१३ बैशाख २०८१, बिहीबार
युनाइटेडको लज्जास्पद हार, सोल्सायर बर्खास्त हुने सम्भावना बढ्यो


काठमाडौं/इङ्लिस प्रिमियर लिगमा शनिबार राति वाटफोर्डसँग ४–१ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरमाथि थप दबाब परेको छ ।

वाटफार्ड भ्रमणमा निस्केको युनाइटेड १० दश खेलाडीमा सीमित भएको थियो । ६९औं मिनेटमा कप्तान ह्यारी म्यागुएरले दोस्रो पहेंलो कार्डको सामना गरेपछि युनाइटेड दश खेलाडीमा सीमित बनेको थियो । त्यसअघि नै भ्रमणकारी युनाइटेड २–१ ले पछि परिसकेको थियो ।

स्माइल सारले ११औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुक्दा वाटफोर्डले अग्रता लिने मौका गुमाएको थियो । सारले अघिल्लोपटक पनि गोल गर्न चुकेका थिए । तर भिडियो साहायक रेफ्रीले उनलाई पुनः पेनाल्टी हान्ने मौका दियो । तर उनी दोस्रो पटक पनि सफल हुन सकेनन् ।

२८औं मिनेटमा जोशुवा किङले गरेको गोलबाट वाटफोर्डले अग्रता लियो । ४४औं मिनेटमा सारले अग्रता दोब्बर बनाए । ५०औं मिनेटमा डोनी मान डी बीकको गोलबाट युनाइटेडले पुनरागमनको प्रयास गरेको थियो । तर ६९औं मिनेटमा म्यागुएरले रातो कार्डको सामना गरेपछि युनाइटेडलाई धक्का लाग्यो । इन्जुरी समयमा वाटफोर्डका जोओ पेड्रो र इमानुयल डेनिसले गोल थप्दै घरेलु समर्थकलाई खुसी बनाएका थिए ।

पराजित युनाइटेड १२ खेलबाट १७ अंक जोड्दै सातौं स्थानमा छ । जुन चौथो स्थानको वेष्ट ह्यामको भन्दा ६ अंकले पछाडी हो भने शीर्ष क्लब चेल्सीभन्दा १२ अंकले पछाडि हो । वाटफार्ड भने १३ अंकका साथ १६औं स्थानमा छ ।

युनाइटेडको यो लगातार दोस्रो हार हो । युनाइटेडले लिगको पछिल्लो सातमध्ये पाँच खेल हारेको छ । एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । युनाइटेडले अब मंगलबार राती च्याम्पियन्स लिगमा भिल्लारियालविरुद्ध खेल्नेछ । समूह ‘एफ’मा रहेको युनाइटेडले सात अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानको भिल्लारियालको पनि सात अंक नै छ । तेस्रो स्थानमा रहेको एटलान्टाको पाँच अंक छ ।

यससँगै युनाइटेडका प्रशिक्षक सोल्सायरमाथि दबाब बढेको छ । बेलायती संञ्चारमाध्यमले सोल्सायर यसै साता बर्खास्त पर्ने सम्भावना रहेको बताएका छन् ।

प्रिमियर लिगको अन्य खेलमा नर्विच सिटीले साउथह्याम्पटनलाई २–१ ले हरायो । न्युक्यासलले ब्रेन्टफोर्डसँग र बर्ननीले क्रिष्टल प्यालेससँग समान ३–३ को बराबरी खेल्दा एष्टन भिल्लाले ब्राइटनलाई २–० ले हरायो ।

Nabintech