२६ बैशाख २०८१, बुधबार
खजुरा गाउँपालिकाका कार्यालय प्रमुख र लेखा अधिकृतमाथी यौन दुर्व्यवहारको आरोप


नेपालगन्ज/खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी यौन दुर्व्यवहारको आरोप लागेको छ । खजुरा गाउँपालिकामा कार्यरत कर्मचारी मिलेर गत शुक्रबार कैलालीको टिकापुर वनभोज खान गएका थिए । त्यस क्रममा आफुलाई प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुर्व्यवहार गरेको गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुदन न्यौपानेले खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारमाथी एक कर्मचारी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएको बताए । ‘पीडित महिलाले पिकनिक गएको बेलामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले आफुमाथी यौन दुर्व्यवहार भएको बताउनु भएको छ,’ उनले भने ‘ईलाका प्रहरी कार्यालय धनौली खजुराले अहिले प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिइसकेको छ, लेखा अधिकृत बाहिर भएकाले उहाँलाई ईप्रकामा हाजिर हुन भनिएको छ ।’

वास्तविक कुरा घटनाको अनुसन्धान सुरु गरेपछि मात्र थाहा हुने न्यौपानेले बताए । उता प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफुमाथी लागेको आरोपमा सत्यता नभएको जिकिर गरेका छन् । ‘हामीमाथी निराधार आरोप लगाइएको हो, यो आरोपमा कत्तिपनि सत्यता छैन,’ उनले भने ।

Nabintech