१६ चैत्र २०८०, शुक्रबार
डिजिटल युगमा युवा नेतृत्वका चुनौतीहरू


जब राजनीतिक प्रणालीमा संकट आउँछ, प्रायजसो नेतृत्वका बारेमा बहस हुने गर्दछ। यो कुरा सफलताको बेला पनि उत्तिकै उठ्ने गर्दछ। नेतृत्वले सफलताको श्रेय र असफताको अपजस दुवै बोक्ने गर्दछ।

मानवजाति निरन्तर अग्रगतिमा यात्रारत विशेष प्राणी हो। स्वभावैले यो यथास्थितिमा रहन सक्दैन। अहिले पनि नेपाली राजनीतिमा युवा नेतृत्वका बारेमा बहस हुने गरेको छ। खासगरी सामाजिक सञ्जालमा हुने छलफलहरूमा युवा नेतृत्वका बारेमा थुप्रै प्रश्नहरू उठ्ने गरेको छ। असक्षम भए, हुतिहारा भए, नयाँ गर्न सकेनन्, पिछलग्गु भए आदि। यो आम राजनीतिमा जस्तै कम्युुनिष्ट राजनीतिमा पनि उत्तिकै चलिरहेको छ। यहाँ युवा नेतृत्वका सवालहरूबारे केही चर्चा गर्नु आवश्यक हुन गएको छ। हामी सक्छौं भन्ने विचार विकास गर्न।

हामी कम्युनिस्ट घोषणापत्रका हरफ हरफ पढेर आफूलाई कम्युनिस्ट ठान्नेहरूले माक्र्स र एंगेल्स पढ्ने नै भयो। मानवजातिले आर्जन गरेको सर्वोच्च ज्ञानले लैस गर्न उद्दत कार्ल मार्क्स र उनका उस्तै उचाइका वैज्ञानिक अनुसन्धानकर्ता साथी फ्रेडरिक एंगेल्सले क्रमशः तीस र अठ्ठाइस वर्षमा लेखेको कालजयी कृति कम्युनिस्ट घोषणपत्रले संसार हल्लाएको सम्झेर आफू बुढो भएको र केही गर्न नसकेको ठान्नु स्वाभाविक हो। जतिबेला मेन्सेविकका विरुद्धको संघर्षमा सफलता प्राप्त गरेर बोल्शेविकको जग हाल्दै थिए, लेनिन जम्मा तेत्तीस वर्षका मात्रै थिए। भूगोलमा संसारको सबैभन्दा ठूलो र जनसंख्यामा तेश्रो ठूलो देशमा क्रान्तिको झण्डा उनैले उचाले। पहिलो समाजवादी देश निर्माण गरे। संसारको सबैभन्दा विशाल जनसंख्या भएको देश चीनको सफल क्रान्तिको अगुवाइ गर्ने कम्युनिस्ट पार्टीको मूल नेतृत्वमा पुग्दा माओ मात्र बयालीस वर्षका थिए।

मात्रै उनञ्चालीस वर्षको छोटो आयु बाँचेर शहीद भएका चे ग्वेभाराको जीवनीले प्रभावित नगरेको सायदै कोही कम्युनिस्ट होला संसारमा। उनले छत्तीस वर्षको उमेरमा संयुक्त राष्टसंघको सभालाई सम्बोधन गर्दै विभेदकारी लुटेरा पूँजीवादको बदला सच्चा समाजवादको पक्षमा वैचारिक झण्डा उचालेर संसारलाई अपील गरेका थिए। ‘चे’ले जहिले पनि हामीलाई अदम्य क्रान्तिकारी साहस र उच्च आशावादले ओतप्रोत जीवन बाँच्न प्रेरित गरिरहे।

जसरी भारतमा गान्धीलाई सरलताको सगरमाथा भनेर चिनिन्छ उसैगरी भियतनाममा होचि मिन्हलाई। अमेरिकाले हारेको महान् युद्धका नायक हुन् उनी। जनताबाट जे अभूतपूर्व विश्वास आर्जन गरे, उनले सबै आफ्नो युवाकालमै गरेका थिए। छत्तीस वर्षको उमेरमै प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको स्थापना गरिसकेका किम इल सुङका बारेमा त हामीहरू जानकार नै छौँ। उनका नाती अठ्तीस वर्षीय किम जोन उनले त विश्व पूँजीवादका लागि एटम बम जत्तिकै काम गरिरहेका छन्, भलै कम्युनिस्ट आन्दोलनमा वंश परम्परा कति सही होला।

