८ बैशाख २०८१, शनिबार
माओवादी चुनौति र अवसरको दोसाँधमा :प्रचण्ड


दाङ(भालुबाङ)/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी चुनौति र अवसरको दोसाँधमा रहेको बताएका छन् । शनिबार प्रदेश सम्मेलनको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा कमी कमजोरी रहेको भन्दै त्यसलाई सच्चाएर क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको बताएका हुन् ।‘विश्वमा हाम्रोमात्रै पार्टी त्यस्तो ठाउमा छ जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामाना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडलको खोजी गर्नुछ’, प्रचण्डको भनाइ छ । उनले त्यस्तो नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको बताए । उनले एमालेलाई पञ्चर्यालीको संज्ञा दिदै भर्खरै सम्पन्न एमालेको महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्ति पूजाको कुरा गरिएको बताए । उनले नेपाली काँग्रेसको महाधिवेशन पनि हेरिरहेको भन्दै राष्ट्र कस्तो बनाउने भन्नेतिर काँग्रेसमा पनि बहस नभएको बताए ।पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैलाई रुपान्तरण जरुरी रहेको पनि प्रचण्डले बताए । ‘पार्टीभित्र यावत समस्याहरु छन्, गुटबन्दी, अराजकता, पदलोलुपका समस्या भएको सन्दर्भमा यो सवैको चुरो कारण न कार्यकर्ता हो न नेता हो र?’प्रचण्डले भने, ‘यो व्यक्तिगत समस्याका रुपमा बुझ्नु हुदैन । यो वैचारिक स्पष्टताको अभाव हो ।’ उनले विचारमा स्पष्टता नहुँदा गन्तव्य चित्र क्लियर नभहुने भन्दै अध्यारो मात्रै देखिने बताए । ‘अध्यारो देखेपछि कसरी जाँगर आउछ ?’, प्रचण्डको प्रश्न छ । उनले सोही कुरालाई मध्यनजर गरेर आगामी पुसमा हुने सम्मेलनमा नयाँ दस्तावेज ल्याउने बताए ।

Nabintech