१५ चैत्र २०८०, बिहीबार
के–के समेटियो प्रचण्डको प्रतिवेदनमा 

प्रचण्डको सातबुँदे प्रतिवेदन  एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातवटा शीर्षकहरूमा समेटिएको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनको शीर्षक ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ उल्लेख छ ।

‘विषय प्रवेश’को पहिलो बुँदाबाट शुरु गरिएको प्रतिवेदनको दोस्रो बुँदामा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ उल्लेख छ । यसअन्तरगत (क) नम्बरमा ‘अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड’ उल्लेख छ भने (ख) नम्बरमा ‘संक्षिप्त ऐतिहासिक पृष्ठभूमिसहित राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा’ उल्लेख गरिएको छ ।

प्रचण्डद्वारा तयार पारिएको प्रतिवेदनको तेस्रो बुँदामा ‘विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य’ उल्लेख छ भने चौथो बुँदामा ‘पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन’ बारे चर्चा गरिएको छ ।

त्यसैगरी दस्ताबेजको पाँचौं बुँदामा नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिबारे’ उल्लेख गरिएको छ । छैठौं बुँदामा ‘समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु’ बारे चर्चा छ ।

दस्तावेजको अन्तिम अर्थात् सातौं बुँदामा ‘पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा’ शीर्षक दिएर पार्टीले लिनुपर्ने बाटो र कार्यक्रमबारे चर्चा गरिएको छ ।

आठौँ राष्ट्रिय महाधिवेशनमा पेश गर्न अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन आइतबार बिहान बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेका हुन् । दस्ताबेजमा उनले जनयुद्ध र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरु उल्ट्याउन अझै पनि निरंकुश तत्वहरुले टाउको उठाइरहेको विश्लेषण गरेका छन् ।

दस्तावेजमा उनले नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिको पनि चर्चा गरेका छन् । जसमा पुजीँवादले गाँजेको नेपाली समाजबाट अघि बढ्दै समाजवादको लक्ष्य पूरा गर्न सकिने उल्लेख छ ।

अध्यक्ष प्रचण्डले समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु पनि उठाएका छन् । साथै पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा प्रतिवेदनमा समेटेका प्रचण्डले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणमा जोड दिएका छन् ।

रातोपाटीलाई प्राप्त प्रचण्डको सातबुँदे प्रतिवेदनको सारांश यस्तो छ–

आज देशको समग्र राजवनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ । जनताको लामो सशस्त्र एवं शान्तिपूर्ण र दलिदानपूर्ण आन्दोलनबाट उपलब्धीहरुमाथि प्रतिगामी हमला बढेर गएको छ । समानुपातिक र समावेशी चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन निरंकुश तत्वहरुले टाउको उठाइरहेका छन् । विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरुका बीचमा मोर्चाबन्दी बढ्दो छ । देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेका छन् ।

निश्चय नै उपरोक्त प्रकारको प्रतिगामी र निरंकुश प्रवृत्ति र तत्वहरुका विरुद्ध संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरुका बीचमा पनि नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी अगाडि बढ्दैछ ।

नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान र राष्ट्रिय स्वाधीनताका पक्षमा स्पष्ट र दृढ रहेको तथ्य प्रतिगमनविरोधी आन्दोलनमा व्यापक जनसहभागिताले स्पष्ट गरेको पनि छ । वाम लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तात्कालिक र कार्यनीतिक रुपमा देशी विदेशी प्रतिक्रियावादीहरुको प्रतिक्रान्तिकारी षडयन्त्रको योजना असफल भएको हो । तर, रणनैतिकरुपमा प्रतिक्रान्तिकारी षड्यन्त्र गर्ने प्रयत्न भने रोकिएको छैन ।