भर्खरै दक्षिण कोरियाको विपक्षी दलको प्रमुख नेतृत्वमा छत्तीस वर्षीय युवा निर्वाचित भएको समाचार शेयर गर्नेको कमि नेपालमा पनि छैन। भारतीय स्वतन्त्रता आन्दोलनका एकजना चौबीस वर्षिय नायक भगतसिंहले जीवनकालमा जति चर्चा बटुले, उनको शहादतपछि त्योभन्दा कयौं गुणा बढी। भगतसिंहको फिल्म नहेर्ने को होला रु

हामीसँग यस्तो सूचि लामो छ। उनन्तीस वर्षको उमेरमा संसारको सुखको खोजीमा घर छोडेर हिँडेका बुद्ध होउन् वा तेत्तीस वर्षमा आधा विश्व जितिसकेको सिकन्दर महान्। बत्तीस वर्षका चर्चित इतिहासकार रटर ब्रेगम्यान होउन् वा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने युसुफजाई मलाला वा फेसबुकको साहु मार्क जुकरवर्ग। अष्टेयाका चौतीस वर्षीय चान्सलर, फिनल्याण्डकी पैतीस वर्षीया प्रधानमन्त्री, कतारका अमीर, मंगोलियाका प्रधानमन्त्री, न्यूजिल्याण्डको प्रधानमन्त्री, एल साल्भाडोरको राष्टपति, जर्जियाको प्रधानमन्त्री सबै युवाहरू नै छन्। फ्रान्समा पनि उनञ्चालीस वर्षीय राष्ट्रपति निर्वाचित भएका थिए।

हामी उहिले हेरौं या अहिले अनन्त प्रेरणा पाउँछौँ। कमरेड पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको गठन गर्दा मात्र पच्चीस वर्षका थिए। बिपी कोइराला पैतालीस वर्षमा त देशको प्रधानमन्त्री भइसकेका थिए। केवल बयालीस वर्ष बाँचेका मदन भण्डारीले जे ख्याती आर्जन गरे, युवाकालमै गरे। छत्तीस वर्षमा पार्टीको मूल नेतृत्वमा पुगेका अध्यक्ष प्रचण्डबाट त आजसम्म हामीले प्रेरणा लिइरहेका छौं नै। समकालिन अन्य नेतृत्व पनि युवाकालमै खास योगदान गरेर यहाँसम्म आएको हामीलाई थाहा नै छ।

अर्कोतिर, बेलायतको ९५ वर्षीय महारानी, क्यामरुनका अठासी वर्षीय राष्ट्रपति, लेवनानको सतासी वर्षीय राष्ट्रपति, पचासी वर्षीय प्यालेस्टाइनी राष्ट्रपति, प्रधानमन्त्रीको समेत काम गर्ने साउदी राजा, कुवेतको अमीर, गिनीको राष्ट्रपति सबै असीको उमेर काटिसकेका छन्। चौरानब्बे वर्षीय मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले गत वर्षमात्रै राजीनामा दिए। उमेरको पर्खालले उनीहरूलाई छेकेको छैन।

अब प्रश्न उठ्न सक्छ – उमेर र नेतृत्वका बिचमा समानुपातिक वा व्युत्क्रमाणुपातिक कस्तो सम्बन्ध हुन्छ रु उमेर बढ्दै गयो भने नेतृत्वको प्रभावकारिता बढ्दै जान्छ वा घट्दै रु अनुभवले समृद्ध भएर काम गर्न सजिलो हुन्छ वा उही र उस्तै काम बारम्बार गरिरहँदा थकान, बोझ र दिक्दारी पैदा हुन्छ रु मेरो विश्लेषण छ कि उमेर र कामको प्रभावकारिताको बिचमा समानुपातिक सम्बन्ध छैन। धेरै उमेर बढ्दै जाँदा कामको प्रभावकारिता घट्दै जान्छ। जीव वैज्ञानिक आँखाबाट हेरौँ वा समाज वैज्ञानिक । यसका बारेमा पनि हामी गहन छलफल गर्न सक्छौँ। यदी हामी राम्रोको खोजीमा छौँ भने पूर्वाग्रही किन हुने रु तर, हामीसँग जबर्जस्त दुईवटा समस्याहरू नेतृत्वका बारेमा छलफल हुँदा उठ्ने गरेको छ। युवा नेतृत्वले भन्छ कि अब बुढाहरूको काम छैन। पाको नेतृत्वले भन्छ कि यी त बच्चै छन्। सारतः दुवै पक्षले एकअर्कालाई काम नभएको भन्छन्। हुनुपर्ने हो कि नेतृत्वको योजनाबद्ध विकास। पूरानोको अनुभव र नयाँको सिर्जनशीलता दुवैलाई जोड्ने। रणनैतिक सवालमा पूरानोको भूमिका बढाउने र कार्यकारी भूमिकाहरूमा नयाँ टिमको अभ्यास गर्ने। एकले अर्कालाई निषेध होइन कि पुरकको भूमिका निर्वाह गर्ने। के हामी नेतृत्व प्रणालीमा नयाँखाले अभ्यास गर्न सक्छौँ रु सक्नुपर्छ।

