१४ बैशाख २०८१, शुक्रबार
आर्सनलमाथि लिभरपुलको सानदार जित


काठमाडौं / इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति आर्सनलमाथि ४–० को सानदार विजय हासिल गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ ।

१० खेलसम्म अपराजित रहेको आसर्नललाई विजयी यात्रालाई निरन्तरता दिँदै लिगमा लिभरपुलभन्दा आगाडि जाने मौका थियो । तर, योर्गान क्लोपको लिभरपुुलले आर्सनललाइ त्यो मौका दिएन ।

अन्तर्राष्ट्रिय खेलका लागि बिदा हुनुअघि लिभरपुलको अपराजित यात्रालाई वेस्ट ह्यामले पूर्णविराम लगाइदिएको थियो । तर, एनफिल्डमा लिभरपुलले त्यो नतिजा दोहोरिन दिएन । पुरानो प्रतिद्वन्द्वी आर्सनलमाथि सानदार विजय हासिल गर्‍यो ।

घरेलु टोली लिभरपुलले सडियो मानेको गोलबाट ३९औँ मिनेटमा अग्रता लिएको थियो । मानेले ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । ५२औँ मिनेटमा डिएगो जोटाले अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा मानेको पासमा मोहम्मद सालाहले तेस्रो गोल थपे । ७७औँ मिनेटमा वैकल्पिक खेलाडी ताकुमी मिनामिनोले अर्को गोल थपेपछि लिभरपुलले सहज जित निकाल्यो ।

योसँगै आर्सनलको चार खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ । त्यस्तै, १० खेलसम्मको अपराजित यात्रा पनि टुंगिएको छ । गएको अगस्टमा म्यानचेस्टर सिटीविरुद्ध ५–० को नतिजापछि आर्सनलले हारेको थिएन ।

जितपछि लिभरपुल १२ खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यो शीर्ष स्थानको चेल्सीभन्दा चार अंकले पछाडि हो भने तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा दुई अंकले माथि हो । एक खेल कम खेलेको सिटीले आज घरेलु मैदानमा एभर्टनविरुद्ध खेल्दै छ । पराजित आर्सनल २० अंकका साथ पाँचौँ स्थानमा छ । त्यो चौथो स्थानको वेस्ट ह्यामभन्दा तीन अंकले पछाडि हो ।

वेस्ट ह्याम गए राति उल्भरह्याम्पटनसँग १–० ले स्तब्ध भएको थियो । घरेलु टोली उल्भरह्याम्पटनका लागि राउल जिमिनेजले ५८औँ मिनेटमा गरेको गोल जितका लागि पर्याप्त भयो । उल्भरह्याम्पटन १९ अंकका साथ छैटौँ स्थानमा छ ।

Nabintech