक्की गरिने र बिनम्रतापूर्वक गरिने विद्रोह । खुलेआम विद्रोहका पनि प्रकार हुन्छन्– देशका निम्ति र वैयक्तिक स्वार्थका निम्ति । खुलेआम विद्रोह हिंसात्मक पनि हुनसक्छ । विनम्र विद्रोह भने शान्तिपूर्ण हुन्छ ।

नेपालको सन्दर्भमा लखन थापा, कृष्णप्रसाद कोइराला, कृष्णलाल अधिकारी, चार शहिद ९दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री०, टंकप्रसाद आचार्य, रामहरि शर्मा, बीपी कोइराला, सुवर्ण समशेर राणा, गणेशमान सिंह, राजा त्रिभुवन लगायतले गरेको विद्रोहको चर्चा गर्नुपर्ने हुन्छ भने माहात्मा गान्धीको सत्याग्रह र प्राचीन रोमको दास विद्रोह विश्व विख्यात विद्रोह हुन् ।

यहाँ प्राचीन रोमको दास विद्रोहको चर्चा गरौं, जसले रोमन साम्राज्यको पतन र नयाँ इतिहासको रेखांकन गर्यो । रोमन साम्राज्यमा शासक, धनी व्यापारी, ठेकेदार, धर्माधिकारी लगायत कुलिनमा पर्दथे । उनीहरुले दास प्रथालाई निर्वाध रुपमा अघि बढाएका थिए । त्यो दास प्रथाभित्रको एउटा शक्तिशाली विद्रोही पात्र हो स्पार्टाकश ।

युनानी लेखक प्लुटार्कका अनुसार जन्मको ठेगान नभएको स्पार्टाकश उत्कृष्ट लडाकु भएकाले रोमन सेनामा सम्बद्ध थियो । उसले रोमन साम्राज्यको पक्षमा धेरै लडाइँ लड्यो । यसै दौरान उसलाई समुद्री डाँकुसँगको सम्बन्धको आरोप लगाएर बन्दी बनाइयो । त्यहाँबाट भाग्न सफल भएपनि अन्ततः पक्राउ पर्यो र दास बनाइयो ।

खतरनाक योद्दा भएकाले उसलाई दासकै रुपमा ग्लेडियटोरियल स्कुलमा दाखिला गरियो र रोमन शासकहरुद्वारा हदैसम्म सताइयो । अन्ततः पुनः विद्रोह गर्यो र तेस्रो दास विद्रोहका दौरान सेनाद्वारा मारियो । ईशापूर्व १०९–७१ को तिलस्मीझैं लाग्ने त्रासदीपूर्ण यथार्थ कथा हो यो ।

स्पार्टाकश तत्कालीन रोमन शासकहरुलाई घृणा गर्दथ्यो । उनीहरुले मानवमाथि अक्षम्य अपराध गरेका थिए, जसलाई उसले कहिल्यै स्विकार गरेन । मान्छेलाई दास बनाई ग्लाडिएटरको रुपमा लडाउने र उनीहरुको मृत्युमा अट्टहास गर्ने तत्कालीन कुलिनहरु पापी र अपराधी थिए । स्पार्टाकशले मृत्युको खेललाई मनोरञ्जन ठान्ने कुलिन रोमनहरुको आधिपत्य विरुद्ध विद्रोह गरेका ४० हजार दास योद्दाको सेनापतिको रुपमा शहादत प्राप्त गर्यो । यसलाई मानव जातिको इतिहासमैं भयानक विद्रोह मानिन्छ । त्यही घटना रोमन साम्राज्यको पतनको कारण बन्यो ।

यहाँ उठाउन खोजिएको कुरा समाजमा विद्रोह किन हुन्छ भन्ने हो । नेपालमा पनि यस्ता विद्रोह भएकै छन् । आधारभूत चारित्रिक हिसाबले नेपाली समाज अझैसम्म निरंकुश नै छ र विद्रोहको संभावना जीवितै छ । यहाँको कुलिन पक्ष र सत्ताका स्वार्थहरु एकै छन् ।