युवा नेतृत्वले आजको दुनियाँमा नेतृत्व विकासको लागि के–के गर्नुपर्ला रु पहिलो काम हो – विचारको विकास, दृष्टिकोणको निर्माण। नेतृत्वले मूलतः नीतिको अगुवाइ गर्ने हो। कस्तो नीति सही नीति हो भन्ने त थाहा हुनुपर्‍यो नि। नेतृत्वले समयको पदचाप बुझ्नुपर्दछ र अगाडि अगाडि हिड्नुपर्दछ। जनता सँगसँगै तर अगाडि। जस्तो अहिले हामी डिजिटल युगमा छौँ। प्रविधिले मान्छेलाई विस्थापित गरिरहेको छ। कामको अन्त्य भइरहेको छ। रोबोटले बिरामीको शल्यक्रिया गर्दछ, घरको नक्शा बनाउँछ, बारीमा खेतीपाती गर्दछ, विद्यार्थीहरूलाई पढाउँछ, कारखानामा जुत्ता उत्पादन गर्छ। डाक्टर, इञ्जिनियर, किसान, शिक्षक र मजदुरलाई विस्थापित गरिरहेको छ। यसप्रति पीठ फर्काएर र ओठ लेब्य्राएर हिड्ने मान्छे मैले देखेको र भेटेको छु। अँ यस्तो त हुँदै गर्छ भन्ने। हुलाक कहाँ गयो आजकाल रु के कसैले आराम छु आराम चाहन्छु भनेर चिट्ठी लेखिरहेको छ रु इमेलले हुलाकलाई सर्लक्कै निलिसक्यो। इमेल उम्दा अवस्थामा छ भने हुलाक मृत्युको दिन गनेर बसिरहेको छ। ट्याक्टरले गोरु, राँगा र घोडाले जोत्ने खेतको हलो, फाली र जुवा उप्काउँदै लगिरहेको छ। तेलमिलले कोल र कुटानी मिलले पानी घट्ट निल्दै गइरहेको छ। कुनै दिन आउनेवाला छ, काँसको बञ्चरो, हाते चर्खा, हुलाक, हलो, कोल र घट्ट एकै ठाउँमा भेटिने वाला छन् अर्थात् संग्रहालयमा। अरु के–के थन्कने छन्, संग्रहालयमा हामीले सूचि बनाएका छौं रु अहिलेसम्म वस्तु मात्रै थन्किएका थिए, अब मान्छेको पेशा पनि थन्कियो भने रु यही हो कामको अन्त्य भनेको। के परिणाम आउला रु अकल्पनीय। जीवाश्मा इन्धनको युग समाप्त हुँदैछ र नवीकरणीय उर्जाको युग शुरु हुँदैछ। उर्जामा हुने क्रान्तिका बारेमा हाम्रोमा खासै बहस भएकै छैन। निःशुल्क उर्जाको परिणाम के होला रु

सात अर्ब नब्बे करोड मान्छेलाई एउटै सञ्जालमा जोड्ने काम गरेको छ इन्टरनेटले। सञ्चार आज लगभग निःशुल्क भएको छ संसारभर। मानवजातिले यस्तो प्रयोग पहिलोपटक गर्दैछ। दुई अर्ब विद्यार्थीहरूको एउटै कक्षा सञ्चालन गर्न सकिने अवस्था छ भर्चुअल माध्यमले। अरबौं किताबहरूको पसल त नेटमा थापिएकै छ। गुगलजस्तो खोजी माध्यमले जे खोज्यो, त्यो क्षणभरमै फेला पारेर चाहिएको नतिजा हामीलाई दिन थालेको धेरै भइसक्यो। युट्युब च्यानलले हामीलाई भिडियोहरू सजिलै र निशुल्क उपलब्ध गराइरहेकै छ। सञ्चारको पाँचौँ पुस्ता, जसलाई फाइभ जी भनेर चिनिन्छ, भूउपग्रहमार्फत् निःशुल्क र तीव्र गतिमा पृथ्वीका सबै मान्छेले प्रयोग गर्दा हुने परिणामको आँकलन हामीले गरेका छैनौँ।