वस्तुतः यो स्थिति भनेको नेपाली समाजमा विद्यमान वर्ग संघर्षकै राजनैतिक अभिव्यक्ति हो । हिजो जनयुद्ध र जनआन्दोलनबाट पराजित सामन्ती तत्वहरु, दलाल नोकरशाही पुँजीपति र तिनका पृष्ठपोषक राजनीतिक दलहरु एकातिर एवं मजदुर किसान, राष्ट्रिय पुँजीपति वर्गसम्म तथा पहिचान र अधिकारका पक्षधर सम्पूर्ण राजनीतिक शक्ति, जाति समुदायदेखि सम्पूर्ण देशभक्त बुद्धिजीवीसम्म अर्कोतिर ध्रुवीकृत बनेर संघर्ष चलिरहेको तथ्य सजिलै देख्न सकिन्छ ।

यो ऐतिहासिक रुपले अनिवार्य संघर्षमा विजयका लागि अन्ततः वाम लोकतान्त्रिक शक्तिले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो बनाउनु, आफ्ना राजनीतिक मुद्दालाई जनसमुदायमा स्थापित गर्नु, तथा आफ्नो आचरणलाई जनहित अनुकुल बनाउन अझ जोड लगाउन आवश्यक छ ।

यस सन्दर्भमा स्पष्ट हुनुपर्दछ कि महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधानसभा, समावेशी समानुपातिक प्रतिनिधि प्रणालीसहितको धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख बाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ ।

तर, केही वर्षदेखि स्वयं हाम्रो पार्टीमा देखा परेको वैचारिक राजनीतिक अस्पष्टता संगठनात्मक विभाजन एवं गुटवादी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनैतिक र संगठनात्मक कमजोरीसमेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेनौँ । यसको परिणाम दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरुले टाउको उठाउने अवसर पाए, पाइरहेका छन् । यस विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्दै सही विचार र राजनीतिक कार्यदिशाको विकास गर्नुका साथै तदनुकूल संगठनात्मक संरचना एवं कार्यशैलीको विकासमा जोड लगाउन सर्वाधिक ध्यान दिनुपर्दछ ।

आज राष्ट्रिय राजनीतिदेखि कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरुको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव नै हो भन्ने तथ्यलाई आत्मसाथ गर्नुपर्दछ । विचारधारात्मक र राजनीतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई हामीले राष्ट्रिय मात्रै नभएर अन्तरराष्ट्रिय आयामबाट पनि हेर्नुपर्दछ । वित्तीय पुँजीवादका रुपमा व्यक्त भइरहेको भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरु, सुचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादक शक्ति र उत्पादन सम्बन्धको वस्तुवादी आँकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, राजनीतिक सामाजिक विकासको ठोस अवस्थालाई ठोस रुपमा विश्लेषण र संश्लेषण गरेर मात्र विचारको विकास र स्पष्टता हासिल गर्न सकिन्छ ।

वर्तमान अन्तरराष्ट्रिय र राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारत्मक र राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रुपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौती आज हाम्रो अगाडि छ । एक्काइशौं शताब्दीमा विश्वकै पछिल्लो क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ताको हैसियतले जनतामा रहेको कम्युनिस्ट आन्दोलनप्रतिको भरोसाको दृष्टिले तथा विभिन्न शक्तिकेन्द्र राष्ट्रहरुका बीचको अन्तरविरोधको केन्द्रीकरणको विशेष स्थितिसमेतका कारण क्रान्तिकारी विचार र आन्दोलनको विकासको चुनौती हाम्रा अगाडि छन् ।

विगतको निर्मम आत्मसमीक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविश्यको स्पष्ट रुपरेखा खिच्नु छ । हाम्रो यो आठौँ राष्ट्रिय महाधिवेशनले आफ्नो मुख्य ध्यान विचार संश्लेषणको यही ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा दिनेछ । महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनका अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता एवं घाइते योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दै र उहाँहरुका परिवारजनप्रति उच्च सम्मानसहित यो आठौँ राष्ट्रिय महाधिवेशन ती शहीदहरुका सपना पूरा गर्न निरन्तर क्रान्तिमा अगाडि बढ्ने प्रतीज्ञा गर्दछ ।

(प्रचण्डको राजनीतिक प्रतिवेदनबाट)

Nabintech