८ बैशाख २०८१, शनिबार
‘कैदी साटफेर’ जेलरकै योजनामा


५ असार,काठमाडौँ । आपराधिक लाभ लिएको कसुरमा बाँके जिल्ला अदालतबाट पाँच वर्ष कैद सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहलाई जेल प्रशासनकै मिलेमतोमा भगाइएको छानबिन समितिले ठहर गरेको छ । सहसचिव सूर्यप्रसाद सेढाईंको संयोजकत्वको समितिले गृह मन्त्रालयमा प्रतिवेदन बुझाउँदै बाँके कारागारका निमित्त जेलर दीपेन्द्रप्रसाद पौडेलसहित यस प्रकरणमा संलग्न कर्मचारीमाथि कारबाही गर्न सरकारलाई सुझाव दिएको छ ।

बाँकेबाट सारिएका नेपालगन्जका कैदी सुन्दर हरिजनको रोल्पा कारागारमा गत जेठ ४ मा शंकास्पद मृत्यु भएको थियो । उक्त घटनापछि गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले बाँके कारागारका निमित्त जेलर पौडेलको मिलेमतोमा ०७७ मंसिर ८ मा बाँकेबाट दुई कैदीलाई रोल्पा कारागार स्थानान्तरण गरिएको र शाहलाई अर्कैको नाम उल्लेख गरेर भगाइएको प्रतिवेदनमा उल्लेख गरेको हो ।
यसअघि हरिजनको मृत्यु र बाँके कारागारबाट कैदी स्थानान्तरण प्रकरण छानबिन गर्न कारागार व्यवस्थापन विभागद्वारा गठित निर्देशक झरेन्द्र चापागाईं नेतृत्वको समितिले कारागार प्रशासनको कुनै कमजोरी नरहेको प्रतिवेदन दिएको थियो । गृहकै अर्को समितिले भने निमित्त जेलर पौडेललाई दोषी देखाएको हो । गृहको प्रतिवेदनमा निमित्त जेलर पौडेलले बाँके कारागारको अभिलेखमा शाहलाई हरिजन र हरिजनलाई शाह बनाई दुवैलाई रोल्पा कारागार स्थानान्तरण गरेको उल्लेख छ ।
हरिजनको कैद भुक्तान अवधि डेढ महिना पनि बाँकी थिएन । उनी र शाहलाई बाँकेबाट शंकास्पद रूपमा रोल्पा स्थानान्तरण गरिएको थियो । सामान्यतः कैद भुक्तान गर्न लागेका कैदीलाई कारागार सारिँदैन तर शाहलाई भगाउनकै लागि जेल प्रशासनले कैदीको कसुर नै एकअर्कामा सट्टापट्टा गरेको हो । रोल्पा पु¥याइएपछि हरिजन विजयविक्रम शाह र शाह हरिजनका रूपमा कारागारको अभिलेखमा समेटिए । त्यसपछि हरिजनलाई थुनामा राखेर विजय ०७७ पुस २८ मा छुटेर फरार भएका थिए । हरिजनलाई आफ्नो नाममा कैद भुक्तान गर्न शाहले पैसा खर्च गरेको पनि छानबिनबाट खुलेको छ । त्यसको करिब डेढ वर्षपछि गत जेठ ४ मा रोल्पा कारागारमा शंकास्पद रूपमा मृत भेटिएका हरिजनबारे छानबिन गर्दा मात्रै शाहलाई भगाउन निमित्त जेलर पौडेलकै मिलेमतो रहेको खुलेको हो ।
गृहले रोल्पा घटना र बाँके कारागारबाट दुई कैदीको शंकास्पद स्थानान्तरणसम्बन्धी छानबिन गर्न सेढाईंको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिको प्रतिवेदनमा शाहलाई हरिजनका नाममा राखेर रोल्पा कारागार स्थानान्तरण गर्दा निमित्त जेलर पौडेलसहितका कर्मचारी र कैदीको मिलेमतो देखिएको उल्लेख छ । प्रतिवेदनबारे समिति संयोजक सेढाईंले भने उल्लेख गर्न मानेनन् । उनले भने, ‘हामीले तोकिएको जिम्मेवारीअनुसार प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकेका छौं ।’ स्रोतबाट प्राप्त विवरणअनुसार शाहले आफू छुटेर सट्टामा कैद बस्न हरिजनलाई सहमत गराएको, त्यसबापत हरिजनका परिवारलाई पैसा दिइएको र त्यही योजनाअनुसार बाँके कारागारबाट दुवैलाई रोल्पा सारिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै शाहका नाममा हरिजन जेल बसेको विषय हरिजनका परिवारलाई जानकारी रहेको पनि प्रतिवेदनमा छ । हरिजनका आफन्तले ०७७ पुसपछि उनलाई विजयकै नाममा रोल्पा कारागारमा पैसा पठाएको कारणले पनि हरिजन विजयका नाममा कैद बसिरहेको पुष्टि हुने प्रतिवेदनमा उल्लेख छ । समितिले रोल्पाको आत्महत्या प्रकरणमा प्रहरीबाट अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ ।
०७७ पुस २३ मा हरिजन कारागार मुक्त हुँदै थिए । चोरीको कसुरमा दोषी ठहर भएका उनी रोल्पा स्थानान्तरणको अर्को महिना छुट्दै थिए । तर, शाहले आफ्नो नाममा भएको कैद सजाय भुक्तानका लागि हरिजनलाई राख्न जेल प्रशासन र कारागारको आन्तरिक प्रशासनसँग सेटिङ मिलाए ।
त्यही योजनाअनुसार हरिजन कैदमुक्त हुने दिनमा हरिजनका नामबाट गत पुस २८ मा शाह छुटेका थिए । उनी छुटेपछि अर्को साता नै भारत पुगेका थिए । हरिजन शाहका नाममा कारागारमै रहे । प्रतिवेदनअनुसार हरिजनका परिवारलाई पनि शाहका नाममा हरिजन जेलमा छन् भन्ने थाहा थियो । तर, शाह छुटेको केहीपछि मात्रै हरिजनका परिवारले उनको रिहाइ माग गर्दै उच्च अदालत दाङमा बन्दीप्रत्यक्षीकरणको रिट दिएका थिए । त्यसको डेढ वर्षपछि हरिजन ०७९ जेठ ४ मा रोल्पा कारागारमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि शाहले आफ्नो सट्टामा हरिजनलाई कैदी भाडामा राखेको र अपराधीलाई जेल प्रशासनकै मिलेमतोमा भगाएको तथ्य बाहिरिएको थियो । शव हरिजनको भए पनि अभिलेख विजय शाहको थियो । रोल्पा कारागारले विजयको ठेगानामा सम्पर्क गरी शव बुझाउने प्रयास गर्दा मात्रै कैदीको कसुर साटफेरको रहस्य खुलेको थियो ।
समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा ‘घटनाका मुख्य योजनाकार शाह रोल्पाबाट छुटेपछि भारत गएर पनि अपराधमै संलग्न भएको र हाल लागूऔषध कसुरमा पुर्पक्षका क्रममा जेलमा रहेको उल्लेख छ । उनी उत्तर प्रदेशस्थित बारबन्की जिल्लाको जेलमा छन् । समितिले उनीसँग विभिन्न संयन्त्रमार्फत जेलमा पुगेर सोधपुछ गरेको थियो । शाहले समितिका अधिकारीसँगको सोधपुछमा ‘बाँके कारागारमा रहँदा नै आफू सुन्दर हरिजनका नाममा कैदमुक्त हुने गरी कारागार स्थानान्तरणको योजना बनाएको’ उल्लेख गरेका छन् ।
‘कैदीको अभिलेख हेरफेर र कारागारमा जाँदा कसैले परिचय मागेमा एकअर्काको नाममा परिचय दिएर झुक्याउन सकिने योजना रहेको देखिन्छ,’ कारागार स्थानान्तरण गर्नुको कारण उल्लेख गर्दै समितिले प्रतिवेदनमा भनेको छ, ‘कारागार स्थानान्तरणका व्यवस्थापकीय कमजोरीबारे परिचित शाहले बाँके कारागारमा ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका विदेशी साह नाम गरेका कैदीको सहयोगमा बाँके कारागारमा तत्कालीन निमित्त जेलर दीपेन्द्रप्रसाद पौडेल र सोही कारागारका करारमा कार्यरत सवारी चालक दिनेशकुमार यादवलाई प्रभावमा पारेको देखिन्छ ।’