यही दशकमा संसारको प्रत्येक घरमा कम्तिमा एक दर्जन सेन्सरहरूले विभिन्न क्षेत्रमा काम गर्नेछन्। सी चीनफिङले चिनियाँ भाषामा बोल्दा जो बाइडेनले अंग्रजीमा त अहिले पनि सुनिरहेकै छन्। न दोभाषे चाहिन्छ न उल्था गर्ने मान्छे। गुगलमा किताबहरू उल्था सजिलै हुने गरेको छ। चश्मा वा क्यामेराले अनुहारको अध्ययन गरेर कुन देशको नागरिक हो पत्ता लगाउन कठिन भएन। सामाजिक सञ्जाल हाम्रो ठूलो सञ्चारको माध्यम भएको छ। हिमाल, पहाड, समुन्द्रले हाम्रो यात्रा रोक्न सकेको छैन। एक घण्टामा पृथ्वीको फन्को मार्ने अवस्था हुँदैछ कुनै दिन त्यो पनि सजिलै टिकट काटेर यानमा। हेलिकोप्टरलाई विस्थापित गर्ने उड्ने गाडीहरू, जो निर्माणाधीन अवस्थाम छन्। हिजो मोबाइल फोन सम्भ्रान्त वर्गको पेवाजस्तो थियो, आज आम मान्छेको हातहातमा छ, निकट भोलि उड्ने गाडी हामी प्रत्येकको दैलोमा खडा हुनेछ। आजको मोबाइल फोन प्रत्येकको खल्तीमा भएजस्तै गरी।

थ्रीडी प्रिन्टिङ घर निर्माणदेखि मानव शरीरका मष्तिष्कबाहेकका अंगहरू निर्माण गरिरहेको छ। खेतबिनै खाद्यान्न पनि उत्पादनको तयारी गर्दैछ। यसले गर्ने कामको सूचि पनि असीमित छ। मानव बौद्धिकतासँग कृत्रिम बौद्धिकताले जोरी खोजिरहेकै छ। यसको परिणाम पनि अकल्पनीय नै हुनेछ। जेनेटिक इञ्जिनियरिङ चार अर्ब वर्षदेखि चल्दै आएको प्राकृतिक छनौटको तरिकाबाट भइरहेको जीवहरूको विकासमाथि प्रश्न खडा गर्दै आमाबाबुबाट बनेको बच्चा होइन, हामीले चाहेजस्तो बच्चा बनाउन सकिने हुँदैछ। भ्रूण हत्या नगरिकनै छोरा वा छोरी जन्माउन थालेको त धेरै भइसक्यो। शुक्रकिट र डिम्बकोश राख्ने बैंकले त्यो काम सजिलै गरिरहेको छ। बाबुको प्रत्यक्ष सहभागिता बिना पनि आमाले चाहेको बेला बाबुकै डिएनएको बच्चा पाउन कुनै कठिन भएन।

वस्तुहरू र मान्छेहरू इन्टरनेटमा जोडिन थालेका मात्रै होइनन्, डिजिटल वस्तुहरू पनि बनेकै छन्, जस्तो डिजिटल मुद्रा। डिजिटल उपचार पद्धति, डिजिटल पढाइ, डिजिटल व्यापार सबका सब। युवा नेतृत्व आजको दुनियाँका बारेमा कम्तिमा सैद्धान्तिक रुपमै भएपनि जानकार हुनैपर्दछ। ज्ञानमा आएको तीव्र बदलावले दश वर्ष पढेर जिन्दगीभर धान्ने जमाना समाप्त भयो। अब ज्ञानलाई क्षणक्षणमा नवीकरण नगर्ने हो भने विस्थापित हुने सम्भावना प्रबल हुन्छ। नेतृत्वका लागि इच्छा राख्नु एउटा कुरा हो। तर, वास्तविक नेतृत्व गर्नु अर्को कुरा हो। संक्षेपमा, डिजिटल युगको नेतृत्व डिजिटल युगको चेतनाले मात्रै हुन सक्दछ। त्यस्तो नेतृत्व एकल चेतनाले सम्भव छैन। सामूहिक नेतृत्व प्रणाली वस्तुगत आवश्कता बनेको छ र सम्भव पनि।

जंगली युगमा सिकारीको सानो समूहको अगुवाइ गरे पुग्थ्यो। कृषि कार्य विकेन्द्रीत भएकोले नेतृत्व विकेन्द्रीत थियो। औद्योगिक युगमा सयौँ वा हजारौँ मजदुरहरूलाई एकैसाथ नेतृत्व गर्न केन्द्रीकृत प्रणाली आवश्यक थियो। डिजिटल युगमा करोडौँ र अरबौँको संख्यामा तर सामूहिक नेतृत्व प्रणाली आवश्यक र सम्भव भएको छ। दोश्रो कुरा, युवा नेतृत्वले नयाँ प्रयोगबाट डराउनु हुँदैन। तेश्रो कुरा, मानवजातिले थुप्रै असम्भवलाई सम्भवमा बदलेको छ। नेतृत्व गर्न सम्भव छ। छलफल गरौं। अगाडिको बाटो तय गरौँ। भविष्य हाम्रो हातमा छ।

 

Nabintech