हामीले जतिसुकै लोकतन्त्रको कुरा गरेपनि त्यसले आम जनताको जीवनमा परिवर्तन ल्याएको छैन । सिमान्तमा रहेको गरीब नेपालीको जीवन कारुणिक छ । यसमा कसैलाई चासो छैन । सबैको चासो सत्ताको गजुरमा मात्र छ । लगभग नेपालको लोकतन्त्र कुलिनतन्त्रमा परिणत भैसकेको छ । यस सन्दर्भमा एउटा प्रसंग जोड्नु उपयुक्त हुनेछ ।

सन् १९११ मा इटालीका बिचारक रिचर्ड मिसेलले तयार गरेको थेसिस ‘आइरन ल अफ ओलिगार्की’ हाम्रो हकमा समेत लागू हुन्छ । उनी लेख्छन्– कुनै पनि संस्था या दलको स्थापनाकाल या पृष्ठभूमि जतिसुकै लोकतान्त्रिक भए पनि कालान्तरमा त्यो कुलिनतन्त्रमा परिणत हुन्छ, जहाँ पैसा र नाता बाहेक अरु कुनै चिजको महत्व रहने छैन ।

अहिले हाम्रो समाज ठ्याक्कै यही ठाउँमा छ । सत्तामा गएकाहरु वर्ग रुपान्तरण भई कुलिनतन्त्रमा परिणत भएका छन् । जनतालाई भोट छाप्ने मेशिन मात्र ठानिएको छ । भोटका लागि हरेक पाँच वर्षमा जनताको गुणगान गरिन्छ । त्यसपछि जनताको कुनै मूल्य हुँदैन । यसबाट के स्पष्ट हुन्छ भने बाटो बिराएको हाम्रो लोकतन्त्रले ठूलो विद्रोहलाई आमन्त्रण गर्दैछ ।

नेपालका राजनीतिक दलहरुको आन्तरिक जीवन कस्तो छ त रु केन्द्रदेखि टोलसम्म नेता–कार्यकर्तामा एकअर्काप्रति वैरभाव छ । नेता वा अगुवा भएर आफूले कहाँबाट, कसरी र कति प्रतिफल पाउने भन्ने चिन्ता र ध्याउन्न छ । कुनै संस्थागत गतिविधि छैन । संविधान र विधानले निर्दिष्ट गरेको दायरा भित्र रही पूरा गर्नुपर्ने जिम्मेवारीप्रति पूर्ण उदासिन ठूलो डफ्फा छ, जसको नियन्त्रणमा तीनवटै तहका सरकार छन् । यसमा दलहरुको आलोपालो छ ।

जनतासँग अधिकांश नेता र अधिकारीहरुको भावनात्मक सम्बन्ध छैन । जनतासँग उनीहरुको छट्टु व्यापारी र सोझो ग्राहकको जस्तो सम्बन्ध छ । लोकतन्त्रलाई आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाएका व्यक्तिहरु सबै ठाउँको नेतृत्व तहमा छन् । यसले निकट भविष्यको विकराल संकटलाई संकेत गर्दछ ।

प्राचीन रोममा ग्लाडियटरहरुलाई लडाएर मनोरञ्जन लिने शासकहरुको झल्को नेपाली राजनीतिमा आज भोलि देखिन्छ । यो प्रवृत्ति संस्थागत हुँदैछ ।

दलका कार्यकर्ताहरु संस्थाका लागिभन्दा नेताका लागि काम गर्दछन् । दलको मूल्य, मान्यता र लोकतन्त्रको घोषित उद्देश्य बेवारिस बन्दै गएको छ । दलका युवा सदस्यहरु नेताले राम्रो गरिदेलान् र हाम्रो भविष्य सुध्रेला भन्दै हिँडेका छन् । यो त आफ्नै तारुण्यको उपहास हो । लाछीपनाको प्रदर्शन हो । यस्तो परमुखापेक्षी प्रवृत्तिबाट के हपाइएला र ?

