८ बैशाख २०८१, शनिबार
शान्ति प्रकृयापछि हराए ‘जनवादी’ विद्यालय


५ असार, रोल्पा । ‘स्कुलको वन्द कोठाबाट हैन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट मात्रै वास्तविक ज्ञान प्राप्त हुन्छ’ भन्ने मान्यताका साथ तत्कालीन नेकपा माओवादीले सन्चालन गरेका ‘जनवादी’ विद्यालयहरु अहिले एकादेशको कथा बनेका छन् ।

सामन्ती सत्ताले शिक्षालाई हुने खाने वर्गको पेवा वनाएको, धनि र गरिबका छोरा–छोरीले पढ्ने विद्यालय नै फरक–फरक बनाएको भन्दै समान एवम् वैज्ञानिक शिक्षा दिने भन्दै खोलिएका त्यस्ता विद्यालय अहिले इतिहासको पानामा कैद भएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको विशेष संरचनाको रुपमा रहेको केन्द्रीय आधार इलाका भित्र रोल्पा, रुकुम र सल्यानमा एक÷एक वटा जनवादी विद्यालय स्थापना गरिएका थिए ।

केन्द्रीय आधार इलाकामा मात्रै ३ वटा जनवादी विद्यालय र ३१ वटा जनशिक्षालय सन्चालन गरिएका थिए । जनवादी विद्यालयमा कक्षा ४ सम्म र जनशिक्षालयमा कक्षा ३ सम्म पढाइ हुन्थ्यो ।

स्थानीय जनसत्ता मार्फत सन्चालन गरिएका ती जनवादी विद्यालयमध्य एक हो थवाङस्थित शहीद स्मृती जनवादी नमूना विद्यालय । माओवादीले सशस्त्र युद्ध थालनी गरेको दिनको सम्झनामा सो जनवादी विद्यालय २०६१ साल फागुन १ गते स्थापना भएको थियो ।

सरकार र माओवादी बीच भएको वृहत शान्ति सम्झौतासँगै माओवादी सशस्त्र युद्धमा स्थापना भएका सबै संरचना विघटन गर्ने सहमती अनुसार सो विद्यालय समेत छिमेकी विद्यालय बलभद्र मावि थवाङमा समायोजन भएको थियो ।

समायोजन पूर्व कक्षा ४ सम्म सन्चालनमा रहेको उक्त विद्यालयमा ३३ छात्रा र ५४ छात्र सहित ८७ जना विद्यार्थीले अध्ययन गर्दथे । आवासीय रुपमा ५० जना, अजम्मरी जनकम्युनबाट २४ जना र जनस्तरवाट १३ जनाले पढ्ने गरी कोटा निर्धारण गरिएको थियो । विद्यालयमा पार्टी सेल कमिटी, पार्टी शाखा, अखिल क्रान्तिकारी बाल इकाइ, शिशु स्याहार, निर्माण, मेस लगायतका ७ वटा विभाग गठन गरिएको थियो ।

अध्यापनका लागि ५ जना शिक्षकको व्यवस्था गरिएको थियो । विद्यालयमा शहिद परिवारका ३४, जनमुक्ती सेनाका १७, कार्यकर्ताका ३२ र घाइते परिवारका ४ विद्यार्थीले अध्ययन गर्ने व्यवस्था मिलाइएको थियो ।

 

विद्यालयमा भाषा शिक्षा अन्तरगत नेपाली भाषा, मातृ भाषा र अंग्रेजी भाषाको पढाइ हुन्थ्यो । यसैगरी समाज अन्तरगत दर्शन, राजनीति, इतिहास, अर्थशास्त्र, साहित्य र संस्कृती पढाइ हुनुको साथै विज्ञान, स्वास्थ्य र वातावरण, सैन्य विज्ञान र शारिरीक शिक्षाको पढाइ हुने गरेको थियो । यसैगरी अन्य विषयका रुपमा गणित र ललितकला पनि पढाइन्थ्यो । नमुना गाउँका लागि जनशिक्षा र जनसाक्षरता अभियान संचालन गरेको तत्कालीन जनसत्ताको जनशिक्षा विभागबाट पाठ्यक्रम तयार पारिन्थ्यो ।

उक्त विद्यालय हाल थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयमा समायोजन गरिएको बलभद्र मावि थवाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले जानकारी दिए । ‘जनवादी विद्यालय रहेको सो स्थानमा हाल अर्को विद्यालय सन्चालन भइरहेको छ,’ घर्तीमगरले भने । प्रदेश सरकारको सामान्य आर्थिक सहयोगमा भवन मर्मत संभार गरी कक्षा ३ सम्म पठनपान गर्ने गरी अर्को विद्यालय सन्चालन गरिएको घर्तीमगरले जानकारी दिए ।

सो समयमा जनवादी विद्यालयमा रहेका ५ जना शिक्षक मध्ये सबै आ–आफ्नो तरिकाले व्यवस्थापन भए पनि तत्कालीन व्यवस्थापक लालचन्द्र रोकालाई मावि थवाङमा निजी स्रोतबाट शिक्षकको रुपमा व्यवस्थापन गरिएको घर्तीमगरले बताए ।

‘२०५७ साल अघिसम्म ध्वंस प्रधान थियो, २०५७ पछि ध्वंस र निर्माणको द्वन्द्वात्मक पद्धती अनुसार जनवादी विद्यालयको सुरुवात गरिएको हो,’ घर्तीमगरले भने । युद्धकालिन सम्पत्तीको रुपमा उक्त विद्यालयलाई संग्रहालयको रुपमा सुरक्षित गर्नु पर्नेमा राज्यले बेवास्ता गरेको घर्तीमगरको भनाइ छ । ‘महत्वपूर्ण इतिहास बोकेको सो विद्यालयलाई संग्राहलयको रुपमा विकास गर्नुपर्नेमा सरकारको ध्यान पुगेको देखिंदैन,’ घर्तीमगरले भने ।

अनलाईन खबर बाट साभार

Nabintech