प्रतिवेदनअनुसार विजय शाहले विदेशी साह, दिनेश यादव र जेलरको योजनाबाट आफू हरिजनका रूपमा कैदमुक्त हुने गरी सेटिङ मिलाएका थिए । त्यसबापत पौडेलले शाहबाट आर्थिक लाभ लिएको हुन सक्ने स्रोत बताउँछ ।
चालक यादव र कैदी साहलाई आफ्नो पक्षमा काम गर्न विजय शाहले पैसा खर्च गरेको देखिन्छ । पछिल्लो पटक हरिजनले रोल्पा कारागारमा आत्महत्या गरेपछि बाँके कारागारका चालक यादव फरार भई भारत पसिसकेको समितिले उल्लेख गरेको छ ।
रोल्पा कारागारमा हरिजन मृतक फेला परेपछि चालक यादव भारत फरार भइसकेको र घटनामा विजय शाह र उनको संलग्नता पुष्टि हुने आधार देखिएको प्रतिवेदनले उल्लेख गरेको हो ।
‘घटनाको अध्ययन, विश्लेषण र सरोकारवाला पक्षसँग सोधपुछ गर्दा विजयविक्रम शाह मुख्य योजनाकार र निजको सहयोगीका रूपमा सवारी चालक दिनेशकुमार यादवलगायत अन्य कर्मचारीहरूसमेत भएको पुष्टि हुन आयो,’ प्रतिवेदनमा भनिएको छ ।

समितिले विजय शाह विगतदेखि नै विभिन्न अपराधमा संलग्न रही जेल सजाय पाइसकेका र सुर्खेत कारागारबाट फरार भएकाले उनी भारतबाट छुटेर आएपछि अन्य अपराधमा अनुसन्धान गरेर कानुनको दायरामा ल्याउन सिफारिस गरेको छ । ‘निजको व्यक्तिगत आचरण एवं आपराधिक चरित्रका बारेमा सरोकारवालासँग बुझ्दा निजलाई भारतीय जेलबाट छुटेपश्चात् विगत र हालको अपराधमा अपनाएका आपराधिक मन तथा आपराधिक प्रवृत्तिका बारेमा गहिरो अनुसन्धान गरी कानुनको दायरामा ल्याउनुपर्ने देखिन्छ ।’
विजय शाहले हरिजनको आत्महत्या जेलमै रहेका कैदीहरूको यातनाका कारण भएको हुन सक्ने उल्लेख गरेका छन् । रोल्पा कारागारबाट आफू हिँडिसकेपछि सम्पर्कविहीन भएको र रोल्पा कारागारमा रहेका तोराबोरा भनी चिनिने खड्गबहादुर खत्री र प्रकाश बूढाले आफ्नो रकम फिर्ता पाउन सुन्दरलाई यातना दिएको र त्यही यातना सहन नसकी आत्महत्या गरेको हुन सक्ने भारतीय जेलमा भएका शाहले बताएका छन् ।
त्यस्तै हरिजन भाडामा कैद बसेको विषय रोल्पा कारागारका केही कैदीलाई जानकारी भएको र, त्यस घटनालाई जोडेर अरू कैदीले हरिजनलाई बारम्बार मानसिक यातना दिने गरेको पनि प्रतिवेदनमा जनाइएको छ । साथै त्यही हीनताबोधका कारण उनी निराश देखिने गरेको र अधिकांश समय एक्लै घोत्लिने गरेको समेत प्रतिवेदनमा उल्लेखमा छ । हरिजनको मृत्युका बेला बत्तीसमेत नभएको र जसबाट सीसीटीभी फुटेजमा समेत हरिजनबारे कुनै रेकर्ड कैद नभएको कारण उनलाई आत्महत्या गर्न बाध्य पारिएको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । घटना योजनाबद्ध रूपमा घटाइएको औंल्याइएको छ । ( मातृका दाहाल,कान्तिपुरबाट

Nabintech