नेताहरु त आफ्नो उद्देश्यमा सफल छन्, लाचार युवा पाएर । आन्दोलनमा रगत बगाउने, परिआउँदा गोली थाप्ने, निर्वाचन जिताउने, मन्त्री–प्रधानमन्त्री बनाउने तर नेताका अगाडि चुँ गर्न नसक्ने आशे युवा पुस्ता पाएको छ देशले । अनि कसरी बन्छ देश र?

३२ वर्ष भएछ यही समूहले मुलुकमा राज गरेको । यो समूहले चर्चा गर्न र दुनियाँलाई देखाउन लायक के काम भयो खै रु अनि समाजमा पुजिएर हिँड्ने आधार के रु

नेपालको राजनीति साँच्चै अप्ठ्यारो मोडमा छ । रोमन शासकका नेपाली संस्करण भन्न ठाडै नमिले पनि नेपालका शासकहरुले दलभित्र युवालाई जिउँदो लास बनाएका छन् । युवाहरुको क्रान्तिकारी चेतना यति भुत्ते भइसक्यो कि आवाज समेत निकाल्न सक्दैनन् ।

नेपालको इतिहासमा यस्तो कहिल्यै भएको थिएन । पार्टी भित्रका लाखौं ग्लेडियटर मध्ये कोही पनि स्पार्टाकश छैन । त्यसैले यतिबेला नेपाली समाज एउटा होनहार ग्लेडिएटरको खोजीमा छ, जो नयाँ युगको चिराग र क्रान्तिकारी स्पार्टाकश बनोस् ।

राष्ट्र निर्माणका निम्ति कुनै साइत हेराउनु पर्दैनथ्यो । जुन दल सत्तासीन भएपनि राम्रो काम गर्न कसैले रोक्दैनथ्यो । २०४६ सालपछि ठूलो युवा जमात पलायनको बाटो रोज्न बाध्य भयो । यसको कारण नेपालको राजनीति नै हो, यसमा पनि मुख्यतः राजनीतिक नेतृत्व नै हो ।

दलहरुको नेतृत्वले राजनीतिलाई दोहन गर्ने माध्यम बनाएपछि यस्तै दुर्दशा हुने हो । सुधारको कुनै गुञ्जायस देखिँदैन । हामी सबैजसोलाई पछिल्लो पुस्ताले सोध्न थालेको छ– ‘नेपालमा हाम्रो पुस्ताको भविष्य खै र?’

यसको जवाफ कसले दिने रु ताज्जुबको कुरा के छ भने राजनीतिमा लागेको युवा पुस्ता देश बिग्रियो भनेर बोल्न सकिरहेको छैन । जबकी, अब त बिग्रियो भनेर अड्डी लिने अनि सुधारको बाटोमा हिँडाउन सक्नु पर्ने हो ।

यस सन्दर्भमा बीपीको एउटा भनाइ बडा सान्दर्भिक छ । ‘मेरो दृष्टिमा युवकहरु’ शीर्षकको आलेखमा उहाँले लेख्नुभएको छ– बुढो मानिस बिग्रियो भने समाजले त्यति धेरै मूल्य चुकाउनु पर्दैन, जति युवा बिग्रँदा ।

आज नेपालको दुःखद यथार्थ के हो भने ‘ए, त्यहाँ बिग्रियो है’ भनेर पटक्कै नबोल्ने युवा पुस्ता छ । यसबाट सुधार र उन्नतिको संकेत मिल्दैन । अब कि अन्तिम प्रयास गरौं नत्र एकस्वरले राम, राम भनौं

(घिमिरे नेपाली कांग्रेसका युवा पुस्ताका नेता हुन् ।)

अनलाईनखबर बाट साभार

Nabintech