८ बैशाख २०८१, शनिबार
‘नमूना’ले छात्राहरुलाई साइकल वितरण गरिन


बाँकेस्थित नरैनापुर गाउँपालिकाभित्रका ६ सय जना छात्रालाई साइकल वितरण गरिएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नरैनापुरका ६ सय छात्राहरुलाई बिहीबार साइकल वितरण गरिएको हो ।

एक कार्यक्रमका बीच सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले छात्राहरुलाई साइकल वितरण गरेकी थिइन् ।

छात्राहरुलाई विद्यालय आउन जान सहज होस् भन्ने उद्देश्यले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट साइकल वितरण गरिएको उनले बताइन् ।

‘माथिल्लो कक्षा छात्राहरु टाढाटाढाबाट विद्यालय आउनुपर्छ,’ उनले भनिन्, ‘छात्राहरुलाई सहज होस् भनेर साइकल वितरण गरिएको हो । आगामी दिनहरुमा समेत यहाँको शैक्षिकस्तर माथि उस्कानको लागि अन्य कार्यक्रमहरु अगाडि सारिन्छ ।’

गाउँपालिका तथा प्रदेश सरकारको लामो प्रयासपछि चार वर्षमा नरैनापुरको शैक्षिक स्तर धेरै अगाडि बढेको उनले बताइन् ।

‘चार वर्ष अगाडि फर्केर हेर्ने हो भने नरैनापुरको शैक्षिक स्तर धेरै अगाडि बढिसकेको छ,’ उनले भनिन्, ‘स्थानीय र प्रदेशमा जनप्रतिनिधि आएपछि सहकार्यमा काम गर्दाको यो रिजल्ट हो । अझै पनि हामीले यहाँको शैक्षिकस्तर माथि उकास्न धेरै काम गर्नुपर्ने अवस्था छ ।’

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले नरैनापुर गाउँपालिकाले थालेको अभियानमा लुम्बिनी प्रदेश सरकारले समेत हातेमाले गरेकोमा धन्यवाद दिए ।

नरैनापुर क्षेत्रबाट निर्वाचित प्रदेश सांसदसँग आफूहरुको सहकार्य र समन्वय हुने गरेको बताउँदै उनले शैक्षिक क्षेत्र मात्र नभएर अन्य विकास निर्माणका कामहरुमा समेत सहकार्य र समन्वय भइरहेको उनले बताए । ‘नरैनापुरको शैक्षिकतर अगाडि बढाउन हामी लागिपरेका छौं,’ उनले भने, ‘पहिले खाली हुने विद्यालयका कक्षा कोठाहरु अहिले भरिभराउ रहेका छन् ।’

अहिले कोही बालिबालिकाहरु विद्यालय जानबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले काम गरिरहेको अध्यक्ष शाहले दाबी गरे । ‘गाउँपालिकाभित्रका बालबालिकाहरु अधिकांश शिक्षाको पहुँचमा पुगिसकेका छन्,’ उनले भने, ‘त्यस कुरालाई विद्यालयमा विद्यार्थीहरुको संख्याले समेत पुष्टि गर्दछ ।’

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले गाउँपालिकालाई साक्षार घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । उनले पुस महिनाभित्रै पालिकालाई साक्षार घोषणा गरिने बताए । साइकल वितरणपछि गाउँपालिकाभित्रका छोरीहरुको पढाइप्रति आकर्षण गराउने र उनीहरुले विद्यालय जान केही भए पनि सहज हुने प्रमुख उनले विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ४० लाखको लागतका ६ सयवटा साइकल वितरण गरिएको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ कक्षासम्मका छात्राहरुलाई साइकल प्रदान गरिएको थियो । सोही अवसरमा बोल्ने स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुले छात्रालाई आफूूले पाएको साइकलको सही सदुपयोग गर्न आग्रह गरेका थिए ।

Nabintech